राजनीति


गगनको प्रस्तावले अर्को गठबन्धन बन्ने त्रासमा महासमिति सदस्यहरू

गगनको प्रस्तावले अर्को गठबन्धन बन्ने त्रासमा महासमिति सदस्यहरू

उजिर कार्की
फागुन ८, २०८० मंगलबार २२:१६, काठमाडौँ

नेपाली कांग्रेस महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन महासमिति बैठकमा पेश नहुँदै एउटा तरंग ल्यायो।

महामन्त्री थापाको ३८ पृष्ठको प्रतिवेदनमा – अब कांग्रेसले चुनाव अघि कुनै पनि दलसँग गठबन्धन नगर्ने र एक्लै लड्ने उल्लेख छ।

जुन विषयलाई प्रतिवेदनबाट हटाउन कांग्रेस सभापति शेरबहादुर देउवाको कसरत पनि सफल भएन।ञघञ यही गठबन्धनबाट फेरि प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवा आगामी चुनावमा गठबन्धन नगर्ने भनेर सत्ता साझेदार दललाई अहिले नै बिच्काउन चाहँदैनन्।

तर महामन्त्री थापा कुनै पनि हालतमा प्रतिवेदनबाट उक्त शब्द हटाउन तयार नभएपछि महासमिति बैठकमा आगामी चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने र कांग्रेस एक्लै चुनाव लड्ने संकल्पसहितको प्रतिवेदन पेश भएको छ।

तर अर्को चुनावसम्म भने यही गठबन्धनलाई अगाडी बढाउने पनि थापाले बताएका छन्।

थापाको प्रस्तावमा भनिएको छ, ‘गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरुसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी समेत छौं।’

त्यसपछि पनि निर्वाचनबाट चुनिएर आएपछि सरकार बनाउनका लागि गठबन्धन गर्न सकिने बाटो खुल्ला छ। कुनै दलले बहुमत प्राप्त नगरेको अवस्थामा साझा नीति तथा कार्यक्रम बनाएर तालमेल गर्ने कुरा स्वभाविक हुने प्रतिवेदनमा उल्लेख छ।

‘तर भविष्यमा हुने आवाधिक निर्वाचनहरु आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, सांगठनिक प्रदिवेदनमा भनिएको छ।

महामन्त्रीको यो प्रस्तावपछि कांग्रेसका महासमिति सदस्यहरु पनि केन्द्रीय नेता जस्तै गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा विभाजित देखिएका छन्।

गएको निर्वाचनमा कांग्रेसले माओवादी र एकीकृत समाजवादीसहित दलहरूसँग गठबन्धन गरेर चुनाव लडेको थियो। तर गठबन्धन गर्दा पनि मोरङ क्षेत्र नम्बर ४ (क) बाट कांग्रेसका उम्मेदवार गुरु घिमिरे पराजित हुन पुगे। गठबन्धनको फाइदा नपाएका घिमिरे चुनावमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने पक्षमा छन्।

मंगलबार प्रतिवेदन पेश भएपछि नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘गठबन्धन गर्दा पनि परिणाम सुखद र सकारात्मक भएन। निर्वाचनमा जिताउन गठबन्धनको आन्तरिक हार्दिकता जुन हुनु पर्ने हो, मतदाताले सहजै अर्को पार्टीलाई भोट हाल्छन् भन्ने देखिएन। त्यही भएर अब आफ्नै सामथ्र्यमा चुनाव लड्ने र चुनाव पछि सरकार बनाउन आवश्यक परे गठबन्धन गर्न सकिन्छ। त्यसो भएन भने जनताले दिएको स्थानमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।’

नेपाली कांग्रेसलाई आफ्नै सामथ्र्यका साथ प्रतिस्पर्धा गर्न सक्ने सवल, सुदृढ संगठन भएको पार्टी बनाउन अहिलेबाट नै तयारी सुरु गर्नु पर्ने पनि उनले बताए।

अहिलेको गठबन्धन विशेष परिस्थितिका कारण गरिएको तर अबको निर्वाचनमा नगर्ने मत उनको छ। गठबन्धनले सबैलाई घाटा मात्रै भएको पनि छैन। कतिपय स्थानमा एक्लै चुनाव जित्ने अवस्था नभएका नेताले चुनाव जिते।

कांग्रेसका महासमिति सदस्यहरुलाई आफूले गठबन्धन नगरे अरु दल मिल्ने र आफू हारिने चिन्ता पनि देखिन्छ।

गोरखा क्षेत्र नम्बर १ बाट गएको निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भए। उनी पनि गोदावरी बैठकमै थिए। तर उनी भने गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा छैनन्।

महामन्त्री गगन थापाको प्रस्ताव गठबन्धनको विपक्षमा रहेका कार्यकर्तालाई सम्हाल्नका लागि भएको बजगाईको बुझाई छ।

‘नेपाली कांग्रेसका मान्छेले रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने उहाँको जुन दबाबमुलक प्रस्ताव छ, त्यो ठिक छ। तर निर्वाचन
छुट्टा छुट्टै लड्ने कि एक्लै लड्ने भन्ने कुरा आवश्यकता अनुसार हुन्छ’, बजगाईले भने, ‘हामीलाई रुखबाहेक भोट हाल्दा मन दुख्छ भनेका कांग्रेसीहरुलाई महामन्त्रीले गोलबद्ध गर्न खोजेको हो कि भन्ने मलाई लाग्छ।’

गएको चुनावभन्दा पहिले पनि महामन्त्री थापाले गठबन्धन गर्नै हुँदैन भनेको तर उक्त प्रस्ताव पारित नभएको उदाहरण उनले दिए। महामन्त्रीको रणनीतिक मूभ भएको बताउँदै उनले बिगतमा पनि माओवादीसँगै मिलेर आन्दोलन गरेको सम्झिए।

गएको निर्वाचनमा महामन्त्री थापाले पनि माओवादीको मत लिएरै जितेको बताए। उनले भने, ‘उहाँले माओवादीको मत २ हजार लिनु भयो होला, ४ हजार लिनु भयो होला तर जति भए पनि लिन त लिनु भो नि।’

गएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुले गठबन्धन गरेरै चुनाव लडेका थिए। कतिपय स्थानमा भने स्थानीय समितिहरुले नै निर्णय गरेर त्यहाँको परिस्थिति अनुसारको गठबन्धन बनाए।

देशका अधिकांस स्थानमा कांग्रेस–माओवादीसहितको गठबन्धन भए पनि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भने कांग्रेस एक्लै चुनाव लड्यो। विपक्षमा नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीहरुको अघोषित गठबन्धन बन्यो।

तर त्यतिबेला कांग्रेस एक्लै चुनाव लडेर मेयरमा निर्वाचित बिमला राई पनि गठबन्धन गर्न नहुने पक्षमा छैनन्। खोटाङमा कांग्रेसभित्रै चरम बिबाद छ। बिबादित जिल्लाबाट गोदावरीमा जारी बैठकमा आएका प्रतिनिधिहरुलाई आमन्त्रीत सदस्य भनिएको छ।

बिमला पनि उक्त बैठकको आमन्त्रित सदस्य हुन्। ‘गठबन्धन भनेको समय परिस्थितिले, राजनीतिक परिस्थितिले जन्माउने चिज हो। यसलाई अहिले नै शुनिश्चित गर्न पनि सकिँदैन र अहिले नै निशेध गर्न पनि सकिँदैन। नीति अधिवेसन हो, यसमा छलफल हुन सक्छ’, राईले भनिन्।

अहिले नै निर्णय गर्न नहुने बताए पनि कांग्रेस एक्लै चुनाव लड्ने क्षमताचाहिँ राख्नुपर्ने उनको मत छ।

गठबन्धनविरुद्ध एक्लै चुनाव लडेर जितेकी बिमलाले गठबन्धन गर्दाका फाइदा पनि बताइन्।

उनले भनिन्, ‘कांग्रेस एक्लै लड्दा पनि पार्टीभित्र अनुशासनको समस्या छ। त्यो भन्दा अर्को दलको उम्मेदवार हुँदा एकजुट भएको पनि देखियो।’

महोत्तरी ४ का सांसद महेन्द्रकुमार राय पनि कांग्रेस महासमिति बैठकमा सहभागी छन्। उनलाई गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव चित्त बुझेकै छैन।

‘गएको चुनावमा गठबन्धन नगरेको भए मैले नै चुनाव हार्थें। कांग्रेसले गठबन्धन नगरेको भए अरुले गठबन्धन गरेर मलाई हराउँथे। २०७४ मा गठबन्धन नगर्दा कांग्रेस कति कमजोर देखियो, फेरि पनि त्यही अवस्था हुनसक्छ’, यादवले भने।

अहिले यही गठबन्धनलाई निरन्तरता दिएर पछि परिस्थिति जे हुन्छ त्यही हिसावले निर्णय गर्नु पर्ने रायले बताए।

अहिलेकै निर्वाचन प्रणालीमा गठबन्धन नगरी चुनाव जित्न गाह्रो रहेको उनले बताए।

‘कि संविधान संशोधन गरेर निर्वाचन प्रणालि परिवर्तन गर्नुपर्छ होइन भने गठबन्धन गर्नैपर्छ।  कांग्रेसले गठबन्धन गरेन भने अरु पार्टीले गठबन्धन गर्छन्। सबै एक्ला एक्लै लड्ने हो भने मधेस प्रदेशमा पनि कांग्रेस बलियो छ। तर मुख्य कुरा यो हो कि कांग्रेसले गठबन्धन गरेन भने अरु दलले गठबन्धन गरिहाल्छन् र कांग्रेसलाई हराउँछन्’, रायले भने।
 
महामन्त्रीको प्रस्ताव महासमितिमा छलफलबाट पास नहुने र पासै भए पनि चुनावमा कार्यन्वयन हुन्छ भन्ने निश्चित नहुने महासमिति सदस्य समेत रहेका रायको बुझाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .