राजनीति


एनआरएनएलाई एकताबद्ध बनाउन पुनः निर्वाचनको विकल्प छैन : आरके समूह

एनआरएनएलाई एकताबद्ध बनाउन पुनः निर्वाचनको विकल्प छैन : आरके समूह

आरके शर्मा पक्षले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेको छ


नेपालखबर
मंसिर १२, २०८० मंगलबार १८:३३, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राजेन्द्र कुमार (आरके) शर्मा पक्षले संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको बताएको छ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शर्मा पक्षले पुनः निर्वाचनको माग गरेको हो। अनलाइन माध्यमबाट गराइएको संघको गत निर्वाचनको वास्तविकता बाहिर ल्याउन अन्तर्राष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद रहेको आरके पक्षले बताएको छ।

पत्रकार सम्मेलनमा बोल्दै शर्माले यो लडाईं आफ्नो व्यक्तिगत नभई संस्थागत भएको बताए। आफूलाई झनै पेल्दै जान्छु भन्ने सोच्नु गलत भएको शर्माको कथन छ। पेल्दै गए अन्तिम घडीसम्म पनि न्यायको लागि लड्ने उनले चेतावनी दिए। उनले पुनः निर्वाचनको माग गरेका छन्।

‘यो मेरो व्यक्तिगत लडाईं होइन। संस्थागत लडाईं हो। यदि तपाईंहरूको पनि दायित्त्व छ भने आउनुस् टेबलमा बसौँ। उहाँहरूले आजसम्म न पूर्वअध्यक्ष, न हामीसँग कुरा गर्ने आँट गर्नुभएको छ। झन् बरु उहाँहरू पेल्दै जाने सोचमा हुनुहुन्छ र यसै गरेर जाने हो र अलिदिनमा थाक्छन् जस्तो सोच्नुभएको हो भने त्यो गलत हो,’ शर्माले भने, ‘यो लडाईं पदको लागि होइन। रिइलेक्सन गरौँ। संस्थाको विश्वास फिर्ता ल्याऔँ। यदि रिइलेक्सनमा तपाईंले आरके शर्मा नउठ् भन्नुहुन्छ भने म यहीँ भन्छु, म प्रत्यासी हुदिनँ तर संस्था बचाउनको लागि लाग्छु।’

शर्मा थप्छन्, ‘तर सानो घेरोमा संस्था लगेर पेल्दै जानुभयो भने म मेरो अन्तिम घडीसम्म पनि न्यायको लागि लड्नेछु। यो सबैको साझा चौतारी हो, केही सानो घेरोको एउटामा रहनु हुँदैन।’

गैरआवासीय नेपाली संघ सानो ठाउँमा खुम्चिनु नहुने शर्माको तर्क छ।

आरके शर्मा पक्षले मंगलबार पत्रकार सम्मेलन गर्ने भनेर सूचना जारी गरेपछि निर्वाचनमा विजयी पक्षले संस्थाको लोगो र लेटरहेड अनधिकृत रूपमा प्रयोग नगर्न विज्ञप्तिमार्फत आग्रह थियो।

एनआरएनको निर्वाचन गत महिना (अक्टोबरमा) भएको थियो। यस निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै आरके शर्मा समूहले पुन: निर्वाचनको माग गर्दै समानान्तर गतिविधि गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .