समाज


अब ‘चाँडै’ भित्रिँदै मनसुन

अब ‘चाँडै’ भित्रिँदै मनसुन

बादलको फाइल फोटो


नेपालखबर
असार ४, २०८३ बिहिबार ९:२३, काठमाडौँ

नेपालमा मनसुन भित्रिने औसत मिति नाघेको आज (असार ४ गते) ६ दिन भइसकेको छ। तर मनसुन प्रवेश गर्न सकेको छैन।

यद्यपि अब मनसुन चाँडै प्रवेश गर्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताएका छन्।

‘हामी मनसुनको अनुगमनमै छौँ, उनले बिहीबार बिहान नेपालखबरसँग भने, ‘अब मनसुन चाँडै भित्रिने आकलन गरेका छौँ।’ 

तर पनि अब यति नै दिनभित्र मनसुन आइपुग्छ भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ छ। 

‘मनसुन चाँडै प्रवेश गर्ने अनुमान गरेका छौँ’, उनले भने, ‘तर यति दिनभित्र भित्रिन्छ भन्न सकिन्न। बिचमा फेरि केही परिवर्तन पनि हुन सक्छ।’ 

नेपालमा मनसुन भित्रिने औसत मिति यही जुन १३ तारिख (जेठ ३१) थियो। यद्यपि मनसुन ठ्याक्कै यही मितिमा भित्रिने होइन, यो त औसत मिति मात्र हो। यसको केही दिन अघि वा पछि मनसुन नेपालमा प्रवेश गर्छ। 

गत वर्ष २०८२ मा भने नेपालमा मनसुन औसत मितिभन्दा १५ दिन अगाडि नै मे २९ तारिखमा प्रवेश गरेको थियो। 

आज बिहीबारका लागि यस्तो छ मौसम प्रक्षेपण 

दिउँसो : देशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कोसी र मधेस प्रदेशका तराईको आकाशमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ। कोसी र मधेस  प्रदेशका तराईका पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना छ।

राति : कोसी प्रदेशमा साधारणतया बादल लाग्नेछ। अन्य हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।

काठमाडौँमा वर्षाको सम्भावना छ कि छैन?

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अपराह्न वा साँझपख काठमाडौँमा पानी पर्ने सम्भावना छ। 

‘दिउँसो २/३ बजेपछि बादल बढ्दै गएर हल्कादेखि मध्यमसम्म वर्षा हुने आकलन छ’, उनले नेपालखबरसँग भने। 

त्यसअघि भने काठमाडौँ उपत्यकामा बादल पनि लाग्ने र घाम पनि देखिने अवस्था हुने मौसमविद् दाहालको भनाइ छ।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad