राजनीति


एमाले महासचिवले बेइजिङमा भने : नेपालको नयाँ नक्सा कार्यान्वयनमा चीनको साथ चाहन्छौँ

एमाले महासचिवले बेइजिङमा भने : नेपालको नयाँ नक्सा कार्यान्वयनमा चीनको साथ चाहन्छौँ

सीपीसी विदेश विभाग प्रमुख लिउ जियनचाओसँग भेटवार्ता गर्दै एमाले महासचिव शंकर पोखरेल


नेपालखबर
भदौ २५, २०८० सोमबार १३:१७, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।

महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भएको भेटवार्तामा द्विपक्षीय हित र सहकार्यका विषयमा कुराकानी भएको छ।

उक्त भेटका क्रममा महासचिव पोखरेलले १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेअनुसार नेपालको नक्सा संसद्बाट पास गरेर औपचारिक रुपमा जारी गरेको बताएका थिए।

उनले त्यही नक्साका कारण नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको कुरा चिनियाँ नेतासँग बताए। 

‘हाामीले जारी गरेको नक्साको सन्दर्भमा हामी त्यहीअनुसार चीनको पनि साथ चाहन्छौँ’, उनले भने, ‘चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौँ। हामी एक चीनको पक्षमा दृढ छौँ। नेपाली भूमिबाट चीनविरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौँ।’

उनले भेटका क्रममा नेकपा (एमाले) ले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पनि बताए।

उनले एमालेले पछिल्लो समय चलाएका अभियानबारे पनि चिनियाँ नेतालाई बताएका छन्। 

‘एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि हामीले मिसन ग्रासरुट अभियानसम्पन्न गरेका छौँ। यो अभियानले पार्टीमा नयाँ सञ्चार र उत्साह प्रदान गरेको छ’, उनले भने, ‘फेरि हामीले मिसन २०८४ अभियान सुरु गरेका छौँ। २०८४ को आमनिर्वाचनमार्फत हामी बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्यसहित क्रियाशिल छौँ।’ 

पोखरेले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका सहमति र सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको पनि बताए। 

के भने चिनियाँ नेताले?
भेटका क्रममा चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाओले एक चीन नीतिमा दृढ रहेकोमा एमाले र महासविच पोखेरेललार्ई धन्यवाद दिए।

एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाईमा लैजान चाहन्छौं ।

उनले भेटका क्रममा चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि रहेको उल्लेख गरे।

‘हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरु र तपार्इंहरुको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौँ’, उनले भने, ‘ती सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ।’

उनले नेपालसँग चीनको सम्बन्ध घनिष्ठ रहेके बताए। ‘नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ। नेपाल चीनको राम्रो मित्रशक्ति हो’, उनले अगाडि भने, ‘राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ।’

भेटका क्रममा उनले दुई पार्टीका उच्चस्तरीय नेताहरुको भ्रमणलाई अझ बढाउनु पर्नेमा जोड दिए।

‘चीन सधैंभरी शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको छ’, उनले भने, ‘भपिष्यमा पनि तपाईंहरुले यसतर्फ चाल्ने पाइलामा सधैँ साथ र सहयोग रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .