नेपाली कांग्रेसकी एकजना महासमिति सदस्य लीला नेपालले पाँच दलीय गठबन्धनलाई बेकार भनेकी छन्।
ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमितिको बैठकमा आफ्ना सुझाव राख्ने क्रममा उनले यस्तो बताएकी हुन्।
‘गठबन्धनबाट न जनतालाई न त देशलाई फाइदा भयो। गठबन्धन बेकार छ’, उनले भनिन्, ‘अब कांग्रेसले आफ्नै बलबुतामा आगामी चुनाव लड्ने तयारी गर्नुपर्छ।’
कांग्रेस नेतृ नेपालले समानुपातिक प्रणालीप्रति आक्रोश पोख्दै नेताका श्रीमतीलाई पद बाँड्ने काम भएको सुनाइन्।
‘समानुपातिक प्रणाली नेताहरूका श्रीमती र आसेपासेलाई बाँड्ने पद भयो’, उने भनिन्, ‘संसद् भवनलाई हनिमुनस्थल बनाउने अभ्यास बन्द गर्नुपर्छ।’
उनले सम्बोधनका क्रममा नेताहरूले अब वडाबाटै जितेर माथि जानुपर्ने पनि सुझाइन्।
ठूला नेताहरू भ्रष्टाचारमा मुछिँदा कार्यकर्तालाई गाह्रो भएको उनको भनाइ थियो।
‘भ्रष्टाचारमा कोही नबोल्ने अवस्था आएको छ’, उनले भनिन्, ‘सबै काण्डमा नेताहरू मुछिन थाले। अनि नेता चाहिँ हामीले बनाइदिनुपर्ने?’
Shares

प्रतिक्रिया