ad ad

राजनीति


त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त

त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त

नेपालखबर
फागुन १०, २०८० बिहिबार १६:४५, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन्। विश्वविद्यालयको कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन्।

बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन्। 

विश्वविद्यालयको उपकुलपति छनोट समितिले आइतबार प्राडा चित्रबहादुर बुढाथोकी, बराल र प्राडा टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।  

बराल माओवादीनिकट मानिन्छन्। 

प्रधानमन्त्री निकट स्रोतले उपकुलपतिमा नियुक्त बरालको निस्ठा र इमान्दारितामा प्रश्न उठाउने ठाउँ नभएको बतायो।

‘इमान्दार पनि छन्। निस्ठावान पनि छन् र परिपक्व पनि छन्। निस्ठामा कहिँ कतै प्रश्न उठाउने ठाउँ नभएको हुनाले उहाँ नै उपयुक्त भनेर निर्णयमा पुग्नुभएको छ’ स्रोतले भन्यो।

यस्तै, सिफारिसको एक नम्बरमा रहेका प्राडा चित्रबहादुर बुढाथोकीमा शैक्षिक अराजकता देखिएकोले दुई नम्बरमा सिफारिस गरिएका बराललाई नियुक्त गर्ने निर्णयमा प्रधानमन्त्री पुगेको स्रोतको दाबी छ।

‘एक नम्बर (बुढाथोकी)को एउटा कुरा पनि आयो। भर्खर कार्यकारी परिषदबाट एउटा कारबाहीमा पनि परेका रहेछन्। शैक्षिकरूपमा अलिकति अराजकता। जहाँ निर्णय गर्नुपर्थ्यो, त्यहाँ निर्णय नगराइकन केही कार्यक्रम लागू गरेका रैछन्। भोलि त विवाद हुन्छ यस्ता कुराले’ प्रधानमन्त्रीको निजी सचिवालयका एक अधिकारीको भनाइ छ, ‘प्रधानमन्त्रीले डे वानदेखि भीसी नियुक्ति गर्दासम्म जे कुरा सोच्नुभएको थियो, एकदम फेयर हिसाबले काम गर्नुभएको छ।’

उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस समितिले आवेदन माग गर्दा ४३ जनाले रूचि देखाएका थिए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको छनौट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य थिए। समितिले १४ जनाको संक्षिप्त सूची निकालेको थियो।

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा गत कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .