ad ad

राजनीति


जस्केलाबाट राष्ट्रिय सभा छिरेका नारायण दाहाललाई बकसमा अध्यक्ष पद

जस्केलाबाट राष्ट्रिय सभा छिरेका नारायण दाहाललाई बकसमा अध्यक्ष पद

सागर न्यौपाने
फागुन २८, २०८० सोमबार २०:८, काठमाडौँ

राष्ट्रिय सभामा ५६ जना प्रत्यक्ष चुनावबाट निर्वाचित हुन्छन्। बाँकी तीन जनालाई विज्ञका रुपमा राष्ट्रिय सभामा लैजाने व्यवस्था छ।

नीति निर्माण गर्ने थलो भएकोले सभामा विभिन्न क्षेत्रका विज्ञलाई सामेल गर्नुपर्ने सुझाव अनुसार सो कोटा राखिएको हो।

तर, २०७८ चैत २५ गते राष्ट्रिय सभामा रिक्त विज्ञ कोटाबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायण दाहाल मनोनित भए। अधिवक्ता रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि फागुन २० गतेदेखि रिक्त भएको पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई ६ वर्षका लागि नियुक्त गरेकी थिइन्। 

बीएड उत्तीर्ण गरे पनि उनले कुनै खास विषयमा विशेषज्ञता हासिल गरेका छैनन्। खाली अध्यक्ष प्रचण्डका भाइ भएकैले जस्केलाबाट उनलाई राष्ट्रिय सभामा छिराइएको भन्दै माओवादी नेताहरुले उतिबेलै असन्तुष्टि जनाएका थिए।

उनै नारायण दाहाल अहिले एमाले–माओवादी–रास्वपा–जसपा गठबन्धनका तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनेका छन्।

उनलाई विज्ञका रुपमा राष्ट्रिय सभामा लैजाने कांग्रेस–माओवादीलगायतको  गठबन्धन भने टुटिसकेको छ।

फागुन २७ मा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष उम्मेदवारमा नारायण दाहाललाई अघि सार्ने निर्णय गरेको हो।  

राष्ट्रिय सभामा १८ सांसद रहेको माओवादी पहिलो दल हो। एमाले १० र नेकपा एकीकृत समाजवादीका ८ सांसद छन्। यस्तै, जसपाको ३ जना छन्। गठबन्धनमा कुनै नाटकीय परिवर्तन नभए उनी राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित छ।

उनलाई उम्मेदवार बनाउने निर्णयपछि माओवादीका नेताहरुले सामाजिक सञ्जालमा निराशा पोखिरहेका छन्। प्रचण्डमाथि ‘परिवारवाद’को आरोप लगाइरहेका छन्। कतिपयले प्रचण्डले ‘अन्तिम भोज’ खाएको समेत आरोप लगाइरहेका छन्।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले भने नारायण दाहालले जनयुद्धमा गरेको योगदानलाई सम्मान गरिएको बताए। 

‘सबै हिसाबले त्याग गर्नुभएको, पार्टीमा योगदान गर्नुभएको नेता उहाँ पनि हो,’ महराले भने, ‘साथीहरुले उहाँको नाम प्रस्ताव गर्नुभयो अनि पास भयो।’

सचिव चन्द्रप्रकाश खनालले झक्कु सुवेदी र हालकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याललाई अध्यक्ष बनाउने प्रस्ताव आएको बताए।

‘तर, अन्तिममा नारायणजीलाई बनाउन त भनेर प्रस्ताव आयो अनि पास भयो,’ उनले भने।

एक पदाधिकारीका अनुसार प्रचण्ड आफैले नारायण दाहाललाई बनाउने गरी नाम प्रस्ताव गरेका थिए।

‘उहाँले तीन जनाको नाम प्रस्ताव गर्नुभयो जसमा अलि प्राथमिकता र इम्फासिस नारायणजीमा थियो,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘प्रचण्डको संकेत बुझेर वरिष्ठ र उपाध्यक्षहरुले नारायण दाहालको नाम प्रस्ताव गर्न थाल्नुभयो। अनि निर्णय गर्ने माहोल बन्यो।

केही पदाधिकारीले ६ वर्षे अवधि भएका झक्कु सुवेदी वा रेणु चन्द उठाउन सुझाव दिए पनि प्रचण्डले नमानेको ती पदाधिकारीले बताए। 

पार्टीमै विरोध
अध्यक्षको उम्मेदवार मनोनयन गरेपछि नारायण दाहालले प्रचण्डको भाइ मात्र भनिएकोमा असन्तुष्टि जनाए।
 
‘यी कुरा सुन्दासुन्दा मेरा कान पाकिसके। मुख थाकिसक्यो। अहिले होइन, अन्तरिम व्यवस्थापिकामा जब म प्रवेश गरेँ, त्यो बेलादेखि नै यस्तो सुन्दै आएको छु। पार्टीको सामान्य जिम्मेवारी प्रदेशको सहइन्चार्जको रूपमा जाँदा पनि त्यसखालको आरोप व्यहोर्नुप¥यो,’ उनले गुनासो गरे, ‘मलाई ताज्जुब लाग्छ। अहिले दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्ने हो भने दाइ युद्धमा हिँडेको छ, तँ हिँड्न पाउँदैनस् किन नभनेको? अहिले पाउँदैनस् भन्नेले दाइ युद्धमा हिँडेको छ तँ किन हिँडेको? मिल्दैन भनेर कसैले किन भनेनन्?’ 

पार्टीका नेताहरुले उनले अवसर नपाएको भन्दै बचाउ गरे पनि दाहालले सधैँ प्रचण्डको साथ पाएको देखिन्छ।

होलटाइमर भएलगत्तै भारतमा
नेकपा चौथो महाधिवेशन (चौम) मा आवद्ध प्रचण्ड २०३६ जेठतिर होलटाइमर बनेर भूमिगत बने। एकै ठाउँ चितवन शिवनगर गाविसमा रहेका भाइ नारायण दाहाल पनि प्रचण्डसँगै होलटाइमर भए।

प्रचण्ड र नारायणका हजुरबुबा सहोदर दाजुभाइ हुन्।

प्रचण्डका बुबा र नारायणका बुबा कास्कीको ढिकुपोखरीबाट एकैदिन २०१९ सालमा पाँच कठ्ठा जमिन किनेर चितवन बसाइँ सरेका थिए।

विद्यार्थी राजनीति गरिरहेका प्रचण्डभन्दा एक वर्ष कान्छा (जन्म ः २०१२ चैत २४) नारायणलाई होलटाइमर बनाउने व्यक्ति थिए–तत्कालीन नेकपा चौमका नेता मोहनविक्रम सिंह।

पूर्णकालीन राजनीतिमा लागेका दाजुभाइ नै भारतको गोरखपुर पुगे। दुई महिना बसेपछि प्रचण्ड फर्किए तर, नारायण भने गोरखपुरमै बसे। त्यहीँ उनले प्रवास कमिटीमा काम गर्न थालेको नारायणका सहोदर भाइ नन्दलाल दाहालले नेपालखबरसँग बताए। 

‘प्रचण्ड दाइ र नारायण दाइ एकैदिन होलटाइमर बनेको घोषणा गरेर घरबाट निस्कनुभयो,’ नन्दलालले भने, ‘मोहनविक्रम सिंह आएर सुरुमा भारतको गोरखपुर लग्नुभयो। गोरखपुर हुँदै उहाँ उतै अखिल भारत नेपाली एकता समाजमा जोडिनुभयो र काम गर्नथाल्नुभयो। प्रवासमा ०३६ सालदेखि ०६१ सम्म २४ वर्ष बस्नुभयो।’

२०५१ साल फागुन १ देखि माओवादीले प्रचण्ड नेतृत्वमा जनयुद्ध थाल्यो। 

नारायणको जिम्मेवारी पनि बढ्यो। उनी अखिल भारतीय नेपाली एकता समाजको अध्यक्ष बने। 

नन्दलाल भन्छन्, ‘१० वर्ष त उहाँले प्रवासमै अध्यक्ष बनेर काम गनुभयो।’ 

नेपालमा जनयुद्ध चर्किंदै जाँदा र ठुल्ठूला फौजी आक्रमण हुँदा नारायण भने भारतमै बसे।

२०६१ सालमा नेपाल आएका उनी केही समय जनमुक्ति सेनामा कमिसारको जिम्मेवारीपछि र जाजरकोट–दैलेख इन्चार्ज बने। 

‘जनमुक्ति सेना त सबै बन्नैपर्थ्यो। सेना नै संगठक हुन्थ्यो। पेसेबर सेना होइन, सेनाको कमिसार भएर काम गर्नुभयो,’ भाइ नन्दलालले भने, ‘विद्यार्थीबाट राजनीति थाल्नुभएको उहाँ इलाका, जिल्ला, क्षेत्र हुँदै केन्द्र पुग्नुभयो। २०५७ सालमा केन्द्रीय सदस्य बन्नुभयो।’ 

माओवादी शान्ति प्रक्रियामा आएपछि नारायणमाथि प्रचण्डको सद्भाव सधैँ रह्यो। पहिलो संविधान सभा चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट उनले टिकट पाए र जिते।

दोस्रो संविधान सभा चुनाव (२०७०) मा नारायण पराजित भए। तैपनि प्रचण्डले उनलाई जिम्मेवारी दिन छोडेनन्। २०७३ कात्तिक ११ मा प्रधानमन्त्री रहेका बेला प्रचण्डले उनलाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरे।

२०७५ मा एमाले–माओवादी एकता भएपछि बनेको नेकपामा नारायणलाई प्रदेश नम्बर ३ को अध्यक्ष बनाउने निर्णय भयो। त्यसको पनि कार्यकर्ताले आलोचना गरेका थिए। 

प्रचण्डका छोरा प्रकाश दाहालको मृत्यु भएपछि नारायण दाहाल झन् निकट बने।

अहिले उनी माओवादीको स्थायी समिति सदस्य छन्। 

प्रचण्ड–नारायण सम्बन्ध
प्रचण्ड–नारायणका हजुरबुबाहरु दाजुभाइ हुन्। त्यस आधारमा उनी एकै घरका परिवारका हुन्। 

त्यति मात्र होइन, प्रचण्ड र नारायण दाहालका आमाहरु पनि दिदीबहिनी हुन्। 

‘हाम्रो आमाहरु पनि दिदीबहिनी हुन्। बुबाहरुपनि दाजुभाइ,’ नन्दलालले भने। 

२०३० सालमा एसएलसी पास गरेका उनले गाउँकै स्कुलमा दुई महिना पढाए। २०३१÷०३२ चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईएड गरे।

२०३३ सालतिर भक्तपुरको सानोठिमीबाट बीएड उत्तीर्ण गरेका छन्। २०३६ मा चितवन फर्किएलगत्तै उनी होलटाइमर भए।

लामो समय भूमिगत भएपनि उनी जेल पर्नबाट जोगिए। जनयुद्धकै क्रममा सरकारले उनको टाउकोको मूल्य ३० लाख रुपैयाँ तोकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .