राजनीति


भनाभनमा उत्रिए प्रधानमन्त्री र मेयर, रिस पोखे तर दिएनन् निकास

प्रधानमन्त्रीले चाहे १ घण्टाभित्र समस्या हट्छ: बालेन्द्र, प्रचण्डको जवाफ: म जत्तिको सकारात्मक अर्को प्रधानमन्त्री देख्नुभएको छ?
भनाभनमा उत्रिए प्रधानमन्त्री र मेयर, रिस पोखे तर दिएनन् निकास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह।


नेपालखबर
पुस २, २०८० सोमबार २०:४२, काठमाडौँ

कुनै राजनीतिक दल वा संगठन नभए पनि लोकप्रिय मतका साथ काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित भएका बालेन्द्र (बालेन) शाहको सार्वजनिक प्रस्तुति प्रायः आक्रामक नै छ। उनको सीमाहीन आक्रामकता सामाजिक सञ्जालहरूमा देखिन्छ।

कहिले पुराना दल र तिनका नेताहरूलाई ‘तिमीहरू सकिएपछि मात्र देश बन्छ’ भनेर धारे हात लगाउने त कहिले सिंहदरबारमा आगो लगाउनुपर्छ भन्ने बालेन्द्रले सोमबार एउटै मञ्चमा उभिएर देशका प्रधानमन्त्रीमाथि निशाना दागे।

उनीहरू दुवैजना ललितपुर महानगरपालिकाको स्थापना दिवसमा पुगेका थिए।

प्रधानमन्त्रीले भाषण गर्दै हिँड्ने कार्यक्रमबाट थोरै समय मात्र छुट्याए पनि समस्याको समाधान हुने भन्दै बालेन्द्रले त्यसतर्फ ध्यानै नदिएको गुनासो कार्यक्रममा गरेका थिए। 

बालेन्द्रका गुनासा र आग्रहका प्रमुख ३ विषय थिए–
१. काठमाडौँका खोलानाला अतिक्रमण गरी बनेका बस्ती र संरचना हटाउन संघीय सरकारको सहयोग नपाएको,

२. काठमाडौँको फोहोरमैला व्यवस्थापनमा सरकारले सहयोग नगरेको,
३. तीनकुनेको मुआब्जा विवाद समाधान नगरिदिँदा पार्क निर्माण गर्न नपाएको।

बालेन्द्रको भनाइ थियो, ‘प्रधानमन्त्रीले चाहे सुकुम्बासी समस्या र खोला अतिक्रमण ५ मिनेटदेखि १ घण्टाभित्र हट्छ।’ 

कुनै–कुनै अतिक्रमणचाहिँ स्थानीय सरकार आफैँले रोक्न सक्ने भए पनि खोला अतिक्रमण हटाउन प्रधानमन्त्रीले चाहनुपर्ने उनको भनाइ थियो।

‘सम्माननीयज्यूले चाहनुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ, त्यति समयमा समाधान हुने विषय हो,’ प्रधानमन्त्री प्रचण्डतिर इंगित गर्दै उनले भने।

भिडिओ:

हुन पनि बालेन्द्र महानगरप्रमुख भएर आएपछि बागमती किनारका सुकुमवासी बस्ती हटाएर अपार्टमेन्टमा सार्न खोजे। तर, महानगर प्रहरीको टोली उल्टै रक्ताम्य भएर फर्किनुपर्यो।

संघीय सरकारका सुरक्षा निकाय रमिते बनेर बसे। संघीय सरकारका निकाय र पदाधिकारीहरूले बलजफ्ती हटाउन नहुने भनेर टिप्पणी त गरे तर कसरी हटाउने हो भनेर कार्ययोजना र तत्परता देखाएनन्।

फोहोरमैला व्यवस्थापनमा पनि महानगरपालिकाले स्रोतमै वर्गीकरणदेखि बञ्चरेडाँडामा ल्यान्डफिलसाइटको व्यवस्थापनसम्मका लागि संघीय सरकारसँग गुहार मागेको तर त्यसले सिंहदरबारलाई कत्ति पनि तातो नलागेको बालेन्द्रको गुनासो छ।

त्यसपछि नै उनले ‘सिंहदरबारमा आगो लगाइदिने’सम्मका उत्तेजनापूर्ण टिप्पणी सामाजिक सञ्जालमा लेखे।

यस्तै तीनकुनेमा सरकारले जग्गा अधिग्रहण प्रक्रिया थालेको करिब ५० वर्ष भयो। २०३१ सालमा राजपत्रमा सूचना प्रकाशित गरिएको थियो।

२०५२ सालमा ५३ रोपनी जग्गाको लगत कट्टा गरी सरकार र सडक विभागको नाममा कायम गरियो। उक्त लगतकट्टा अदालतले बदर गरिदियो। २०५९ मा जग्गाको पुनः मूल्यांकन गरी मुआब्जा वितरण गरियो। मुआब्जा लिन नमानेका केही परिवारका हकमा अहिलेसम्म समस्या समाधान भएको छैन।

यी तीनवटै मुद्दामा प्रधानमन्त्री प्रचण्डसँग पनि आफूले के काम गरेको हो भनेर देखाइदिन ठोस कुरा थिएन, छैन। जवाफमा उनले पनि रिस नै पोखे। 

आफू बोलेर हिँडिहाल्ने अनि अरुको कुरै नसुन्ने भन्दै उनले बालेन्द्रको आलोचनाबाट भाषण सुरु गरे। अनि आफूले गरेका कामका नाममा ‘सिंहदरबारमा कतिपटक बैठक बोलाएका थियौँ?’ भन्ने प्रश्नमा गएर जवाफ टुंग्याए। अनि सबैभन्दा सहज र सहयोगी प्रधानमन्त्री पनि आफै रहेको भन्न पनि त्यही क्रममा भ्याए।

प्रधानमन्त्री प्रचण्डको भनाइ थियो–
‘बालेन्द्रजी आफू बोलेर गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुराचाहिँ भनिहाल्ने, अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्नुहुँदैन। बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म।’

आफूले गरिरहेको सकारात्मक प्रयासको मेयर बालेन्द्रले जस नदिएको गुनासो पनि प्रचण्डले पोखे, ‘उहाँले भन्नुभो, यहाँबाट निक्लिनेबित्तिकै हुन्छ? म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने, बालेन्द्रजी! चाहे त्यो बागमतीमा बसेकाहरुलाई हस्तक्षेपको कुरालाई लिएर होस् या तीनकुनेको कुरालाई लिएर होस्, चाहे फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कतिपटक सिंहदरबारमा बैठक भयो? अहिलेको प्रधानमन्त्रीजत्तिको सकारात्मक, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कहीँ कसैले देख्नुभएको छ? तपाईँ त्यसलाई रिकग्नाइज गर्न किन डराउनुहुन्छ?’

प्रचण्ड यतिमै रोकिएनन्।

काठमाडौँ उपत्यकाका हकमा आफूभन्दा बढी बालेन्द्र नै जिम्मेवार रहेको भनेर समेत उनले समस्या उनको थाप्लोमा हाल्न भ्याए।

‘काठमाडौँ महानगरपालिकाको मेयर हुनुको नाताले ललितपुर, भक्तपुर र काठमाडौँभित्रका अरु नगरपालिकालाई समन्वय गर्न तपाईँको बढी जिम्मेवारी छ’, प्रधानमन्त्री प्रचण्डले महानगरप्रमुख शाहलाई लक्षित गरेर भने, ‘मैले तपाईंलाई सहयोग गर्छु भनेर लगातार भनेको कुरालाई रिकग्नाइज गर्न केले रोक्यो?  प्रधानमन्त्रीले बलचाहिँ गरिरहेको छ भन्न केले रोक्यो?’

संघीय राजधानीमा बस्ने देशको शासकीय संरचनामा दुई फरक तहका सरकार प्रमुखको यस जुहारीले देखाउँछ कि स–साना समस्या पनि किन फुकाउनै नसकिने गाँठो परेर बस्छन्? 

एकले अर्कालाई समस्या देखाए। आफूलाई असल र अर्कोलाई खराब घोषणा गरे। निकासका लागि हामी यसो गरौँ भनेर कसैले भनेनन्। बरु सार्वजनिक मञ्चमा तीतो पोखे र ललितपुर महानरपालिकाको स्थापना दिवसलाई नै खल्लो बनाइदिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .