राजनीति


सिंहदरबार गेटैको होटलको तिलिचो हल, जहाँ ओली–नेपाल बसेर तय गरे अबको सहयात्रा

सिंहदरबार गेटैको होटलको तिलिचो हल, जहाँ ओली–नेपाल बसेर तय गरे अबको सहयात्रा

आइतबार जसपाबाट सहभागी मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा माधव नेपाल र केपी शर्मा ओली


सागर न्यौपाने
फागुन २७, २०८० आइतबार २१:२७, काठमाडौँ

शनिबार सार्वजनिक बिदाको दिन प्रायः काठमाडौं सुनसानजस्तै हुन्छ।

तर, यही सुनसान दिन पारेर फागुन २६ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबार अगाडि रहेको बसेरा बुटिक होटलमा बोलाए। 

कांग्रेससहितको गठबन्धन ढालेर एमालेसहित चार दलीय गठबन्धन बनाएका ओलीले नेपालसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका छन्। त्यही भएर ओलीले सुनसान दिन रोजे सायद। घरमा होइन, होटलमा बसेर नेपाललाई विश्वास दिलाउने प्रयास गरे। 

२०७८ मा एमाले विभाजनको सँघारमा पुग्दा ओली–नेपाल संवाद नक्सालको मेरियट होटलमा भएको थियो। तर, ओलीको प्रयास सफल भएन, एमाले विभाजन भईछाड्यो। 

त्यसको दुई वर्षपछि ओली नेपालसँगको सम्बन्ध सुधारमा लागिपरेका छन्। बसेरा होटेलको तिलिचो कक्षमा गरिएको भेट त्यसकै मार्गचित्र कोर्नका लागि हो। 

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लिएर सिंहदरबार गेटैको यो होटल पुगेका ओलीले सुरुमै नेपालसँग अब मिलेर जानुको विकल्प नभएको बताए। जवाफमा अध्यक्ष नेपालले विश्वास गर्ने आधार खोजेको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। 

‘पहिला विश्वास गर्ने आधार बन्नुप¥यो। हामी कन्फिडेन्स बिल्डिङको अवस्थामा छौँ, त्यसपछि मात्र धेरै कुरा अगाडि बढ्ने बाटो खुल्छ,’ हमालले भने, ‘हाम्रो बीचमा समझदारी विकास भयो भने बल्ल त्यसले कोर्स लिन्छ। कोर्स लिएपछि अहिले जसरी अगाडि बढ्न खोजिएको छ, त्यतातिर जान्छ।’

यद्यपि, अध्यक्ष नेपाल ओलीसँग एमालेमा पुनर्मिलनका लागि सकारात्मक देखिएका छन्। त्यसका लागि उनको थप सर्त छ, कांग्रेस–माओवादी गठबन्धन हुँदा शक्ति बाँटफाँटमा भएको समझदारीजस्तै अहिलेको एमाले–माओवादी गठबन्धनमा पनि त्यस्तै होस्।

कांग्रेससँग प्रचण्ड दुई वर्ष, माधव नेपाल एक वर्ष र बाँकी अवधि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको भनिएको थियो। स्वयं माधव नेपालले पनि लिखित समझदारी नभएपनि त्यसबेला तीन नेताबीच मौखिक रुपमा यस्तो समझदारी बनेको बताउँदै आएका छन्। 

प्रचण्डले एक वर्ष बिताइसकेकाले अबको १० महिनापछि नेपाल प्रधानमन्त्री बन्ने पालो थियो भन्ने उनको बुझाइ रहेको छ।  

तर, फागुन २१ मा ओली–प्रचण्डले गठबन्धन उल्टाए। 

२१ गते नै प्रचण्ड र नारायणकाजी श्रेष्ठले कोटेश्वर पुगेर माधव नेपाललाई भेटे। भोलिपल्ट फागुन २२ मा प्रचण्ड र ओली फेरि नेपाललाई भेट्न पुगे। जुन भेटको सुरुमै नेपालले नयाँ गठबन्धन बनाउँदा आफूसँग सल्लाह नगरेको भन्दै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग असन्तुष्टि पनि पोखेका थिए। साथै नेपालले नयाँ गठबन्धनमा सामेल हुनुअघि शक्ति बाँटफाँटको योजनाबारे सोधेका थिए। 

स्रोतहरूका अनुसार ओली–प्रचण्ड भने त्यो भेटमै नेपालले खोजेजसरी उनलाई आश्वस्त पार्नतिर लागेनन्। ‘मिलाउँछौं’ भन्ने अमूर्त जवाफ दिएर फर्किए।

सोही दिन साँझ बालुवाटारमा माधव नेपालले शक्ति बाँटफाँटबारे स्पष्ट जवाफ आएपछि मात्रै आफ्नो दलबाट मन्त्रीहरूको नाम दिने सर्त राखेपछि ५ बजेलाई तोकिएको सपथ ७ बजेका लागि सर्यो।

हो त्यही समय अबका करिब चार वर्ष प्रचण्ड, नेपाल र ओलीबीच पालैपालो प्रधानमन्त्री बन्ने समझदारी जुटेको एकीकृत समाजवादी र केही एमालेका नेताहरूको भनाइ रहेको छ।

‘पाँच बजेका लागि शपथ कार्यक्रम राखिएको थियो तर माधवजीसँग कुरा नमिलेको रहेछ, उहाँ तयार हुनुभएन,’ अर्का एक नेताले भने, ‘पावर सेयरिङ गर्ने समझदारी गरेपछि बल्ल मन्त्रीको शपथ गराउन तयार हुनुभयो।’

नेताहरूका अनुसार शक्ति बाँटफाँटको कुरा मिलेपछि मात्रै माधव नेपाल सपथका लागि मन्त्रीहरूको नाम दिन तयार भएका थिए।  

‘यो समझदारी प्रचण्ड, नेपाल र देउवा पालैपालो प्रधानमन्त्री बन्नका लागि भएको समझदारीजस्तै नै छ,’ एमालेका एक नेता भन्छन्, ‘यो समझदारी अनुसार भयो भने प्रचण्डपछि माधव नेपाल र त्यसपछि ओली प्रधानमन्त्री बन्ने छन्।’

‘कांग्रेसले बहुमत पु¥याइदिन्छौं प्रधानमन्त्री हुनू भनेर राखेको प्रस्ताव छोडेर माधव नेपाल यता आउनु भएको हो,’ एकीकृत समाजवादीका नेता भन्छन्, ‘प्रधानमन्त्री छोडेर यता आएपछि पावर सेयरिङ गर्नैप¥यो। त्यसमा उहाँहरू (ओली–प्रचण्ड) लचक हुनुहुन्छ।’

नेताहरूका अनुसार अबका ४ वर्षभित्रमा माधव नेपालले पनि प्रधानमन्त्रीको पालो पाउने गरी तीन नेताबीच भित्री समझदारी बनेको छ। तर, ठ्याक्कै कति समय भन्ने प्रस्ट भइनसकेको नेताहरू बताउँछन्। 

शनिबार बसेरा होटलमा ओली र नेपालबीच झण्डै तीन घण्टा छलफल भएको थियो। यद्यपि, गठबन्धनका मुख्य घटक बैठक बसेर थप छलफल गर्ने समझदारी गरेर उनीहरू उठे। 

छलफलमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले शीर्ष तहमा रहेको अविश्वास चिरेर सहकार्य गरेर जाने आधार खोजी भएको बताए।

उनले भने, ‘हिजो (शनिबार) बसेर मुलुकको राजनीतिक स्थिति र राष्ट्रहितको बारेमा समीक्षा भयो। कसरी सहकार्य गरेर जाने भनेर पनि कुरा भयो।’

गठबन्धनका पाँचै जनाको हस्ताक्षर चलाउने
फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षले आठ बुँदे सहमतिमा गठबन्धनका तर्फबाट हस्ताक्षर गरेका छन्। 

एकीकृत समाजवादी पनि सरकारमा सहभागी भइसकेकाले अब गठबन्धनमा आबद्ध दलको संख्या पाँच पुगेको छ। अब भने पाँचै दलको सहमति हस्ताक्षर हुनेछ। 

प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन र सहरी विकास मन्त्रालय पाएको छ। 

‘अब गठबन्धनमा पाँचै शीर्ष नेताको हस्ताक्षर गर्ने कुरा भएको छ,’ उपाध्यक्ष हमालले भने, ‘न्यूनतम साझा कार्यक्रम बनाउने गृहकार्य भइरहेको छ। अब पाँचवटा दल नै मिलेर हुन्छ।’

‘आवश्यक भयो भने अस्ति (फागुन २१ गते) भएको सहमतिमा पाँचै दलको हस्ताक्षरमा फेरि आउँछ,’ उनले थपे।

एकताको मार्गचित्र
एमाले अध्यक्ष ओलीको मुख्य योजना एकीकृत समाजवादीसँग एकता गर्नेमा छ। जसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा एमालेलाई पहिलो दल बनाउने उनको योजना पूरा हुनेछ। 

प्रतिनिधि सभा र राष्ट्रिय सभा मात्र होइन, प्रदेश सभामा समेत धेरै ठाउँमा पहिलो दल बन्ने योजना बनाइरहेका ओलीका लागि माधव नेपालसँग एकता महत्वपूर्ण छ। ओलीले यो गठबन्धनमा माधव नेपाललाई पनि ल्याएर त्यसका लागि ढोका खोलेका छन्। 

माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा निरन्तरता दिँदै नयाँ गठबन्धन बनाउन सफल भएका उनको ध्यान एकीकृत समाजवादीतिर छ। त्यही भएर माधव नेपालको नाम लिएपछि पनि ‘मुख कुल्ला गर्छु’ भन्ने अभिव्यक्ति दिएका उनी पछिल्ला दिन निरन्तर भेट्न धाइरहेका छन्।

बसेरा होटलको बसाइ एकताको मार्गचित्र कोर्ने ओलीको योजनाअन्तर्गत नै भएको हो, जहाँ अहिलेको सहकार्यबाट विश्वास आर्जन गर्दै अन्ततः एकतातर्फ जाने समझदारी बनेको छ।

त्यसमा ओलीले साक्षी राखेका छन् उपाध्यक्ष पौडेल र महासचिव पोखरेललाई।

उपाध्यक्ष हमालले भने कम्युनिस्ट आन्दोलन र वामपन्थी आन्दोलनका बारेमा समीक्षा भए पनि पार्टी एकताको बारेमा अहिले विषय प्रवेश नगरेको दाबी गरे।

फागुन २२ मा माधव नेपाल निवास कोटेश्वर पुग्दा पनि ओलीले यी दुवै नेता सँगै लगेका थिए। त्यस भेटमा ओली–नेपालले गहभरि आँसु पारेका थिए। प्रचण्डलाई एउटा कोठामा छोडेर उनीहरू दुवै छुट्टै कोठामा गएर केहीबेर छलफल गरेका थिए। 

ओली–नेपाल भेटप्रति टिप्पणी गर्दै एकीकृत समाजवादीका ‘सम्मानित’ नेता झलनाथ खनालले सुरुमा वैचारिक एकता गरेर मात्र सांगठनिक एकतासम्म पुग्न सकिने तर अहिले त्यहाँ पुग्ने सम्भावना नरहेको बताए। 

‘अहिले एमालेसँग हुने भनेको कार्यगत एकता हो,’ खनालले भने, ‘तत्कालचाहिँ माधव र केपीले वक्तव्य नै जारी गरे पनि एकता सम्भव छैन।’

अहिले आफ्नो पार्टी महाधिवेशनमा केन्द्रित रहेकाले त्यहाँबाट नीति र कार्यक्रम पारित गरेर वाम घटकबीच कार्यगत एकता गर्ने माहोल बनाउने उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .