समाजमा थोरै भए पनि सकारात्मक प्रभाव छोडेर जानु छ। समाज परिवर्तनको सपना देखेर आउनेहरुका लागि फराकिलो बाटो निर्माण गर्ने सपना छ। उनले देखेको परिवर्तनको सपना भौतिक विकासको होइन। उनले देखेको सपना त वैचारिक विकासको हो। देख्दा भयंकर परिवर्तन भएको देखिन्छ। तर, नेपाली समाजको सोच अझै पुरानै देख्छिन् मानकुमारी पाख्रिन नेपाली। यो देखेर यी मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष बेला–बेला आफ्नै सपनाको बाटो सम्झिएर झस्किरहेकी हुन्छिन्।
सानै कुरामा मृत्युको बाटो रोजेका तन्नेरीहरु, देशको भन्दा परदेशको सपना देखेर छोराछोरी पढाउँदै गरेको प्रौढ पुस्ता, किताबका पाठहरुमा भन्दा ज्यादा कुलतमा रमाउँदै गरेका स्कुले बच्चा, अर्कोतिर चाडपर्व पनि मान्न नपाइ देश छोड्दै गरेको युवा पुस्ता। यी सबैको अपजस खेपिरहेका राजनीतिक दल र त्यही दलबाट चेतना फेर्ने सपना बोकेर दौडिरहेकी मानकुमारी।
‘भौतिक विकास पो सुरु गरेकै दिनबाट देखिन्छ। सामाजिक विकास देखिन कम्तीमा १० वर्ष लाग्छ,’ मानकुमारी भन्छिन्, ‘म त्यही लगानी गरेको लामो समयपछि मात्र प्रभाव देखिने विकासका लागि काम गरिरहेकी छु। यो यात्रा सजिलो छैन।’
मानकुमारीले समाज बदल्ने सपना भर्खर मात्र देखेको होइन।
किताब छोडेर युद्धमा होमिएकी मानकुमारी
मकवानपुर जिल्ला, गढी गाउँपालिकाको उपाध्यक्षको कार्यभार सम्हालिरहेकी मानकुमारीको कार्यकक्षमा पुग्दा ¥याकमा मिलेर बसेका किताबले आगन्तुकलाई पहिले स्वागत गर्छन्। मानकुमारीलाई लाग्छ, ‘सामाजिक विकासमा किताबहरुले महत्वपूर्ण भूमिका खेल्छन्।’ मानकुमारीलाई थाहा छ सामाजिक परिवर्तनका लागि मान्छेको आत्मविश्वास पनि ठूलो कुरा हो। उनको गाउँपालिकामा ४६ जना मानिस पूर्ण रुपमा शारीरिक अपाङ्गता भएका व्यक्ति छन्। मानकुमारीले उनीहरुको आत्मविश्वासको जग कयौं पटक धर्ममराएको देखेकी छिन्। उनलाई तिनको आत्मविश्वासको जग बलियो बनाउनु थियो। तर कसरी, उनलाई थाहा थिएन।
एकदिन उनलाई ‘जीवन काँडा कि फूल’को सम्झना आयो। शारीरिक अपाङ्गताका कारण जीवनका कयौं हण्डर खेपेर झमक घिमिरेले त्यसैगरी बाँचिरहेका मान्छेहरुका लागि त्यो किताब लेखिदिएझैँ महसुस भयो। त्यसपछि उनले उक्त किताबको अडियो सुनिन् र उर्जा प्राप्त गरिन्। उनलाई लाग्यो, ‘झन् त्यही जीवन बाँचिरहेका मानिसहरुका लागि यो किताब प्रेरणा बन्न सक्छ। जीवनप्रति निराश भएका उनीहरुमा जीवनप्रतिको मोह र महत्व बढेर जाने छ।’
गाउँपालिकाको अपाङ्गमैत्री बजेटबाट केही बजेट खर्च गरिन्। पूर्णरुपमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई किताब प्रदान गरिन्। उनले किताब दिएका कतिपय त आफैं पढ्न सक्ने अवस्थाका थिएनन्। उनीहरुलाई अरुले नै पढेर सुनाए। पढ्न सक्नेहरु आफैँले पढे।
‘किताब पढेपछि उनीहरुले भने यो किताब त हाम्रो स्याहार गरिरहेका हाम्रा आफ्नाले पनि पढ्नु पर्ने रहेछ,’ मानकुमारी आफूले पाएको प्रतिकृया सुनाउँछिन्।
किताबले चेत बदल्छ, चेतले समाज बदल्छ भन्ने कुरा बुझेकी मानकुमारीको आफ्नै बाल्यकाल भने किताबसँग नजिक थिएन। उनी जन्मिँदा उनका बुबाआमाको आर्थिक अवस्था सामान्य थियो। मानकुमारी घरकी जेठी छोरी, उनीपछि ६ जना भाइ बहिनी जन्मिए। ती सबैलाई हुर्काउने जिम्मेवारी उनको काँधमा पर्यो। मानकुमारीले समयमा स्कुल जान समेत पाइनन्। उनकै उमेरका बच्चाहरुले किताबसँग खेल्दा उनी भाइ–बहिनी फकाउन उनीहरुसँगै खेलिरहेकी हुन्थिन्। आफ्ना साथीले हातमा लिएको किताबको तिर्सना मानकुमारीलाई बाल्यकालबाटै भयो।
‘आफूले पनि त्यही उमेरमा पढ्न पाएको भए मतलब हुँदैनथ्यो होला, पढ्न पनि करले पढिन्थ्यो होला। आफ्नो हातमा नभएकाले किताब के–के न होला भन्ने भएको नि,’ उनले बाल्यकाल सम्झिइन्।
१० वर्षको उमेरमा एक कक्षा भर्ना भएकी उनी पढाइमा भने अब्बल थिइन्। उनी लगातार आठ कक्षासम्म प्रथम भइन्। त्यतिबेला स्कुल तहदेखि नै विद्यार्थीहरु राजनीतिमा सक्रिय हुन्थे। मानकुमारी पनि विद्यार्थी संगठनको सदस्य थिइन्। एकदिन महिला संगठनले हेटौंडाको तत्कालिन सालिक चोक (हाल बुद्धचोक) मा कार्यक्रम गर्ने भयो। मानकुमारी उक्त कार्यक्रम सञ्चालकका रुपमा त्यहाँ पुगिन्। कार्यक्रम सुरु मात्रै भएको थियो, सादा पोसाकमा आएका प्रहरीले गिरफ्तार गर्यो। त्यो समय गिरफ्तार पर्नेमा कुमारी मोक्तान, रिता मोक्तान लगायत पनि थिए। ५ दिन हिरासतमा बसेपछि केही साथीहरु छुटे। मानकुमारीको हातमा भने भीमफेदी कारागार चलान भएको पत्र आयो।
कक्षा ९ मा पढ्दै गरेकी मानकुमारी त्यतिबेला १६ वर्ष पुगिसकेकी थिइन्। तत्कालीन कानुनले १६ वर्ष पुगेपछि जेल चलान गर्थ्यो। भीमफेदी कारागार लैजान भनेर भ्यानमा हालेको प्रहरीले उनलाई महोत्तरी कारागार शाखा पु¥यायो। महोत्तरी जाँदै गर्दा बाटोमा प्रहरीको भ्यान रोकियो। त्यो समय सम्झँदै मानकुमारी भन्छिन्, ‘मुटु फुट्ला जस्तो भयो। मेरो जिन्दगीको अन्तिम दिन यही रहेछ भन्ने भयो। आमा, बुबा, भाइ–बहिनी सबै एकैपटक आँखामा आए। उनीहरुको सुखको कामना गरेर आँखा चिम्म गरेँ। केही केरकारपछि प्रहरी भ्यान अघि बढ्यो। बाँचियो भन्ने लाग्यो।’
महोत्तरी कारागारमा मानकुमारीले झण्डै ४ महिना गुजारिन्। २०५७ भदौ ३० गते महोत्तरी कारागार पुगेकी मानकुमारी मंसिर ४ गते जेल मुक्त भइन्। हेटौंडा आएपछि जिल्ला प्रहरी कार्यालय र सीडीओ कार्यालयमा बसेर आइन्दा यस्ता आन्दोलनमा सरिक नहुने सर्तसहितको कागजमा हस्ताक्षर गरेपछि बल्ल उनले घर जान पाइन्।
आन्दोलन नगर्ने भन्ने कागजमा हस्ताक्षर गरे पनि मानकुमारीको चेतनामा राजनीति पसिसकेको थियो। तर, जेल परेर घरपुग्दा आमाको आँखामा देखिएको आँसु, आँसु झार्न नसकेर बुबाको आँखामा दौडिएको आँधी, भाइ–बहिनीको निधारमा देखिएका त्रासको धर्सा पढेकी उनले राजनीति छोड्ने र पढ्ने अठोट गरिन्। ९ बाट पनि उनी प्रथम भएर १० कक्षामा पुगिन्। देशमा संकटकाल घोषणा भयो। त्यसपछि मानकुमारीको स्कुल यात्रा सहज भएन। विद्यार्थी संगठनको राजनीति गरेकी, १ महिनाको जेल जीवन गुजारेकी मानकुमारी प्रहरी प्रशासनको आँखाको तारो बनिन्। स्कुलमा पनि हरेक दिन नयाँ मान्छे आउने क्रम बढ्न थाल्यो। गाउँ बस्ने र स्कुल पढ्ने वातावरण रहेन। मानकुमारी भूमिगत भइन्।
‘गाउँ बस्न नसकेर जनयुद्धमा होमिएकी हुँ,’ मानकुमारीले लामो सुस्केरा फाल्दै सुनाइन्। त्यसपछि मानकुमारीको किताबसँगको सान्निध्य छुट्यो।
जनयुद्धले सञ्चारकर्मी बनायो
जनयुद्धमा लागेपछि मानकुमारीको नाम ‘आशा’ भयो। जनयुद्धले उनलाई सञ्चारकर्मी बनायो। माओवादीले सञ्चालन गरेको रेडियो गणतन्त्रमा समाचार वाचन तथा कार्यक्रम सञ्चिालिका बनिन्। त्यसबेला मानिसहरु उक्त रेडियोलाई ‘डोके रेडियो’ भन्थे। मनकुमारीहरु झोलामा रेडियो कार्यक्रम उत्पादन, प्रसारणका सामग्री बोकेर हिँड्थे। डोकोमा जेनेरेटर बोकेर रेडियो सञ्चालन गर्न उनीहरु ६÷७ घण्टा हिँड्थे। कहिलेकाहिँ कार्यक्रम प्रसारण गर्दागर्दै गोली चल्थे। रेडियोका सामग्री बोकेर भाग्थे। कयौं पटक मानकुमारी मृत्युको मुखमा पुगिन्। उनका कयौं साथी सहिद भए। कतिका हातखुट्टा भाँचिए। ‘म सन्जोगले सकुसल रहेँ,’ मानकुमारीले पुराना दिनको सम्झना गरिन्।
मकवानपुर र धादिङ जिल्लामा पार्टीले दिएका जिम्मेवारी सम्हाल्दै जाने क्रममा उनको भेट मकवानपुरका रुद्र पाख्रिनसँग भयो। रुद्र मार्फत नै उनका छोरा भीम पाख्रिनसँग उनको चिनजान भयो। उनी पनि जनयुद्धमै थिए। मानकुमारी र भीमको विवाह गराइदिने सपना रुद्रकै थियो। तर यो सपनाका बीचमा जात अगाडि नआएको होइन। मानकुमारी दलितकी छोरी, भीम तामाङका छोरा। तर, जात व्यवस्था पनि तोड्न भनेर हिँडेका उनीहरु पछि हटेनन्। मानकुमारी र भीमले एक हुने निर्णय गरे। तर, उनीहरुको विवाह नहुँदै रुद्र पाख्रिन मारिए।
२०६४ सालमा भीम पाख्रिन र मानकुमारी नेपालीले जनवादी विवाह गरे।
शान्ति सम्झौतामा हस्ताक्षर भयो। मानकुमारीहरुले पनि खुलेर बाँच्न पाए। युद्धविरामपछि उनीहरुको रेडियो स्टेसन काठमाडौंको कीर्तिपुरमा स्थापना गरियो। मानकुमारीले त्यही रेडियोमा ७ महिना काम गरिन्। त्यहीबेला उनी गर्भवती भइन्। मानकुमारीले रेडियो छाडिन्। जुन केही समयपछि बन्द भयो।
मानकुमारी पार्टीमै क्रियाशील रहिन्। विसं २०७४ को प्रदेश र संघीय निर्वाचनमा बागमती प्रदेशबाट दलिततर्फको समानुपातिक उम्मेदवार बनिन्। तर, मत प्रतिशत पुगेन, उनी निर्वाचित हुन् सकिनन्। २०७८ को नेकपा माओवादी केन्द्रको केन्द्रीय अविधेशनबाट केन्द्रीय सदस्य चयन भइन्। गत स्थानीय तह निर्वाचनपछि मानकुमारी मकवानपुर गढी गाउँपालिकाको उपाध्यक्ष चुनिइन्।
मानकुमारीलाई हिजोआज काम गर्ने भिजन भएकी जनप्रतिनिधिका रुपमा हेरिन्छ। उनमा पनि आफ्नो कार्यकालमा केही राम्रो छाप छोड्ने हुटहुटी छ। ‘यो कसैलाई देखाउने हुटहुटी होइन। मलाई मतदान गर्ने मेरा मतदाताको सम्मान र आफ्नो ठाउँप्रतिको मेरो जिम्मेवारी पूरा गर्न पनि सकारात्मक काम गर्नु छ। तर, मतदानमा होमिँदैगर्दा जुन उत्साहका साथ होमिएकी थिएँ, त्यही उत्साहका साथ काम गर्न चाहिँ नसकिँदो रहेछ,’ मानकुमारी केही निराश सुनिन्छिन्।
चुनावको उत्साह निर्वाचित भएर काम गर्न थालेपछि किन मर्दोरहेछ त?
मानकुमारी भन्छिन्, ‘यो निकायबाहिर रहँदा आफ्नो किसिमको धारणा बनाइन्छ। त्यहाँ बनाएको धारणा र निर्वाचित भैसकेपछिका बीचमा केही अन्तर रहेछन्। कयौं कुरा नीति स्पष्ट नहुँदा हामीले देखेको सामाजिक विकासको सपनाका लागि संघर्ष गर्नु पर्दोरहेछ। सरकारी संयन्त्र र स्थानीय जनप्रतिनिधिमै स्थानीय निकायको स्पष्ट धारणा र बुझाइ नहुँदा पनि काम गर्न असजिलो हुनेरहेछ।’
स्थानीय स्तरमा रहेको सीमित स्रोत र बजेटका कारण पनि मानकुमारी आफूले देखेका सामाजिक विकासका सपना एकै कार्यकालमा पूरा हुने सम्भावना देख्दिनन्। त्यसोभए अर्को कार्यकालको तयारी थालिसक्नुभएको हो भन्ने प्रश्नमा उनी लामो हाँसो हाँसिन्।
‘१८ महिनाको अनुभवले ५ वर्षमा देखिनेगरी सामाजिक विकासका काम गर्न चाहिँ गाह्रै रहेछ। भौतिक विकासको कुरा फरक रह्यो। कानुनले उपाध्यक्षको क्षेत्राधिकारमा सामाजिक विकास पारेको छ। जसको प्रभाव देखिन वा प्रतिफल देखिन ८÷१० वर्ष लाग्छ,’ उनी भन्छिन्, ‘फेरि राजनीति गर्ने मान्छेले थप सपना देख्दै जानु पनि पर्छ। उमेर छ। ५ वर्षमा अनुभव पनि पक्कै केही हुन्छ। राजनीति गर्ने मान्छेका लागि त्यो सपना पनि टाढाको कुरा होइन।’
‘चुनाव लड्न छोरीहरुलाई गाह्रो’
मानकुमारी समाजमा छोरीमाथि गरिने विभेद हेर्दै हुर्किएकी हुन्। किशोरावस्थामै जनयुद्धमा होमिएकी उनले पनि धेर–थोर विभेदको हिस्सा बेहेरोकै हुन्। पूर्णकालीन राजनीतिमा लामो समय गुजारेकी मानकुमारीले दलले महिलालाई गर्ने विभेद पनि देखे–भोगेकी छिन्। काम गर्दासम्म वाह! भन्ने राजनीतिक पार्टीले जब महिलालाई नेतृत्व दिने सवाल आउँछ, तब ‘महिला भएर तिमीले गर्न सक्छौँ र?’ भनेर गरेका कयौं प्रश्नको साक्षी मानकुमारी पनि बसेकी छिन्। त्यसैले कयौं सक्षम महिलाले नेतृत्वका लागि हुने निर्वाचनमा टिकट समेत पाउँदैनन्।
मानकुमारीले भने स्थानीय तहको निर्वाचन आउनुअघि नै आफ्नो ठाउँमा ‘उनले गर्न सक्छिन्’ भन्ने सामाजिक छवि बनाएका कारण पार्टीलाई विश्वास गर्न कर लाग्यो। उनले निर्वाचनमा राम्रो मत ल्याइन्। अहिले राम्रो काम गरिरहेकी छिन्। तर, चुनावी बाटो मानकुमारीका लागि त्यति सहज थिएन।
‘राजनैतिक पार्टीले महिलालाई विश्वास नगर्ने, अवसर नदिने कुराले मात्रै महिलाहरु नेतृत्वबाट वञ्चित भएका छैनन्। पछिल्लो समय चुनाव खर्चिलो बन्दै गयो। निर्वाचन आयोगले चुनावी खर्चको मापदण्ड बनाएको त छ। तर, त्यो खर्चले निर्वाचन सम्पन्न हुँदैन भन्ने निर्वाचन आयोगलाई नै थाहा छ,’ उनले भनिन्, ‘एकातिर छोरी मान्छेको कमाउने र बच्चा हुर्काउने समय एकै परिदिन्छ। अर्कोतिर यो राज्य व्यवस्थाले छोरीले सम्पत्तिको हक दिएको छैन। कानुन निर्माणको चरणमा छ। तर कार्यान्वयन हुन सकेको छैन। त्यसैले पनि धेरै छोरीहरु क्षमता भएर पनि हिम्मत गरेर अगाडि आउन सक्दैनन्। मलाई पनि गाह्रो भएको हो।’
Shares
प्रतिक्रिया