ad ad

ग्लोबल


मोदीबाट जोगिएला त गान्धी परिवार?

गान्धी परिवारको भूत र भविष्य जोडिएको दुई सहरको कथा
मोदीबाट जोगिएला त गान्धी परिवार?

नेपालखबर
जेठ ५, २०८१ शनिबार २०:१८,

चिया पसले इरफान (नाम परिवर्तन) विश्वस्त छन्– बदलाव आउँदैछ।

‘२०१४ मा कांग्रेस हारेपछि रायबरेलीबाट अमेठीसम्मको सडकमा ज्यादा ट्राफिक छैन,’ उनी भन्छन्। 

उत्तर प्रदेशका यी दुई सहर दशकौँसम्म नेहरू–गान्धी परिवारको पर्याय रहँदै आएका छन्। १९४७ मा भारत स्वतन्त्र भएयता यो परिवारले आधाभन्दा लामो समय शासन गरेको छ। तीन पुस्ताका तीन जना प्रधानमन्त्री भइसकेका छन्– जवाहरलाल नेहरू, उनकी छोरी इन्दिरा गान्धी र नाति राजीव गान्धी। 

र, एकअर्काबाट ६२ किलोमिटर टाढा रहेका रायबरेली र अमेठीले गान्धी परिवारलाई जस्तै उतारचढावमा साथ दिँदै आएको छ। उत्तर प्रदेशका यी दुई सिट उनीहरूका लागि सुरक्षित मानिन्थे। 

तर, २०१९ मा यो परम्परामा एउटा जोडदार नाटकीय झट्का लाग्यो। राजीव गान्धीका छोरा राहुल गान्धी अमेठीमा भाजपाकी आक्रामक मन्त्री स्मृति इरानीसँग हार्न पुगे। त्यो पनि ५५ हजार मतको अन्तरले। राहुलकी आमा सोनिया गान्धीले राय बरेली सिट जोगाइन्। उत्तर प्रदेशका ८० मध्ये कांग्रेसले जितेको एक मात्र सिट त्यही थियो। भाजपाले त्यो साल देशभर ५४३ मध्ये ३०३ सिट जित्यो।

पाँच वर्षपछि अहिले भाजपा र विपक्षी कांग्रेस अनि मोदी र गान्धीबीचको राष्ट्रिय लडाइँको सूक्ष्म रुप यी दुई सहरमा देख्न सकिन्छ। यसपटक राहुल गान्धी अमेठीबाट हटेर राय बरेलीमा उठेका छन्। उनकी ७७ वर्षीया आमा राष्ट्रिय सभामा निर्वाचित भएकी छन्। 

अमेठीमा भाजपाकी इरानी चुनाव लड्दैछिन्। यी दुवैले विपक्षी पार्टीबाट कडा प्रतिस्पर्धाका सामना गर्नुपर्नेछ। यी दुवै क्षेत्रमा मे २० का दिन मतदान हुँदैछ।

तर, दाउमा भने दुई सिट मात्र छैन। यदि भाजपाले राय बरेली जित्यो र अमेठीको सिट जोगायो भने उसले गान्धी परिवार कांग्रेसलाई उत्तर प्रदेशबाट बढारिदिनेछ। त्यसविपरीत यी दुवै सिटमा कांग्रेस विजयी भयो भने त्यसले सरकार बनाउन निर्णायक यो राज्यमा भाजपाविरोधी लहर पैदा गर्न सक्छ।

अमेठी र रायबरेली दुवैतर्फबाट नजिक रहेको टिलोइमा बस्ने इरफान राजनीतिक आँधी कांग्रेसको पक्षमा चलिरहेको बताउँछन्। ‘दुवै सहरमा आँधी आउँदैछ, जसको असर सिंगो राज्यमा पर्नेछ।’

तर, आँधी अप्रत्याशित हुन्छ। अमेठी र रायबरेलीलाई यो कुरा थाहा छ।

विपक्षीलाई फाइदा?
कांग्रेसले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडिओमा राहुल र उनकी आमा सोनिया पुराना तस्बिर पल्टाइरहेका देखिन्छन्, जसमा उनीहरूको परिवारले अमेठी र रायबरेली भ्रमण गरेको देख्न सकिन्छ। यसले यी सहरसँग सो परिवारको पुरानो सम्बन्ध देखाउँछ।

यो दशकौँ पुरानो सम्बन्ध हो। राहुलका हजुरबा अर्थात इन्दिराका पति फिरोज गान्धीले १९५२ मा रायबरेली सिट जितेका थिए। त्यो स्वतन्त्र भारतको पहिलो आम चुनाव थियो। त्यसपछि इन्दिरा र सोनियाले पनि यहाँबाट चुनाव जिते। उनीहरूले चुनाव नलड्दा आफ्ना वफादारलाई उठाए।

कांग्रेसले मात्र तीन पटक राय बरेलीमा हार बेहोर्‍यो। १९७७ मा विपक्षीहरूको राष्ट्रिय गठबन्धनले इन्दिराको सरकार ढाल्यो। त्यतिबेला इन्दिराले १९७५ मा लगाएको संकटकालका कारण देशभर कांग्रेसविरोधी आक्रोशको लहर थियो। 

१९९६ र १९९८ मा भाजपा उदाउँदो थियो र पहिलो पटक सत्तामा आएको थियो। उसले त्यसबेला यहाँ कांग्रेसलाई हरायो। तर, दुवै पटक गान्धी परिवारका उम्मेदवार यहाँ थिएनन्।

अमेठीमा इन्दिराका कान्छा छोरा सञ्जय गान्धीले १९७७ को चुनाव हारेका थिए। तर, १९८० मा उनले जिते। त्यसयता २०१९ को झट्काअघि यो सिटमा कांग्रेसले एक पटक १९९८ मा मात्र हार बेहोरेको थियो।

२०१९ मा अमेठीमा हारेपछि राहुल गान्धीले यो पारिवारिक क्षेत्रबाट राहुलले फेरि चुनाव नलड्लान् भन्ने केही विश्लेषकहरूको राय थियो। उनले त्यसबेला केरलाको वायनाडबाट चुनाव जितेका थिए। यसपटक पनि उनी त्यहाँ उठेका छन्।

कांग्रेसका भित्रियाहरूका अनुसार यसपटक राहुल दोस्रो सिटमा नउठ्ने तयारीमा थिए। तर, आमा सोनियाको दबाबका कारण उनी रायबरेलीमा उठेका हुन्। परिवारको गढ छाड्न नहुने सोनियाको राय छ। राहुलकी बहिनी प्रियंका भने यसपटक चुनाव लडेकी छैनन्।

राहुल रायबरेली सरेपछि उनका पारिवारिक मित्र किशोरीलाल शर्मा अमेठीमा इरानीविरुद्ध लड्दैछन्। यसले विपक्षीलाई फाइदा हुने विपक्षी नेताहरू बताउँछन्। उत्तर प्रदेशमा कांग्रेसको सबैभन्दा ठूलो सहयोगी दल समाजवादी पार्टीका प्रवक्ता अमिक जामेइले इन्डिया गठबन्धनले उत्तर प्रदेशका ८० मध्ये २० सिट जित्न सक्ने बताएका थिए।

तर, भन्न सजिलो छ, गर्न मुस्किल। राहुलले भाजपाका दिनेशप्रताप सिंहबाट कडा टक्करको सामना गर्दैछन्। जो २०१९ मा पनि सोनियासँग सानो मतान्तरले पराजित भएका थिए। उनले गान्धी परिवारले आफ्नो वंशलाई गर्ने व्यवहारबारे निकै चर्को आलोचना गर्ने गर्छन्। सो पार्टी र परिवारले राहुलका हजुरबा फिरोज गान्धीको नाम कहिल्यै लिँदैनन्, जसको समाधि राय बरेलबाट १ सय किमिको दूरीमा छ।

‘जो आफ्नै बाजेको त हुन सकेन, ऊ तपाईंको कसरी हुन सक्छ?’ सिंह भन्छन्।

हलचल
स्थानीय स्तरमा राहुल र प्रियंकाले आआफ्नै तरिकाले रायबरेली र अमेठीजस्ता शान्त सहरमा हलचल ल्याइरहेका छन्।

हालै राहुल दाह्री काट्न स्थानीय नाइको पसलमा गए। नाइको पसलमा बसेको उनको भिडिओ भाइरल भयो। प्रियंका दुवै सहरमा रोड शो र कोणसभा गरिरहेकी छन्।

कांग्रेसले यहाँ आफ्नो स्थिति बलियो बनाउन दिग्गज नेताहरूलाई पनि निम्त्याउने गरेको छ। रायबरेलीको सालिमार गेस्ट हाउसमा छत्तीसगढका पूर्वमुख्यमन्त्री भूपेश बघेल समर्थकहरू भेला पारेर बसेका छन्। 

‘राय बरेलीमा राहुललाई ठूलो समर्थन छ। त्यसैले मैले गर्नुपर्ने खासै केही छैन,’ उनी भन्छन्।

अमेठीमा स्मृति इरानीविरुद्धको चुनावी अभियानको नेतृत्व राजस्थानका पूर्वमुख्यमन्त्री अशोक गेहलोतले गरिरहेका छन्। 

कांग्रेस दुई खाले समर्थकमा निर्भर छ। उत्तर प्रदेशको जनसंख्यामा २२ प्रतिशत हिस्सा मुस्लिमको छ। अमेठीका मुस्लिम नेता मुहम्मद आलम मुस्लिमहरूले भाजपालाई मत दिने सोच बनाएका भए पनि मोदीको पछिल्लो आक्रमणपछि उनीहरूले मन बदलेको बताउँछन्। कांग्रेसीहरूले हिन्दुहरूको सम्पत्ति मुस्लिमलाई दिने मोदीले दाबी गरेका थिए।

लखनऊका दलित कार्यकर्ता गौतम राने जात व्यवस्थाको तल्लो श्रेणीमा पर्ने समुदायहरू कंग्रेसको पक्षमा ढल्किन थालेको बताउँछन्। यो समुदायले परम्परागत रुपमा क्षेत्रीय बहुजन समाजवादी पार्टीलाई समर्थन गर्दै आएको थियो। भाजपाले संविधान संशोधन गरेर तिनको आरक्षण खोस्न चाहेको बताएर कांग्रेसले दलितहरूको समर्थन बढाएको छ। जुन आरोपलाई भाजपाले अस्वीकार गरेको छ।

‘यो राहुल गान्धीको चुनाव हो,’ राने भन्छन्, ‘अरु कसैको कुनै अर्थ छैन।’ अल जजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .