राजनीति


‘अर्बपति’ दुर्गा प्रसाईं, जो प्रचण्डको आड र ओलीको बलले राजनीतिमा उदाए, अब राजा फर्काउन हिँडे

‘अर्बपति’ दुर्गा प्रसाईं, जो प्रचण्डको आड र ओलीको बलले राजनीतिमा उदाए, अब राजा फर्काउन हिँडे

सागर न्यौपाने
मंसिर ६, २०८० बुधबार १७:३३, काठमाडौँ

झापाको बिर्तामोड नगरपालिका–५ स्थित दुई वटा विशाल भवनमा बीएन्डसी अस्पताल चलिरहेको छ। यो अस्पताल हो दुर्गा प्रसाईंको। अस्पताल र मेडिकल कलेज समेत गरी ८ अर्ब लगानी गरिसकेको उनको भनाइ छ।

उनले चाहेजस्तो हुन्थ्यो भने त्यही अस्पतालमा चिकित्साशास्त्र अध्ययन हुने थियो। अहिलेसम्म कम्तीमा पाँच ब्याच उत्रिसक्थे। 

त्यसका लागि प्रसाईंले गर्न सक्नेजति सबैथोक गरे। ठूला नेताहरुसँग नजिकिए। उनीहरुबीच संवाद गराउने, घरमा ल्याएर भात खुवाउने ‘मिडलम्यान’ भए। धेरैका घरमै पुगेर मेडिकल कलेजको सम्बन्धन दिलाउन याचना गरे। 

त्यतिले नभएर राजनीतिक दलमा आबद्ध भए। नेपाली कांग्रेस, माओवादीसँग नजिक हुँदै प्रसाईं एमालेको केन्द्रीय सदस्य बने।

तर, १२ वर्ष विभिन्न पार्टी, नेतासँग कनेक्सन मिलाउँदा पनि उनले सम्बन्धन पाएनन्। कहीँ कतैबाट पनि बीएन्डसीलाई सम्बन्धन दिलाउन नसकेपछि प्रसाईं यतिबेला व्यवस्थाविरोधी अभियानमा उत्रिएका छन्। उनको निसानामा गणतन्त्र छ र यसलाई मास्ने योजना लिएर सडक प्रदर्शन गर्दैछन्।  

बैंकबाट लिएको झण्डै ६ अर्ब ऋण उनले तिरेका छैनन्। यद्यपि, प्रसाईंको अस्पताल भने चलिरहेको छ। आफूले ऋण तिर्न नसकेपछि उनी अरुलाई पनि ऋण नतिर्न उक्साइरहेका छन्।

मंसिर ७ गते देशभरका मानिस उतारेर काठमाडौंमा अनिश्चितकालीन प्रदर्शन गर्ने तयारीमा छन् प्रसाईं। जसलाई उनले ‘नागरिक बचाउ महाअभियान’ नाम दिएका छन्।

सो कार्यक्रमको लागि ठूलो संख्यामा मानिसलाई काठमाडौं उतार्न प्रसाईंले सबै शक्ति लगाएका छन्। भीड देखाएर सरकारलाई तर्साउने योजनामा रहेका प्रसाईँ त्यही बलमा राजनीतिमा फर्कने दाउमा पनि छन्। 

उनले नेताहरुकै कारण व्यवस्थामाथि उत्रनु परेको नेपालखबरलाई बताए।

‘२०६८ सालदेखि सम्बन्धन दिने सहमति गरेर अत्याधुनिक भवन बनाइसकेपछि मैले विद्यार्थी पढाउन पाइनँ। म जति मरेको मोन्छे को होला?’ प्रसाईंले भने, ‘मलाई सरकारले मार्न खोजेको होइन? यो मेरो व्यथा कसले सुन्छ? मैले नेपालमै नेपालीलाई राख्छु, यहीँ डाक्टर, नर्स पढाउँछु भन्दा किन मलाई नदिएको?’

उनले आफ्नो लागि भन्दा पनि नेपाली जनताका लागि काम गर्न खोज्दा नेताले धोका दिएको बताए।

‘मैले मेरा लागि आन्दोलन गर्नु परेको होइन, गरिब मानिस मर्ने भए, उनीहरुलाई बचाउन हो,’ प्रसाईंले थपे, ‘यहीँ ५ हजारलाई रोजगारी दिन्छु भन्दा किन रोकियो? मैले चलाएको अहिलेको अभियान तुहाउने काम भयो भने झन् नेपालीले दुःख पाउँछन्।’

कुनै समय कांग्रेसमा आबद्ध प्रसाईं, २०५७ सालतिर माओवादी बनेका थिए। तर, मेडिकल कलेजको सम्बन्धन पाउनकै लागि उनी पछिल्लो समय एमाले बने र अध्यक्ष केपी ओलीले त उनलाई केन्द्रीय सदस्य नै बनाइदिए। दुई वर्ष कुर्दा पनि नपाएपछि उनी एमालेविरुद्ध नै खनिएका छन्। अनि विरक्तिएर पछिल्लो दिन व्यवस्था विरोधी धारणा राख्दै राजावादीलाई समर्थन गर्न पुगेका छन्।

प्रसाईंको काठमाडौं केन्द्रित अभियानप्रति सरकार चिन्तित छ। सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालय र मंगलबार ललितपुर प्रशासन कार्यालयले केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। त्यसबाहेक प्रसाईंको कार्यक्रमका लागि प्रहरी, सशस्त्र र सेनालाई उच्च सतर्कतामा राखिएको छ।

प्रसाईंका सबै व्यवसाय चौपट
प्रसाईंका अनुसार उनी झापामै जन्मे। अहिलेको अर्जुनधारा नगरपालिकाको बसपार्क रहेको ठाउँनजिकै बसोबास भएकोले उनको परिवारको आर्थिक अवस्था गुजारा चलाउन सक्ने थियो। खेतीपाती नै जीविकोपार्जनको स्रोत थियो।  

औपचारिक रुपमा ८ कक्षा अध्ययन गरेका प्रसाईंको पारिवारिक साइनो झापामा चिया बगान चलाएर बसेका गिरी परिवारसँग भयो। 

गिरी परिवारको झापामा थुप्रै जग्गा थियो। जनयुद्धरत माओवादी शान्तिप्रक्रियामा आएपछि गणतन्त्र स्थापानसँगै प्रसाईंले ती जग्गा सालो हुँदै आफ्नो नाममा ल्याउन सफल भए। प्रसाईंले राजनीतिक शक्तिका आडमा ती जग्गा हत्याएको आरोप छ। 

‘मलाई ससुरालीको सम्पत्ति/जग्गा कब्जा गरेको आरोप लगाउँछन् तर, मैले निकै दुःख गरेको छु,’ प्रसाईंले दाबी गरे, ‘२०४८ देखि डेढ सय भैँसी पालेको थिएँ। फर्निचर पसल राखेँ, ग्रिल उद्योग, स्टिल दराजको दोकान पनि राखेँ र मोटरसाइकल भाडामा दिने गरेको थिएँ।’

‘मैले धानकटा गरेँ, भैँसीलाई घाँस काटेँ, दूध बेच्ने काम आफैँ गरेँ, सम्पत्ति कमाउन मैलेजति दुःख गरेको कोही छैन,’ उनले थपे।

तर, उनी कुनै व्यवसायमा पनि सफल भएनन्।

भैँसीपालन गरे पनि घाटा लाग्यो। अरु व्यवसायले पनि प्रसाईंलाई नाफा दिएन।

त्यसपछि उनी युरोप गए, भैँसी फार्ममा काम गरे। तर त्यहाँ पनि लामो समय टिक्न सकेनन् फर्किए।

त्यही अनुभवले उनले अहिले बीएन्डसी रहेको जग्गामै व्यावसायिक भैँसीपालन थाले। तर, ऋणबाट सुरु गरेको व्यवसाय फेरि असफल भयो।

माओवादी कनेक्सन
थालेका सबै व्यवसाय डुबेपछि विरक्तिएका प्रसाईंले २०५७ सालपछि भूमिगत माओवादी नेतासँग सम्पर्क बढाए। संकटकाल लाग्नुभन्दा अघि नै उनी माओवादीका केही नेताको विश्वासपात्र बन्न सफल भए।

तर, संकटकालमा सेनाले पक्राउ गरेर उनलाई यातना दियो। बल्लतल्ल प्रसाईं सेनाबाट सकुशल मुक्त भए। त्यसपछि झन् खरो माओवादी बने। 

२०६२/०६३ को  जनआन्दोलन सफल भएर शान्ति प्रक्रिया सुरु भएपछि प्रसाईं शक्तिशाली देखिन थाले। 

झापा हुँदै काठमाडौंमा पनि जग्गा प्लटिङ थाले। एकाएक प्रसाईंको आर्थिक अवस्था चुलिन थाल्यो। माओवादीका केही नेतासँग दैनिक भेटघाटमा व्यस्त देखिए। 

त्यहीबेला उनले भक्तपुरमा आलिसान महल बनाए। उच्च तहका नेता भेट्न त्यही घर प्रयोग गरे। प्रचण्ड–केपी ओलीलाई बोलाएर त्यही घरमा २०७४ फागुन ६ गते मार्सी भात खुवाए।

माओवादी केन्द्रकी नेता धर्मशीला चापागाइँका अनुसार दुर्गा प्रसाईंले पार्टीको नाम भजाएर धेरैपटक व्यक्तिगत स्वार्थमा लगाएको उजुरी परेपछि उनले पार्टी सदस्यता खारेज गरिदिएकी थिइन्।

प्रसाईंकै कारण माओवादीका केही नेताविरुद्ध गिरी परिवारले मुद्दा हाल्यो। त्यो मुद्दा ०७९ सालतिर मात्र टुंगो लागेको थियो।

जग्गामा विवाद परेकै कारण गिरी परिवार (प्रसाईंका ससुरा खलक) अस्ट्रेलिया पलायन भएको थियो। 

‘झापामा पार्टीको नाम लिएर दुर्गा प्रसाईंले ससुरालीको जग्गा हडपेको, कुटपिट गरेर खेदेको, उजुरी पार्टीमा परेको थियो,’ चापागाईंले भनिन्, ‘पछि त्यही जग्गामा अस्पताल बनाउँदा त्यहाँका व्यापारीको रकम पनि तिरेनछन्। सिमेन्ट, रड, बालुवाको करोडौँ रकम तिर्न बाँकी रहेछ।’ 

‘सदस्यता नवीकरण नगरेपछि प्रसाईंले अध्यक्ष प्रचण्डसँग गुनासो गरेछन्, पछि मलाई पो अध्यक्षले गाली गर्नुभयो,’ चापागाईंले थपिन्, ‘कहाँबाट अध्यक्षसँग सिधै सम्पर्क बनाउन भ्याएछन्। तर, म झापाको नेता भएकोले पार्टीभित्र हावी हुन दिइनँ।’

अनि बनाए सुविधासम्पन्न अस्पताल 
विर्तामोडको जग्गा (जुन पहिला ससुरालीको थियो) पछि प्रसाईंले आफ्नै नाममा ल्याएर बीएन्डसी अस्पताल बनाए। प्रसाईंले त्यही जग्गा बैङ्कमा राखेर ऋण लिए। 

प्रसाईंका अनुसार बीएन्डसीले २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पायो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २०७३ साउन ९ गते ३०० शय्याको अस्पताल सञ्चालनको स्वीकृति पायो।

२०७१ मंसिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शय्याको मेडिकल कलेज परियोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भयो। 

तर, चिकित्सा शिक्षा ऐनले प्रसाईंको योजना रोकियो। त्यसको एउटा कारण डा. गोविन्द केसीको चिकित्सा सुधारको अभियान थियो।

सम्बन्धनको लागि निवेदन लिएर बीएन्डसी २०७६ फागुन १ मा चिकित्सा आयोग पुग्यो। तर, २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र काठमाडौं विश्वविद्यालयको सहमति पनि नलिएको कारण देखाउँदै आयोगले सम्बन्धन दिएन।

उनले पदाधिकारीले २० करोड घुस नदिएकोले सम्बन्धन नदिएको आरोप लगाए। अनि प्रसाईं सर्वाेच्च गए।

तर, सर्वाेच्चले तीन महिनाभित्र नवीकरण गर्नुपर्ने आशयपत्र नवीकरण नगरेकोले स्वतः रद्द भएको व्याख्या गरिदियो।

प्रसाईंले बनाएको अस्पताल पूर्वकै सबैभन्दा ठूलो र सुविधासम्पन्न रहेको माओवादी नेतृ धर्मशीला चापागाईंको भनाइ छ।

‘पूर्वको गर्व गर्ने अस्पताल र मेडिकल कलेज सञ्चालनको लागि संरचना बनेको छ, क्यान्सरको उपचार हुन्छ,’ चापागाईँले भनिन्, ‘कलेज चलाउन सम्बन्धन दिँदा हुन्छ, नदिँदा दुःख लागेको छ।’

प्रसाईंले नेकपा बनेसँगै प्रचण्डको साथ छोडे र अध्यक्ष केपी ओलीसँग निकट भए। किनकि ओली प्रधानमन्त्री थिए।

ओलीले गरिदिए राजनीतिमा स्थापित 
पैसाको बलमा केन्द्रीय नेतृत्वसम्म पहुँच राखे पनि प्रसाईंलाई राजनीतिक रुपमा स्थापित गर्ने काम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका हुन्।

कांग्रेस हुँदै माओवादी बन्दासम्म प्रसाईं कुनै ठूलो जिम्मेवारीमा थिएनन्।

एमाले अध्यक्ष केपी ओलीलाई ‘हजुरबा’ सम्बोधन गर्ने प्रसाईं २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा एकैपटक प्रतिनिधि बने। जबकि उनीसँग पार्टी सदस्यता नै थिएन।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनपछि एमालेले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्‍यो। 

सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको केन्द्रीय सदस्य बनेका प्रसाईं एमालेको उद्योग विभागको उपप्रमुख पनि बने।

२०७७ फागुन १६ मा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटनमा ओलीलाई प्रमुख अतिथि बनाए। 

‘बीएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउँछ,’ ओलीले त्यहाँ ठोकुवा गरिदिए।

२०७७ फागुन १२ मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा राखेको काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बीएन्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउन निर्देशन दिए।

काठमाडौं विश्वविद्यालयको विज्ञ टोलीले बीएन्डसीको अनुगमन गरेको भन्दै बीएन्डसीलाई सम्बन्धन दिन र सिट निर्धारण गर्न आयोगलाई पत्र पठायो। मन्त्री श्रेष्ठले चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई बालुवाटार डाकेर बीएन्डसीलाई सम्बन्धन दिलाउन दबाब दिए। 

२०७८ जेठ २८ मा बसेको चिकित्सा शिक्षा आयोग बैठकले सम्बन्धनबारे निर्णय गर्न भने सकेन। 

ओलीले पनि प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिलाएनन्। अनि उनी रुष्ट बने। २०७९ फागुन ७ गते प्रसाईंले एमाले परित्याग गरेको घोषणा गरे।

प्रसाईंलाई ओलीले राजनीतिक तहमा स्थापित गरेकै कारण उनको आत्मविश्वास बढ्दै गएको र व्यवस्था विरोधी अभियानमा लागेको एमालेका नेताहरु बताउँछन्।

प्रसाईंका अनुसार भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा कृषि तथा तरकारी बजार सञ्चालन छ। त्यसका लागि दुई अर्ब लगानी गरेका छन्।

उनले टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर ब्रुअरी कम्पनीको चार अर्ब रुपैयाँको सेयर किने। त्यसैले मार्सी बियर उत्पादन गर्‍यो तर, सो बियर अहिले बजारमा छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .