राजनीति


माओवादीको त्यो निर्णय, जसबाट झस्कियो कांग्रेस

राष्ट्रिय सभा अध्यक्ष आफैँले पाउनेमा अझै आश
माओवादीको त्यो निर्णय, जसबाट झस्कियो कांग्रेस

फाइल तस्बिर


सागर न्यौपाने
फागुन १७, २०८० बिहिबार १०:११, काठमाडौँ

सत्ता गठबन्धनभित्रको बाँडफाँटमा राष्ट्रिय सभाको अध्यक्ष पद आफूले पाउनेमा ढुक्क रहेको नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रले आफैँ राख्ने निर्णय गरेपछि झस्किएको छ। 

पार्टीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माका कारण माओवादी केन्द्रको स्थायी समिति बैठकले त्यस्तो निर्णय गरेको आशंका कांग्रेस नेताहरूले गरेका छन्।

तर बुधबार मात्र माओवादी स्थायी समिति बैठकले पुन र शर्मालाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ। शर्मालाई बागमती र पुनलाई विशेष प्रदेश समितिको इन्चार्जबाट हटाइएको हो।

मंगलबार र बुधबार बसेको माओवादी स्थायी समिति बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष चुनावमा उम्मेदवारी दिने निर्णय गर्नु आन्तरिक शक्ति संघर्षकै परिणाम रहेको कांग्रेस नेताहरूको दाबी छ। 

‘माओवादीभित्रको आन्तरिक लफडालाई हाम्रो पार्टीले अलि गम्भीर लिएको छ,’ सभापति शेरबहादुर देउवा निकट एक पदाधिकारीले नेपालखबरसँग भने, ‘माओवादीभित्रको आन्तरिक लफडा अझ उग्र भयो भने गम्भीर अवस्था आउनसक्छ, त्यतिखेर सोचनीय हुन्छ।’

गठबन्धनमा राष्ट्रिय सभा चुनाव अघि नै कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने समझदारी भएकाले त्यसबाट तलमाथि नहुनेमा उनीहरू आशावादी छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवानिकट अर्का एक नेताले  माओवादीले गठबन्धन नछाड्ने दाबी गरे। 

‘अहिले माओवादी गठबन्धन छाडेर जाँदैन, एमालेलाई देखाएर तर्साउनु भनेको मोलमोलाइ गर्नु मात्र हो,’ ती नेताले नेपालखबरसँग भने,  ‘उहाँहरूले अध्यक्ष पाइन्छ कि भनेर प्रस्ताव गर्नुभएको हो, भित्रदेखि अध्यक्ष दाबी गरेको जस्तो लाग्दैन।’

ती नेताले यही गठबन्धनबाट कांग्रेसले अध्यक्ष पाउने दाबी गरे।

माघ ११ को राष्ट्रिय सभा चुनावमै कांग्रेसका नेताहरूले सिटौलालाई अध्यक्षकै रुपमा अघि सारिएको घोषणा गरेका थिए। 

तर, माओवादीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले राष्ट्रिय सभाको पहिलो दल भएको, संवैधानिक परिषद्‌मा पछि शून्य हुने अवस्थालाई ध्यान दिएर अध्यक्ष नछाड्ने नेताहरूको अडानअनुसार उम्मेदवारी दिने निर्णय गरिएको बताए।

यो निर्णयको पछाडि स्थायी समिति सदस्यको दबाब छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनीहरूले अध्यक्ष पद नछाड्न खबरदारी गरेका थिए।

‘साथीहरूको तीव्र दबाबले अध्यक्षमा उम्मेदवारी दिने निर्णय भयो,’ सचिव राम कार्कीले नेपालखबरसँग भने, ‘गठबन्धनमा रहेका सबै दललाई मनाउने काम प्रधानमन्त्री एवं केही नेताहरूले गर्नुहुन्छ।’

स्थायी समितिको बैठकमा प्रचण्डले धारणा राख्दै गठबन्धनमा सरसल्लाह गरेर अध्यक्ष लिने वातावरण बनाइने बताएका छन्।

‘अन्तिम कोसिस हुन्छ, अहिले उम्मेदवारी दिने निर्णय गरेर जाऔँ,’ बैठकमा प्रचण्डले भने।

माओवादी निर्णय बाहिरिएलगत्तै कांग्रेसका नेताहरू छलफलमा जुटेका छन्। कतिपयले सभापति शेरबहादुर देउवासँग टेलिफोनमै गठबन्धनको भविष्यबारे जिज्ञासा राखेका छन्।  

देउवाले गठबन्धनमा छलफल हुन्छ भनेर जवाफ दिएका छन्। 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने माओवादी निर्णयलाई अन्यथा लिन नहुने बताए। 

गठबन्धनमा समस्या पर्नेगरी माओवादीले दाबी नगर्ने उनको विश्वास छ।  

‘गठबन्धनको बैठक नबसेको अवस्थामा माओवादीले उम्मेदवारी दिने निर्णय गर्नु अन्यथा होइन,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘दलले खाली छोड्ने कुरै आउदैन नि, त्यो भन्दा अगाडि गठबन्धनको बैठक बसेको भए के गर्ने भन्ने हुन्थ्यो।’ 

कांग्रेस-माओवादी सम्बन्ध बिगार्ने दुई घटना
गठबन्धनमा माओवादीले राष्ट्रिय सभा दाबी गर्नुलाई कांग्रेसले दुई अर्थमा लिएको विश्वकर्मा बताउँछन्।

पहिलो- राष्ट्रिय सभा चुनावमा कोसीको नतिजा।

गठबन्धनमै रहेर र हजारभन्दा बढी मतभार हुँदा पनि माओवादी केन्द्रकी उम्मेदवार राष्ट्रिय सभा सदस्यमा पदमा हारिन्। तर, कांग्रेस उम्मेदवार सिटौला विजयी भए।

यसलाई माओवादी केन्द्रले कांग्रेसले धोका दिएको विश्लेषण गर्‍यो। 

‘हाम्रो महासमितिको बैठकमा प्रस्तुत केही प्रस्तावहरूमा छलफल भएपछि उहाँहरू केही संशकित हुनुभएकै हो,’ विश्वकर्माले थपे,  ‘कोसीको चुनावमा चित्त दुखेको, महासमिति बैठकमा गठबन्धन गर्नु हुँदैन भन्ने कुरा उठेको, त्यो विषयले अलिकति तरंगित गरेको बेलामा राष्ट्रिय सभा चुनाव आएकोले उहाँहरूले एक्लै लड्छौँ भनेर आफ्नो अडान राख्नुलाई अन्यथा मान्नु भएन।’

विश्वकर्माले गठबन्धनमा कुनै समस्या नपरी निर्णय हुने ठोकुवा गरे।

अहिले भएको गठबन्धनलाई निरन्तरता दिनुपर्ने कांग्रेसको धारणा रहेको उनले बताए।

‘त्यस्ता कुरामा त बैठक बसेपछि एउटाले गुनासो गर्ने अर्काेले सरी भन्ने हो, अन्तिम आवरमा सहमति हुन्छ,’ उनले थपे, ‘गठबन्धनको बैठक बसेर मिल्छ। कोही न कोहीसँग गठबन्धन नगरी उपाए नै छैन।’

‘हामी कसैले पनि यताउता गर्नु हुँदैन, कोही न कोहीसँग गठबन्धन गर्नपर्ने भइसकेपछि केही न केही सहमति गरेर जानुपर्छ भन्ने हाम्रो धारणा  छ माओवादी पनि त्यसमा आउँछ भन्ने हामीलाई विश्वास छ।’

कांग्रेसले मन्त्रिमण्डलमा फेरबदल गर्न सहयोग नगरेकोप्रति माओवादी रुष्ट रहेको विश्वकर्माले स्वीकार गरे। 

‘उहाँहरूको गुनासो के छ भने कांग्रेसले मन्त्रिमण्डलमा फेरबदल गर्न अस्तिदेखि कुरा गरेको खै किन नगर्द्या भन्ने पनि छ, तर एकै ठाउँमा बसेपछि यी विषयमा एउटा सहमति जुट्छ।’

कांग्रेस अडानबाट पछि हट्ने सम्भावना कति?
कांग्रेस नेताहरू गठबन्धनमा अडान लिएर बस्न नहुने बताउँछन्। 

प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘राजनीतिमा गठबन्धन गर्ने लिने भनेपछि ‘गिभ एन्ड टेक’ हुन्छ। गठबन्धनमा सहमति भयो भने अघिपछि हुनैपर्छ।’

उनको दाबीअनुसार राष्ट्रिय सभा अध्यक्ष चुनावमा पनि केही लेनदेन भएर सहमति हुनसक्छ। 

उनले भने, ‘कसलाई कहाँ छाड्ने? कसले कहाँ लिने? यस्तै कुरामा सहमति हुन्छ। यही नै हो अन्तिम भन्ने पनि हुँदैन। अहिलेसम्मको तयारी के भने कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष दिने भनेर गठबन्धनले निर्णय गर्छ।’

गठबन्धनको बैठक बसेर यसबारे गम्भीर छलफल गरिने विश्वकर्मा बताउँछन्। 

‘अब कांग्रेसको उम्मेदवार तयार हुन्छ। माधवकुमार नेपालको उम्मेदवार तयार हुन्छ। अनि जित्नका लागि के गर्ने त भनेर सरसल्लाह हुन्छ। सरसल्लाह हुँदा भरसक गठबन्धनमै कुरा मिलाउनुपर्छ भन्नेमा कांग्रेस छ’, उनले नेपालखबरसँग भने, ‘माओवादीले पनि अन्यथा सोचेको छ जस्तो लाग्दैन, गठबन्धनमा अलिअलि रस्साकस्सी त हुन्छ नि! अस्ति राष्ट्रिय सभा सदस्य चुनावमा पनि त्यस्तै भएको थियो। अलिअलि रस्साकस्सी हुन्छ अन्तिममा आएर मिल्छ भन्ने नै लाग्छ।’

कांग्रेसबाट उम्मेदवार को ? 
प्रचार विभाग प्रमुख विश्वकर्माले कांग्रेसले कृष्ण सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने बताए। निर्णय गर्न बाँकी छ। 

‘कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पद लिने कुरामा प्रस्ट छ,’ उनले भने।

‘ढोक्सा थाप्ने’ दाउमा एमाले
गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष पद दाबी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले भने ‘ढोक्सा’ थाप्ने रणनीतिमा छ। 

राष्ट्रिय सभा अध्यक्ष चुनावलाई गठबन्धन टुटाउने उपयुक्त हतियार बनाउने रणनीतिमा एमाले देखिन्छ। 

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका शेखर कोइराला पक्षीय नेता केदार कार्कीलाई समर्थन गरेर एमालेले ‘ढोक्सा’ थापेको थियो।

यद्यपि, गठबन्धन फुटाउने त्यो योजना त्यसै घटनाबाट सफल हुन सकेन। गठबन्धन दलले कार्कीलाई नै समर्थन गरेपछि एमाले कोसी सरकारबाट बाहिरिसकेको छ।

यसपटक एमालेले माओवादी वा कांग्रेस कुनै दलका उम्मेदवारलाई मत दिने सम्भावना छ। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्ला दिन भइरहेको भेटले ‘मिल्न सक्ने बाटो’को खोजी भइरहेको देखिन्छ।

त्यसकै लागि एमालेका नेताहरू संवैधानिक परिषद्‌मा माओवादी रिक्त हुन नहुने भन्दै ‘लबिङ’ गर्न थालेका छन्।

एमाले महासचिव शंकर पोखरेलले संवैधानिक परिषद्ंमा शक्ति सन्तुलन हुनुपर्ने माओवादीको अडान जायजै रहेको प्रतिक्रिया नेपालखबरलाई दिए।

‘एकैतिर शक्ति केन्द्रित हुने कुरा अहिलेका लागि उपयुक्त नहुन सक्छ,’ पोखरेलले नेपालखबरसँग भने, ‘दूरगामी हिसाबले के गर्दा मुलुकलाई हित हुन्छ र शक्ति सन्तुलन मिल्छ भनेर हामी हेर्छौं।’ 

कांग्रेस–माओवादी दुवैले दाबी नछोडे गठबन्धनमा समस्या पर्छ। त्यसबेला कुनै दललाई समर्थन गरिदिने एमालेको तयारी छ।  

‘सहकार्यको तहमा हामीले कुनै छलफल गरेका छैनौँ। सत्तापक्ष कुन रूपमा आउँछ, अनि मात्र हाम्रो रणनीति तय हुन्छ,’ महासचिव पोखरेलले थपे, ‘गठबन्धन मिलेर आए हाम्रो उम्मेदवार उठाउँछौँ, यदि गठबन्धनमै फरकफरक उम्मेदवार भए उपयुक्तताको खोजी हुन्छ।’

माओवादी–एमाले मात्र मिल्दैमा राष्ट्रिय सभा अध्यक्ष चुनाव जित्न भने सम्भव छैन। राष्ट्रिय सभा अध्यक्ष जित्न कम्तीमा ३० मत ल्याउनुपर्छ। माओवादीका १८ र एमालेका १० सांसद छन्। नपुग्ने मत जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीलगायतलाई मिलाउनुपर्छ।

एमाले अध्यक्ष ओलीसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मिल्न तयार हुने सम्भावना क्षीण छ। यस्तो बेला उपेन्द्र यादव नेतृत्वको जसपाको साथ लिन सकिने एमाले विश्लेषण छ। 

एमालेको दोस्रो रणनीति हो, राष्ट्रिय सभा अध्यक्षमा जुन उम्मेदवार भए पनि मत दिने। त्यसो गर्दा भोलिका लागि सहकार्यको वातावरण बन्ने एमाले बुझाइ छ।त्यही भएर पनि एमालेले गठबन्धनबाट अध्यक्षको उम्मेदवार कसरी चयन हुन्छ, कुरिरहेको छ।

कांग्रेस–माओवादीबीच टकराव चुलिएमा लाभ लिन सकिने विश्लेषण एमालेले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .