राजनीति


एमालेले अवरोध गरेपछि राष्ट्रियसभा बैठक फेरि स्थगित

एमालेले अवरोध गरेपछि राष्ट्रियसभा बैठक फेरि स्थगित

फाइल फोटो


नेपालखबर
साउन २२, २०८० सोमबार १४:१५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ।

एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि सोमबार बसेको राष्ट्रियसभा बैठक पनि आगामी साउन २४ गते बुधबारसम्मका लागि स्थगित गरिएको हो।

बैठकको सुरुमै बोल्दै एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म आफ्नो पार्टीले सदन चल्न नदिने अडान राखिन्।

सरकार र सत्तारुढ दलमा आवद्ध नेताहरु आफैं उक्त प्रकरणमा मुछिएकाले सो प्रकरणको छानविन गर्न सरकारी निकायहरु समक्ष नहुने भएकाले आफ्नो पार्टीले निष्पक्ष छानविनका लागि उच्चस्तरीय समितिनै बनाउन माग गर्नु परेको उनले स्पष्टीकरण दिइन्।

सांसद थापाले सत्तारुढ दलहरुकै सरकार भएको बेला सुन तस्करीमा संलग्न दावाछिरिङ शेर्पालाई नेपाली नागरिकता दिने, सुन तस्कर छुटाउनका लागि टेलिफोनमार्फत दबाब दिने माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाहीको दायरामा ल्याउने काम सरकारले गर्न नसक्ने भएकाले उच्चस्तरीय छानबिन चाहिने जिकिर गरिन्। 

सांसद थापाले राष्ट्र, राष्ट्रिय सुरक्षा र मुलुकको छविसँग जोडिएको सो सुन तस्करी प्रकरणको छानविन निष्पक्ष हुनुपर्ने कुरालाई सुनिश्चित गर्न सरकार उच्चस्तरीय छानविन समिति बनाउन सहमत हुनुपर्ने तर्कसमेत गरिन्।

‘आज मुलुकमा सुनकाण्डको घटना चर्चा, परिचर्चामा छ। साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जाँचपास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले सय केजी सुन बरामद गरेको थियो। यो घटनाले नेपालको सुरक्षा उदांगो भएको छ’, उनले भनिन्, ‘अन्तराष्ट्रिय जगतमा नेपालको छवि धुमिल भएको छ। स्वाभिमानी नेपालीहरुको शीर निहुरिएको छ। यस्तो परिस्थितिमा पनि वर्तमान गठबन्धन सरकार संवेदनशील बनेको देखिँदैन। सुनकाण्डको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको मागसहित नेकपा एमालेले सदन अवरुद्ध गरिरहेको छ। यसतर्फ सरकार गम्भीर छैन।’

उनले यसको निष्पक्ष छानविन सरकारबाट सम्भव नभएको बताइन्। ‘त्यसकारण पनि उच्चस्तरीय छानबिनको आवश्यकता छ। इलेक्ट्रिक सिग्रेटमा लुकाएर ल्याएको सुनबारे कृष्णबहादुर महरा र राहुल महरा सुन तस्करीमा जोडिएको प्रमाणसहितको प्रतिवेदन सीआईबीले सरकारी वकीललाई बुझायो’, उनले भनिन्, ‘तर पनि सरकारले अहिलेसम्म छानबिन गर्ने कुनै आँट गर्दैन । विभिन्न व्यक्तिसँग कुरा गरिएका सुन तस्करीसँग संलग्न भएका कल डिटेलले पुष्टि गरिसकेको अवस्था छ। मान्छेलाई ढाँटन सकिएला, प्रविधिलाई ढाँटन सकिदैन भन्ने कुरालाई सरकारले बुझन जरुरी छ।’

उनले प्रमुख प्रतिपक्षले उठाएको यो सवाल राष्ट्रिय सुरक्षासँग, जोडिएको सवाल, हाम्रो अन्तराष्ट्रिय सम्बन्धसँग जोडिएकाले सम्बोधन हुनुपर्ने बताइन्। 

‘आज तस्करीको केन्द्र बनिरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा निकायसँग जोडिएको क्वीन्टलका क्वीन्टल सुन तस्करी भइरहँदा म फेरि पनि अध्यक्षज्यूमार्फत सरकारले उच्चस्तरीय छानबिन समिति नबन्दासम्म यो सदन अवरुद्ध गर्ने कार्य निरन्तर रहने कुरा जानकारी गराउन चाहन्छु’, उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .