ad ad

राजनीति


टसमस भएनन् गगन, सभापति देउवालाई दिए २ विकल्प

टसमस भएनन् गगन, सभापति देउवालाई दिए २ विकल्प

फाइल तस्बिर


सागर न्यौपाने
फागुन ७, २०८० सोमबार १५:३८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदनमा समेटेका विषय परिमार्जन गर्न अस्वीकार गरेको उनी पक्षका नेताले बताएका छन्।

थापाले प्रतिवेदन संशोधन नगर्ने बरु सभापति शेरबहादुर देउवाले दिएको सुझाव हलमा प्रस्तुत गर्ने योजना बनाएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए। 

तर, सभापति देउवाले अहिले गठबन्धन, चुनाव, विधान लगायत विषय डकुमेन्टमा नराख्न र संशोधन गरेर ल्याउन निर्देशन दिएका छन्।

देउवाको निर्देशन थापाले मानेका छैनन्। बरु देउवासमक्ष थापाले दुई विकल्प अघि सारेका छन्। 

तर, देउवाले यस्ता सन्दर्भ नै नराख्न र प्रतिवेदनबाट हटाउन निर्देशन दिएका छन्। 

‘सभापतिजी यो सन्दर्भ नै प्रतिवेदनबाट हटाउनुपर्छ भन्ने अडानमै हुनुहुन्छ,’ शिवाकोटीले भने, ‘महामन्त्रीले दुईवटा विकल्प दिनुभयो।’

पहिलो,‘अहिलेको मौजुदा गठबन्धनप्रति प्रतिबद्ध र इमान्दार रहँदै अबको समयमा चुनावअगाडिको गठबन्धन गर्ने कुराबाट पछि हट्नुपर्ने भन्ने कुरा महामन्त्रीको छ।’

दोस्रो, ‘यो सन्दर्भ हटाउने हो भने अहिलेकै गठबन्धनबारे पनि आफ्नो पोजिसन लिनुपर्ने हुन्छ।’ 

यो सबै सन्दर्भ भनेको नेपाली कांग्रेसको मतदाता र कार्यकर्ताको हितका लागि गरेको महामन्त्रीको दाबी छ।

‘चुनावअगाडिको गठबन्धन नगर्ने, चुनाव पछिको गठबन्धन मुद्दाका आधारमा हुनसक्छ भन्ने महामन्त्रीको भनाइ हो,' शिवाकोटीले थपे, ‘महामन्त्रीको कुरामा सभापति कन्भिन्स हुनुभएको छैन, त्यो कुरा पछि गरौँला अहिले किन राख्नुपर्यो भनेर सभापति भनिराख्नुभएको छ।’

देउवाको कुरा मान्न थापा तयार नभएपछि महासमिति बैठकको उद्घाटन सकेर फेरि छलफल गर्ने तयारी छ।

‘अहिलेको गठबन्धन टुट्नसक्छ। गठबन्धनले अर्काे विकल्प खोज्न सक्छ त्यही भएर त्यतातिर जानुभएन भन्ने कुरा सभापतिको छ।’

‘त्यसो भए अहिलेकै गठबन्धनबारे पनि सोच्न सकिन्छ भनेर महामन्त्रीले राख्नुभयो।’ 

यही विषय नमिलेर थापाको सांगठनिक प्रतिवेदन प्रेसमा छापिएको छैन।

तर, यसमा पनि देउवा सहमत नभएर हटाउनै पर्ने अडान लिएपछि सोमबार बिहान बूढानीलकण्ठमा पदाधिकारीसहित बसेको बैठक बिनानिष्कर्ष उठेको छ।

थापाले प्रतिवेदनलाई निर्णययार्थ हलमा राख्ने योजना बनाएका छन्।

देउवा प्रतिवेदन जस्ताको त्यस्तै महासमितिको हलमा राख्न नदिने अडानमा छन्।  गठबन्धन, चुनावी कुरा र विधान लगायतका विषय नराख्न उनले निर्देशन दिएका छन्।

महामन्त्री थापाले चुनावी गठबन्धन र निर्वाचनबारे सभापतिसँग आफ्नो रिजर्भेसन रहेको बताएपछि अर्का महामन्त्री विश्वप्रकाश शर्माले व्यक्तिगत मत राख्दै पार्टीको मत साझा बनाएर संस्थागत लैजानुपर्ने आइतबारै सुझाएका थिए।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नीति सम्मेलन भएकाले त्यस्ता विषयमा छलफल नहुने बताए।

उनले देउवा र थापाबीच सहमति जुटिसकेको पनि दाबी गरे।

‘महामन्त्रीज्यूको प्रतिवेदन संशोधन भएर आउँछ। सहमति जुटेको छ,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘आज (सोमबार) बेलुकासम्म प्रेसमा छापिएर भोलि बिहान बन्दसत्रमा पेश हुन्छ।’ 

तर, थापा पक्षीय नेता शिवाकोटी कुनै सहमति नजुटेको ठोकुवा गर्छन्।

‘केही कुरा मिलेको छैन,’ उनले भने, ‘महासमिति बैठकको उदघाटन सत्र सकिएपछि फेरि छलफल गर्ने भनिएको छ। अहिलेसम्म नमिलेको कुरा तत्काल मिलिहाल्ने देखिदैँन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .