ad ad

राजनीति


ओलीको बेवास्तामा परेका भीम रावल एमालेको कार्यक्रममा पुग्दैछन् गाउँ-गाउँ

ओलीको बेवास्तामा परेका भीम रावल एमालेको कार्यक्रममा पुग्दैछन् गाउँ-गाउँ

तस्बिर : नेपालखबर


गोकुल जोशी
पुस ९, २०८० सोमबार १४:५, कञ्चनपुर

नेकपा एमालेका नेता डा. भीम रावल गृहजिल्ला अछाममा पार्टीको कार्यक्रममा सक्रिय भएका छन्। 

एमालेको महाकाली–मेची पदयात्रामा सहभागी नभएका रावल अभियानलाई छिचोल्दै अछामका गाउँबस्ती पसेका छन्। 

एमालेमा सक्रिय रहेको सन्देश दिने उद्देश्यले उनले अछामका गाउँ गाउँमा पुगेर आमसभा र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका हुन।

मंसिर १४ गते बैतडीको झुलाघाटदेखि एमालेले मध्यपहाडी लोकमार्ग पदयात्रा अभियान सुरु गरेको थियो। आफ्नै गृहप्रदेशबाट एमालेले अभियान सुरु गर्दा पनि रावल निमन्त्रणा नगरिएको भन्दै सहभागी भएनन्।

मंसिर १६ गते पदयात्राको नेतृत्व गरेर अध्यक्ष केपी शर्मा ओलीको टोली रावलकै गृहजिल्ला अछाम पुगेको थियो। त्यसबेला पनि रावल अभियान नदेखिएर संघीय राजधानी काठमाडौँमै थिए। 

अछामबाट पदायात्रा कर्णाली प्रदेशतर्फ लागेपछि मंसिर १८ गते रावल गृहजिल्ला अछाम पुगेका थिए। एमालेमा निष्क्रिय रहेको आरोप खेपिरहेका उनै रावल अहिले एमालेकै ब्यानर र झण्डामुनि सक्रिय देखिएका छन्। 

एमालेको कार्यक्रममा प्रायः कमै देखिने रावलले अछाममा आमसभा र कार्यकर्ता भेटघाटलाई बाक्लो बनाउँदै पार्टीमा सक्रिय रहेको सन्देश दिन खोजिरहेका छन्। 

रावल आफैँले अछाममा पार्टीको गतिविधिमा सहभागी भएका तस्बिर साझा गरेका छन्। ठाउँ–ठाउँमा कार्यकर्ताले उनको विशेष स्वागत गरिरहेका छन्। 

रावल गृहजिल्लामा कार्यकर्ता भेटघाटका साथै विभिन्न ठाउँमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगिरहेका छन्।

‘गाउँ गाउँमा आयोजित आमसभा सम्बोधन तथा कार्यकर्ता भेटघाट गरिरहनुभएको छ। ठाउँ ठाउँबाट कार्यकर्ता बोलाइरहेका छन्,’ रावलनिकट अछामका एक नेता भन्छन्, ‘पार्टीमा सक्रिय नरहेको भाष्य निर्माण गर्न खोजिँदैछ। त्यसलाई चिर्न पनि पार्टीका गतिविधि केन्द्रित हुनुभएको हो।’

जिल्ला अधिवेशन पनि नजिकिँदै गएकाले नेताहरुको आग्रहमा रावल अछामकेन्द्रित बनेको उनी निकट नेताहरुको भनाइ छ। रावल पुसभर अछाममै रहने छन्।

एमाले अछामको अधिवेशन फागुनमा हुँदैछ। रावल आइतबार साँफेबगर–१० मा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

यस्तै, पुस ११ गते चौरपाटी गाउँपालिका कमिटीले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

आमसभाका अलावा रावल पार्टी कार्यालय उद्घाटन, विकास निर्माणको अवलोकन लगायतमा व्यस्त छन्। अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेपछि रावल एमालेमा चेपुवामा परेका छन्।

उनी अहिले एमालेमा जिम्मेवारीविहीन छन्। विगतमा सुदूरपश्चिममा एमालेभित्र बलियो पकड रहेको मानिएका रावलको अहिले शक्ति खिँइदै गएको विश्लेषण भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .