अर्थमन्त्री डा प्रकाशशरण महतले काठमाडाैंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताएका छन्।
नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उजले सुरुङ मार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले चीन सरकारसँग सहयोग माग्न लागिएको बताएका हुन्।
‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा माग गरिने सहयोगको कार्यक्रममा सुरुङ मार्ग निर्माणको प्रस्तावलाई अर्थ मन्त्रालयबाट प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘योजना सम्पन्न गर्न करिब रु ५० अर्ब लाग्ने अनुमान छ, यो वर्ष नेपालले रु एक अर्ब बजेट विनियोजन गरेर सुरुवात गरेकाले चीनको सहयोग भित्र्याएर योजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछौँ।’
अहिले प्रारम्भिक अध्ययन पूरा भएर वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको छ। अबको एक–दुई दिनमा नै तयार भएपछि चीन भ्रमणको क्रममा उक्त प्रतिवेदनका आधारमा आर्थिक सहयोगको प्रस्ताव लैजाने अर्थमन्त्री डा महतले बताए।
भारतीय नाकाबन्दीको समयमा मन्त्रिपरिषद्को विशेष निर्णयअन्तर्गत निर्माण थालिएको धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली हुँदै चीनसँगको सीमा रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग निर्माणको काम नेपालको लगानीमा आधाभन्दा बढी सम्पन्न भइसकेको छ।
उक्त सडकमा चीन सरकारले रसुवाको स्याफ्रुबेसीँदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिए पनि काम सुरु गर्न भने बाँकी छ।
Shares

प्रतिक्रिया