नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतफ जानसक्ने खतरा देखिएको बताएका छन्। बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारले सुरुदेखि नै संविधानलाई कीर्ते गर्ने काम गरेको बताए।
‘यो सरकारले संविधानलाई किर्ते गर्ने काम सुरुदेखि नै गरेको छ। नागरिकता विधेयकका नाममा, अघिल्लो संसदले अघिल्लो सभामुखले, अघिल्लो राष्ट्रपतिलाई पठाएको विषयलाई वर्तमान संसदलाई छलेर यो सरकारले वर्तमान राष्ट्रपतिलाई कीर्ते गर्न लगाएको छ। आज मुलुकको हर क्षेत्र तहसनहस भएको छ,’ उनले भने, ‘अर्थतन्त्र डामाडोल भएको छ। साम्प्रदायिक द्वन्द्व एकपछि अर्को बढ्न थाल्यो। धार्मिक युद्धतर्फ मुलुक जानसक्ने खतरातर्फ गइसक्यो। यो खालको चरम बेथिति छ। कमाउ धन्दामा मन्त्रीहरू लागेका छन्।’
उनले सरकार कमाउ धन्दामा लागेको आरोप लगाउँदै उनले सरकारको संलग्नतामा कयौं मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको बताए। उनले सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको पनि बताए।
‘तीन थरी मन्त्री छन् यहाँ, एकथरी घरमा सुतेर बस्ने, बच्चाबच्ची हेरेर आनन्द मानेर बसेका छन्। एकथरी सुतेर बसेका छन्। कसैलाई मतलब नै छैन। एकथरीलाई सामाजिक पहिचानको पद भएको छ मन्त्री। अर्कोथरी सेटिङ गरेर कसरी कमाउने भन्ने धन्दामा छन्,’ उनले भने, ‘अर्कोथरी राजनीतिक स्टन्ट र प्रचारबाजीका छन्। सरकारको संलग्नतामा आज कयौं मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको छ। सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको छ।’
सचेतक बर्तौलाले सत्तासिन दलका कार्यकर्ता छानिछानि सरकार टिकाउनका लागि क्रुरताकासाथ सरकारले मानव अधिकार उल्लंघनका दोषीलाई कैद मिनाह गरेर छुट्याइरहेको पनि बताए।
Shares

प्रतिक्रिया