राजनीति


एमाले दैलेखको अध्यक्षका लागि दर्जन नेता दौडमा

एमाले दैलेखको अध्यक्षका लागि दर्जन नेता दौडमा

तस्बिर : दिनेश बुढा


दिनेश बुढा
माघ २७, २०८० शनिबार १२:१, सु्र्खेत

नेकपा एमाले जिल्ला कमिटी दैलेखको आठौँ जिल्ला अधिवेशन शनिबारदेखि हुँदैछ। एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने जिल्ला अधिवेशनका लागि तयारी पूरा भएको छ। 

शनिबारदेखि तीन दिन चल्ने अधिवेशनबाट नयाँ नेतृत्वमा पुग्न दर्जन बढी नेताहरुले आकांक्षी देखिएका छन्। जसमा कार्यावहाक अध्यक्षदेखि कर्णाली प्रदेश कमिटी सदस्यसमेत छन्।

अध्यक्षको आकांक्षा देखाएका नेताहरू लामो समयदेखि पार्टीको साङ्गठनिक, वैचारिक रूपमा परिपक्व मानिएका नेताका रूपमा परिचित छन्।

करिब १० नेताहरुले अध्यक्ष पदका लागि केन्द्रका नेताहरूसँग तीव्र लबिङ्ग गरिरहँदा पार्टी निर्माण लागयतका विषयमा एजेन्डा कसैले पनि प्रस्तुत गरेका छैनन्। 

अध्यक्षका लागि प्रेमबहादुर बुढा, सूर्यबहादुर शाही, रत्नबहादुर खड्का, प्रेमबहादुर थापा, सुशीलकुमार थापा, सूर्यबहादुर शाही, धीरबहादुर शाही, नन्दकिशोर बस्नेत, तिलकप्रसाद रिजाल र गणेश रेग्मीले चासो दिएको नेताहरू बताउँछन्। 

तर, यी नेताहरू भित्र–भित्रै आफूलाई अध्यक्ष पदको उम्मेदवार भनिरहँदा उम्मेदवारी घोषणा गर्ने आट कसैले राखेका छैनन्। 

यस्तै, उपाध्यक्ष तथा कार्याबाहक पार्टी अध्यक्षमा प्रेमबहादुर बुढा अध्यक्ष पदका प्रमुख दाबेदार देखिएका छन्। 

निवर्तमान पार्टी उपाध्यक्ष बुढा राजनीति हिसाबले परिपक्व नेता मानिन्छन्। २०७४ को स्थानीय तह निर्वाचनमा भैरवी गाउँपालिकाको अध्यक्ष भइसकेका उनीसँग लामो राजनीतिक अनुभव छ।

अध्यक्ष पदका अर्का दाबेदार हुन सूर्यबहादुर शाही यसअघि सातौँ जिल्ला अधिवेशनमा उनी अध्यक्षमा पराजित भएका थिए। 

जिल्ला विकास समितिको उपसभापति हुँदै यसअघि भूमि समस्या समाधान आयोग दैलेखको अध्यक्ष भइसकेका शाहीसँग राजनीतिको लामो अनुभव छ।

एमाले दैलेखको अध्यक्षका लागि पूर्व कर्णाली प्रदेश सभा सदस्य सुशीलकुमार थापा समेत बलिया दाबेदार मानिन्छन्। जनता माझ राम्रो छवि बनाएका थापा सङ्गठन निर्माणमा परिपक्व नेता हुन्। 

यसैगरी, नेता धीरबहादुर शाहीसमेत पार्टी अध्यक्षका आकांक्षी हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा ठाँटिकाँध गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका उनी एमाले दैलेखका पुराना नेता हुन्। 

यस्तै, जिल्ला अध्यक्षका लागि नेता रत्नबहादुर खड्का समेत चुनावी मैदानमा उभिने तयारीमा छन् । उनीसँग पनि लामो राजनीति अनुभव छ। उनी २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नारायण नगरपालिकाको नगर प्रमुख निर्वाचित भएका थिए।

दैलेखको निवर्तमान पार्टी सचिवसमेत तिलक रिजाल अध्यक्षको दाबेदारका रूपमा देखिएका छन्। पार्टीमा राम्रो पकड रहेको मानिने रिजाल यसअघि सम्पन्न प्रदेशसभा निर्वाचनमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा पराजित भएका थिए।

यसैबीच एमाले दैलेखको अध्यक्षमा जिल्ला समन्वय समिति दैलेखका पूर्व समन्वय प्रमुख प्रेमबहादुर थापासमेत आकांक्षी देखिएका छन्। पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट एक कार्यकाल उपाध्यक्षका बनिसकेका उनी एमालेका पुराना नेता हुन्।

पार्टीको छैटौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित चामुण्डाविन्द्रासैनी नगरपालिकाका पूर्वनगर प्रमुख सूर्यबहादुर शाही समेत यसपालि अध्यक्ष पदका आकांक्षी छन्। 
उनी एमालेमा प्रभावशाली नेताका रूपमा परिचित छन्।

यस्तै, एमालेका नेतानन्द किशोर बस्नेतको पनि अध्यक्षका लागि चर्चा आएका छन्। बस्नेत लामो कार्यकाल औद्योगिक विकास लिमिटेडका जिएम समेत भएर काम गरिसकेका छन्। एमाले दैलेखका जनसङ्गठन विभाग प्रमुख गणेश रेग्मीको पनि चर्चा भएको छ।

दैलेखमा एमाले अध्यक्ष पदका लागि आकाङ्क्षीहरु धेरै भएका कारण सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना निकै कम देखिने नेताहरु बताउँछन्। 

सर्वसम्म रुपमा नेतृत्व चयनका लागि केन्द्रीय स्तरका नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन्। तर, कर्णाली प्रदेशको गत असोज १०–१५ गतेसम्म भएको पहिलो अधिवेशनको जस्तै बाछिँटा जिल्ला अधिवशेनमा समेत पर्ने देखिन्छ। 

प्रदेश अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोही टिम खडा भएर प्रदेश अधिवेशन जितेको थियो। त्यही टिमले दैलेखमा पनि ओलीको कुरा नसुनी उत्रिने संकेत गरेको छ। 

अधिवेशनका लागि ११ वटा स्थानीय तह रहेका दैलेखमा पाँच सय बढी प्रतिनिधिहरु छनौट भएर आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad