काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु देखिएको छ भने काठमाडौँ ‘हटस्पट’ बनेको छ।
मंगलबार पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बर्ड फ्लु देखिएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार, गत चैत ४ गते मोरङमा बर्ड फ्लु देखिएको थियो।
त्यसयता देशका ११ जिल्लामा संक्रमण देखिएको छ। हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र कांभ्रेपलाञ्चोकका ८२ स्थानमा बर्ड फ्लु देखिएको विभागका महानिर्देशक डा. दाहालले जानकारी दिए।
विभागका अनुसार, कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा बर्ड फ्लु देखिएको थियो। अहिले बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण आइसकेको विभागले जनाएको छ।
त्यस्तै, काठमाडौँ उपत्यका तीनै जिल्लामा बर्ड फ्लुको संक्रमण देखिएको छ। केही दिनअघि मात्रै ललितपुरको जावलखेलस्थित सदर चिडियाखानामा समेत बर्ड फ्लु देखिएको थियो। अहिले चिडियाखाना बन्द रहेको छ।
विभागका अनुसार, पछिल्लो चार महिनामा बर्ड फ्लु प्रभावित पाँच लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ। त्यससँगै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ केजी दाना पनि नष्ट गरिएको जनाएको छ।
कोसी प्रदेशमा नियन्त्रणमा आएको भए पनि काठमाडौँ ‘हटस्पट’ बनेको छ। काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लु देखा पर्ने क्रम बढेको विभागले जनाएको छ।
बर्ड फ्लुको संक्रमण नियन्त्रणमा गर्नका लागि सहयोग गर्न विभागले सबैलाई आग्रह गरेको छ। विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, अणड राख्ने कागजको पुरानो क्रेट प्रयोगमा नल्याउन, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनुपर्ने भएमा पूर्ण निःसंक्रमण गरेर मात्रै भित्र्याउन भनेको छ।
त्यस्तै, कागलगायतका जंगली पन्छीसँग घरपालुवा पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर पन्छी पालन गर्न पनि आग्रह गरेको छ। यससँगै पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न विभागले सचेत गराएको छ।
बर्ड फ्लुसँगै लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, रानिखेत र इ.कोलाईलगायतका संक्रमण पनि देखिएको छ। यसले पनि पन्छी मर्ने गरेको जनाउँदै विभागले नियमित खोप लगाउन आग्रह गरेको छ।
यससँगै कुनै पनि पन्छी बिरामी भएमा वा मरेमा तुरुन्त नजिकको पशु सेवाका निकायलाई जानकारी गराउन सबैलाई अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया