राजनीति


एमाले नबिच्क्याउने कांग्रेसको रणनीति, राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने

कांग्रेस नेता भन्छन् : प्रचण्डको भाइ बन्दा सिटौलाले धोका खानुभो
एमाले नबिच्क्याउने कांग्रेसको रणनीति, राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने

सागर न्यौपाने
फागुन २५, २०८० शुक्रबार १९:२, काठमाडौँ

सत्ता गठबन्धन परिवर्तन भएसँगै नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार नबनाउने भएको छ।

आगामी २९ गते राष्ट्रिय सभा अध्यक्षको चुनाव हुँदै छ। 

माओवादीसहित गठबन्धन हुँदा कांग्रेसबाट सिटौलालाई अध्यक्ष बनाउने सहमति जुटेको नेताहरुले दाबी गरेका थिए। उनलाई अध्यक्ष बनाउनकै लागि राष्ट्रिय सभामा निर्वाचित गरिएको नेताहरुले बताएका थिए।

तर, फागुन २१ गते कांग्रेससहितको ८ दलीय गठबन्धन टुटेर एमाले–माओवादीसहितको पाँच दलीय नयाँ बनेको छ।राजनीतिमा आएको नाटकीय परिवर्तनपछि हार्ने चुनावमा सिटौलालाई नउठाउने निष्कर्षमा कांग्रेस पुगेकोे सभापति शेरबहादुर देउवानिकट एक नेताले जानकारी दिए। 

यसबारे आइतबारसम्म पार्टीले औपचारिक निर्णय गर्ने उनले जानकारी दिए। 

राष्ट्रिय सभामा नयाँ गठबन्धनको स्पष्ट बहुमत छ। अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेलाई हुनेगरी बाँडफाँटको सहमतिमा हस्ताक्षर गरेका छन्। 

‘अब सिटौला दाइजस्तो सिनियर नेतालाई लगभग हार्ने निश्चित देखिएको चुनावको उम्मेदवार बनाउने काम हुँदैन,’ ती कांग्रेस नेताले नेपालखबरसँग भने, ‘भोलि या पर्सिमा नेताहरु बसेर उम्मेदवार टुंगो लगाउँछन्।’

गठबन्धन तोडेर एमालेसँग मिसिएको भन्दै कांग्रेसका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग रुष्ट छन्। कांग्रेसहितको गठबन्धन तोडेर माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नेकपा एकीकृत समाजवादी पार्टीले फागुन २३ गते नयाँ मन्त्रिमण्डल बनाएका छन्। 

कांग्रेसका अर्का नेताले माओवादीले दिएको धोकाको बदला लिन पनि उम्मेदवार उठाउने बताए।

‘हाम्रोले मात्र पुग्दैन, राष्ट्रिय सभामा एमालेसहितको गठबन्धनसँग प्रष्ट बहुमत छ। तत्काल गठबन्धनमा तलमाथि हुने सम्भावना देखिइसकेको छैन। अहिले हामीले यही अंकगणित विश्लेषण गरिरहेका छौँ,’ ती नेताले भने, ‘माओवादीविरुद्ध त हामी उम्मेदवारी दिन्छौँ नै, अहिले यही व्यक्ति भनेर तय गरिसकेका छैनौँ। कृष्ण दाइ जानुहुन्न, अरु कोही उठाउनुपर्छ, छोड्ने कुरै हुँदैन।’ 

१८ सांसद रहेको माओवादी राष्ट्रिय सभामा ठूलो दल हो। त्यसपछि १४ सांसद रहेको कांग्रेस दोस्रो ठूलो दल हो। 

एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाका ३ सांसद छन्।

माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा ३९ सांसद पुग्छन्। ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्ष निर्वाचित हुन २९ सांसदको मत आवश्यक हुन्छ। अहिले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ। कांग्रेस र लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा मिल्दा जम्मा १६ सांसद मात्र हुन्छन्। 

त्यसो त कांग्रेसले एमालेको पनि साथ पाउने विश्वास गरेको छ। त्यसका लागि उसले उपाध्यक्षमा एमाले उम्मेदवार विरुद्ध उम्मेदवारी नदिने भएको छ। 

‘उपाध्यक्ष पदमा भने हामी उम्मेदवारी दिँदैनौँ,’ ती नेताले थपे, ‘गठबन्धनमा एमालेको भागमा उपाध्यक्ष परेको सुनेका छौँ, एमाले विरुद्धमा उम्मेदवारी नदिने लगभग निश्चित जस्तै छ।’

प्रचण्डको ‘भाइ’ बन्दा सिटौलाले पाए ‘धोका’
कांग्रेस नेताहरु पूर्वमहामन्त्री सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई धेरै विश्वास गरेको आरोप लगाउँछन्। गठबन्धन मिलाउन, जोगाउन सिटौलाले निकै मेहनत गरे पनि अहिले मुखमै आएको राष्ट्रिय सभा अध्यक्ष पद गुमाउनुपरेको उनीहरुको भनाइ छ। 

‘सिटौला दाइको पनि अपरिपक्व कुदाइ भयो, अलि बढी विश्वास गर्नुभयो प्रचण्डको,’ कांग्रेसका एक सांसदले नेपालखबरसँग भने, ‘उहाँ प्रचण्डको भाइ नै भएर हिँड्नुभयो कतिपय बेला। तर, उहाँले पनि धोका पाउनुभयो, कांग्रेसले त पाइहाल्यो।’

राष्ट्रिय सभा सदस्यको चुनावमा कोसीबाट उम्मेदवार बनेकी माओवादीकी चम्पादेवी कार्की पराजित भइन्। माघ ११ गते भएको चुनावमा कांग्रेसको एक समूहले मत नदिँदा मतभार हुँदाहुँदै पनि कांग्रेस–माओवादी गठबन्धनकी साझा उम्मेदवार कार्की पराजित भएपछि गठबन्धनमा अविश्वास सुरु भएको थियो।

फागुन ७–१० मा ललितपुरको गोदावरीमा बसेको कांग्रेसको महासमिति बैठकमा पेस भएका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा माओवादी जनयुद्धप्रति समावेश धारणा र आगामी चुनावमा गठबन्धन नगर्ने कुराले माओवादीलाई थप बिच्क्यायो।
 
त्यसैको परिणामस्वरुप माओवादीको फागुन १५–१६ गते बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय ग¥यो। माओवादीको त्यही निर्णयले गठबन्धनमा दरार पैदा भयो। र, अन्ततः गठबन्धन नै टुट्न पुग्यो।

राष्ट्रिय सभा अध्यक्षको चुनावपछि एमाले र कांग्रेस मिलाउने प्रयासमा लाग्ने अर्का एक केन्द्रीय सदस्यले बताए। 

‘विस्तारै कांग्रेस–एमाले मिल्ने वातावरणमा जान सक्छ। त्यो सम्भावना जीवितै छ,’ ती नेताले भने, ‘अहिल्यै हामी त्यो बाटोमा गइसकेका छैनौँ।’

उनले सरकार दिगो नहुने ठोकुवा पनि गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .