राजनीति


नेपाली कांग्रेसको ‘पोलिसी ह्याकथन’ को फाइनल शनिबार

विजेताले पाउनेछन् ३ लाख नगद
नेपाली कांग्रेसको ‘पोलिसी ह्याकथन’ को फाइनल शनिबार

नेपालखबर
भदौ ८, २०८० शुक्रबार २१:५८, काठमाडौँ

नेपाली कांग्रेसले आयोजना गरेको पोलिसी ह्याकथन (नीतिगत प्रतिस्पर्धा) को फाइनल भोलि (शनिबार) हुँदैछ। यो प्रतियोगिताका लागि कांग्रेसले दुईवटा विषय छनोट गरेर अवधारणापत्र आह्वान गरेको थियो। 

‘जिओ इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ मा प्रतिस्पर्धीहरूले आफ्ना नीति पत्र प्रस्तुत गर्दैछन्। सो फाइनल प्रतिस्पर्धाको फेसबुक पेजमार्फत लाइभ देखाइने कांग्रेसले जनाएको छ। 

पार्टी महामन्त्री गगन थापाले शनिबार बिहान १० बजेबाट पार्टीको आधिकारिक फेसबुक पेजमार्फत जोडिन पार्टी पंक्तिलाई भिडिओ सन्देशमार्फत आग्रह समेत गरेका छन्। 

अवधारणा पत्र पठाएकामध्ये २ सय २७ जनामध्येबाट छनोट भएका १० जनाबीचमा फाइनल हुन लागेको महामन्त्री थापाले बताएका छन्।

प्रतियोगीहरुको कुरा सुनेपछि निर्णायकमण्डलको टोलीले अन्तिम ३ जनालाई छनोट गरिने उनले बताए। 

४० वर्षसम्मका नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश तथा विदेशमा बस्ने विद्यार्थीको समूह बनाएर कांग्रेसले पोलिसी ह्याकथनको अवधारणा पत्र सार्वजनिक गरेको थियो। 

युवालाई नीति निर्माणमा जोड्न र नीति निर्माण प्रक्रियाको दायरालाई अझै फराकिलो बनाउन यो कार्यक्रम आयोजना गरिएको कांग्रेसले बताएको छ।

युवाहरुको कुरा सुन्ने योजना बनाएको कांग्रेसले औपचारिक कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने बताइएको छ। 

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो साढे ३ बजेबाट सुरु हुने पुरस्कार वितरणमा पार्टी सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूको उपस्थिति हुने जानकारी गराइएको छ।

उक्त ह्याकथनमा पहिलो हुनेले ३ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

शीर्ष टोलीको नीतिपत्र र विचार कांग्रेसको संसदीय दलभित्र छलफल गर्ने र नीति निर्माणका क्रममा कांग्रेसले ग्रहण गर्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .