निर्वाचन आयोगले आइतबार उपनिर्वाचनको मिति सार्वजनिक गरेको छ। इलाम क्षेत्र नम्बर २ र बझाङ–१ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ को उपनिर्वाचन आगामी वैशाख १५ गते गर्नेगरी आयोगले मिति तोकेको हो।
इलाम–१ बाट निर्वाचित एमाले नेता सुवास नेम्वाङ र बझाङ–१ को प्रदेश सभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त पद रिक्त छ।
निर्वाचनसम्बन्धी ऐन अनुसार आयोगले सरकारको परामर्शमा आइतबार मिति तोकेको हो।
यी दुई निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी चासो र चर्चाको केन्द्र बनेको छ, इलाम–२।
हेभिवेट नेता नेम्वाङले लगातार जित्दै आएको सो क्षेत्र नेकपा एमालेका लागि प्रतिष्ठाको विषय बनेको छ। किनभने यसअघि एमालेले यहाँ निरन्तर जित हात पार्दै आएको थियो।
यहाँ नेम्वाङपुत्र सुहाङ उम्मेदवार बन्ने चर्चा छ। सुहाङले केही साताअघि नेपालखबरसँगको कुराकानीमा पनि आफू उम्मेदवार बन्न तयार रहेको बताएका थिए।
उनले भनेका थिए, ‘अवसर प्राप्त भएको खण्डमा खुट्टा कमाउन चाहन्नँ। यो भनेको मैले बुवालाई श्रद्धाञ्जली अर्पण गर्नुजस्तो पनि हो।’
आइतबार निर्वाचनको मिति घोषणा भएपछि भने उनले पार्टीको निर्णयको पर्खाइमा रहेको बताए। ‘म केही दिनमै निर्वाचन क्षेत्र जाँदैछु,’ उनले भने, ‘त्यहाँका स्थानीयसँग पहिला पनि जोडिएको हुँ, अझै जोडिनुपर्ने छ।’
निर्वाचनको तयारीकै लागि इलाम जान लागेको हो त भन्ने प्रश्नमा भने उनले घुमाउरो जवाफ दिए। सुहाङले जनतासँग जोडिन चाहेको बताए।
तर, अन्य नेताहरू पनि टिकट आफूले पाउनुपर्ने दाबी गरिरहेका छन्। पार्टीका आन्तरिक बैठक र भेलामा पनि चुनावी चर्चा हुन थालेको छ।
‘निर्वाचनको मिति तोकिएपछि टिकटको चर्चा त हुने नै भयो, केही नेता निरन्तर बालकोट धाइरहनुभएको छ,’ एमालेका एक नेता भन्छन्।
सुहाङसहित टिकटका लागि इलामका नेताहरू शिवमाया तुम्बाहाङ्फे, बुद्धि खनाल, रवीन्द्र सुवेदी, गणेश बराल लगायतको नाम पार्टीभित्र चर्चामा छन्। तम्बाहाङ्फे भने आफू इलामको निर्वाचनको रेसमा नरहेको बताउँछिन्।
‘इलाम जाँदा पनि त्यहाँ साथीहरूले भन्नुभएको थियो, तर त्यहाँको विकासका लागि म गएर हुँदैन, म यो रेसमा छैन,’ उनले नेपालखबरसँग भनिन्।
उता, सत्ता गठबन्धनबाट कुन पार्टीले टिकट लिने भन्नेबारे अन्योल छ। यद्यपि, इलामकै अर्को क्षेत्रबाट चुनावमा हारेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको चर्चा भइरहेको छ।
खनालले भने गठबन्धनमा सल्लाह नगरी आफू केही बोल्नसक्ने अवस्थामा नरहेको बताए। उनले आइतबार दिउँसो नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै यसबारे गठबन्धनमा सल्लाह गरेर मात्रै निर्णय लिने बताएका छन्।
‘सत्ता गठबन्धनको अवस्था के छ, एमालेको के छ? यी कुराहरू बुझेर मात्रै आवश्यक निर्णय लिन्छु,’ उनले भनेका छन्।
हारको बदला लिने मुडमा कांग्रेसका खड्का
नेम्वाङसँग गत निर्वाचनमा हार बेहोरेका डम्बरबहादुर खड्का यो पटक बदला तिर्ने मुडमा छन्।
उनी ०७९ मा भएको निर्वाचनमा नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए। नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए।
१ सय १४ मतको अन्तरले ब्यहोरेको हार बिर्साउनेगरी तयारीमा लागेको बताउँछन्।
‘यसअघि पनि थोरै मतान्तरले मात्रै हार भएको हो,’ खड्काले नेपालखबरसँग भने, ‘यो पटक जित्नेमा विश्वस्त छु।’
सत्ता गठबन्धनले इलाम–२ को टिकट कांग्रेसलाई नै दिनेगरी तयारी गर्नुपर्ने उनको तर्क छ।
‘यसअघि पनि गठबन्धन हुँदा कांग्रेसले नै पाएको हो, यो पटक पनि झिनो मत पुर्नेगरी कांग्रेसले नै टिकट पाउनुपर्छ,’ उनले भने।
नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का इलाम जिल्ला सभापति, नेविसंघको केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै कांग्रेसको १२औँ महाधिवेशनबाट जिल्ला कोषाध्यक्ष बनेका थिए।
उनको यो संसद् छिर्ने पहिलो प्रयास हो।
माओवादी छाडेर स्वतन्त्र लड्ने तयारीमा लिम्बू
इलाम–२ को निर्वाचनमा जसरी पनि उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्, मिलन लिम्बू। उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघको, केन्द्रीय सचिव हुन्।
उनी माओवादी पार्टीमा आबद्ध छन्।
आइतबार साँझ लिम्बूले नेपालखबरलाई दिएको जानकारी अनुसार, चाँडै पार्टी परित्याग गरेको औपचारिक घोषणा उनले गर्दैछन्।
‘मैले आफूलाई जनताको उम्मेदवार भनेको छु। इलामको माटोको टीका लगाएर संसद् भवन छिर्ने तयारीमा छु,’ उनले भने, ‘म माओवादी पार्टी औपचारिक रुपमा त्याग्दैछु।’
अहिलेका राजनीतिक पार्टीबाट निकास खोज्न नसकिने तर्क उनले पेस गरे। ‘सबै राजनीतिक दल, धर्म र आस्थाको साझा उम्मेदवारको रुपमा आउँछु,’ उनले भने।
कोसीमा भइरहेको पहिचानवादी आन्दोलनको मत आफूले पाउने उनको अपेक्षा छ। स्वतन्त्र उम्मेदवारको रुपमा इलामका जनताले निर्वाचित गराउनेमा ढुक्क रहेको उनी बताउँछन्।
रास्वपाको रणनीति
संघीय संसद्मा २१ सिटसहित उपस्थित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि इलामको उपनिर्वाचनलाई रणनीतिक रुपमा लिएको छ।
पार्टी महामन्त्री डा. मुकुल ढकालका अनुसार इलाममा पद रिक्त हुनासाथ त्यहाँको अवस्थाबारे एक पटक ‘सर्भे’ भइसकेको छ।
‘हामी यो चुनाव जित्नेगरी रणनीति बनाइरहेका छौँ। राम्रो मान्छे उठाउछौँ,’ ढकालले भने, ‘स्थानीय समुदाय, जात, क्षेत्रसहितलाई ध्यानमा राखेर उम्मेदवार तय गर्छौँ।’
पार्टी केन्द्रबाट चुनावका लागि नेताहरू खटिनेछन्।
‘हामीले यो निर्वाचनलाई गम्भीरतापूर्वक लिएका छौँ, दसैँ तिहारलगत्तैदेखि त्यहाँ गएका छौँ,’ उनले भने, ‘उम्मेदवारबारे अहिले नै निर्णय भएको छैन।’
Shares
प्रतिक्रिया