अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा भएका सुकुम्बासीलाई अबको ५ दिन भित्र होल्डिङ सेन्टर छोडेर आफ्नो बासस्थानको व्यवस्था आफै गर्न (स्व-व्यवस्था) का लागि सूचना निकालेको छ।
सुकुम्बासीलाई नेपाल सरकारले पुनर्स्थापना खर्च भनेर २५ हजार एक पटक दिने भनिएको छ।
‘अब उहाँहरूलाई सधैं होल्डिङ सेन्टरमा राखेर भएन, पुनर्स्थापना गर्नु पर्यो समाजमा भनेर पठाउदैछौँ’ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक मच्छेकाजी महर्जनले नेपालखबरसँगको कुराकानीमा भने।
कोठाभाडा भनेर हरेक महिना मासिक १५ हजार दिने र पाँच जना भन्दा बढि परिवार भएकालाई प्रतिपरिवार सदस्य २ हजार थपिदिने महर्जनले बताए।
मासिक कोठा भाडा खर्च ३ महिनासम्म दिने र त्यसपछि भने नेपाल सरकारले गठन गरेको भूमी आयोगले वास्तविक सुकुम्बासीलाई पहिचान गरि भूमी वितरण गर्ने अनुमानका साथ काम भएको उनले बताएका हुन्।
‘यदि ३ महिनाभित्र पनि भूमि आयोगको काम भएन थप समय चाहिने भयो भने नेपाल सरकारले त्यसै अनुसार काम गर्छ’, कार्यकारी निर्देशक मच्छेकाजीले भने, ‘सुकुम्बासी परिवारलाई दिनका लागि यो रकम पनि आइसकेको छ। यो रकम हामी असार मसान्त भन्दा पहिले खर्च गर्नुपर्छ।’
उनले थपे, ‘असार १५ भन्दा अगाडि नै सबै क्रियाकलाप सिध्याउनको लागि हामीलाई पनि सरकारबाट निर्देशन आएको छ।’
सुकुम्बासी परिवारले खाता नम्बर पठाउने बित्तिकै रकम जम्मा गरिदिने उनले बताए।
हालसम्म सबै होल्डिङ सेन्टरमा गरेर ३८८ परिवार छन्।
Shares

प्रतिक्रिया