नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य महोत्सव’अन्तर्गत आज दोस्रो दिनका कार्यक्रम भइरहेका छन्।
महोत्सवको दोस्रो दिन आज ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको प्रचार विभागका सदस्य इन्द्र रिजालले जानकारी दिए।
बिहान ११ बजेपछि एक घण्टा भारतका प्रख्यात् प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसको सहजीकरण शंकर तिवारीले गर्ने रिजालले बताए।
उनका अनुसार आजै दिउँसो १२ बजेपछि कांग्रेस महामन्त्री गगनकुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरिनेछ।
दिउँसो २ बजेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री परराष्ट्रमन्त्रीद्वय डा. नारायण खड्का तथा प्रदीप ज्ञवाली र कूटनीतिज्ञ इन्द्र अधिकारीले ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयसँग पत्रकार सुधीर शर्माले छलफल चलाउने कार्यक्रम छ।
आजको अन्तिम प्रस्तुतिका रूपमा साहित्यकारहरू बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा विचार विमर्श गर्नेछन् भने यसपछि आयोजना हुने ‘गजल साँझ’मा ३० जना गजलकारले गजल प्रस्तुत गर्नेछन्।
नेपाली साहित्यका शिखर पुरुष महामानव बीपी कोइरालाको ११०औँ जन्मोत्सवका अवसरमा कांग्रेस केन्द्रीय कार्यालय (सानेपा, ललितपुर) मा आइतबारदेखि सञ्चालित साहित्य महोत्सव मंगलबार समापन हुने आयोजकले जनाएको छ। तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श गरिनेछ। साथै डकुमेन्ट्री, कविता, गजल र सांगीतिक प्रस्तुति पनि हुनेछन्।
Shares

प्रतिक्रिया