राजनीति


प्रचण्डले भनेको ओलीसँग ‘हायर लेभल’को ‘युनिटी’ के हो?

प्रचण्डले भनेको ओलीसँग ‘हायर लेभल’को ‘युनिटी’ के हो?

सागर न्यौपाने
फागुन ३०, २०८० बुधबार २१:२९, काठमाडौँ

बुधबार (फागुन ३०) प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘हायर लेबलको युनिटी’ (पहिलाभन्दा उच्चस्तरको एकता) भएको दाबी गरे।

एमाले र कांग्रेसबीच कुनै पनि बेला गठबन्धन हुन सक्ने सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको आशंका र चेतावनीबीच प्रधानमन्त्री प्रचण्डले निकै सोचविचार गरेर सत्ता समीकरण फेर्ने निर्णय लिएको बताए। 

विश्वासको मत दिँदा सत्तापक्षकै सांसदहरू नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादव लगायतका अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका प्रचण्डले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले धोका पाएकाहरू मिले के गर्नुहुन्छ भन्ने प्रश्न सोधेपछि प्रचण्डले यो जवाफ दिएका हुन्। 

प्रचण्डले २०७४ को एमाले–माओवादी सहकार्य र २०७७ को टुटफुट पनि स्मरण गरे। 

‘उच्च लेबलको युनिटी भएको छ, अनुभवसहित,’ प्रचण्डले भने, ‘हामी सबै मिलेर संविधानको रक्षामा, राष्ट्रको बृहत्तर हितमा।’ 
२०७९ पुस १० मा एमालेले प्रधानमन्त्री बनाएको बताउँदै त्यो गठबन्धन टुट्नुको कारण पनि खोले।

‘पहिला मलाई एमालेले नै प्रधानमन्त्री बनाएको हो, तर बीचमा निषेध भयो र कांग्रेससहितको गठबन्धन बन्यो,’ प्रचण्डले थपे, ‘अहिले फेरि त्यो निषेध भएर एमालेकै गठबन्धन बनेको छ। यसलाई मैले हायर लेभलको युनिटी भएको ठानेको छु।’

कांग्रेससहितको ७ दलीय गठबन्धन टुटाएर फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ गठबन्धन बनाएका प्रचण्डलाई सत्ता जोगाउन निकै कठिन पर्ने विश्लेषण भइरहेका छ। ‘एमालेसँग मिले पनि प्रचण्डले काम गर्न नसक्ने’ नेताहरू नै बताउँछन्। 

तर, प्रचण्डले फेरि एकपटक जोखिम मोलेको घोषणा गरे। 

‘मैले अहिले धेरै भन्न आवश्यक ठानेको छैन। मैले विचार नगनीकन यो निर्णय गरेको होइन,’ उनले भने, ‘मलाई थाहा छ, धेरै जोखिम छ ममाथि। मेरो दलमाथि धेरै खालका जोखिम छन् भन्ने थाहा पाएरै यो कदम चालेँ। गठबन्धन बनेको ४८ घण्टामा केके भए, मैले देखेँ, भोगेँ। अझै केके हुँदै जान्छन् भन्ने कुराको अनुमान पनि छ मलाई। त्यसका लागि तयार भएर नै यो कदम चालेको हो।’

फागुन ३० गते विश्वासको मत माग्न रोस्ट्रममा उभिएका प्रचण्डले एमाले–कांग्रेस मिल्न सक्ने कुरातिर संकेत गर्दै भने– ‘यो गठबन्धन आवेगमा आएर पनि होइन, कसैलाई सरप्राइज दिने उद्देश्यले पनि होइन, सोचीविचारेर यो राष्ट्रको हित कसरी होला? जनताको आशा, अपेक्षा, विकास समृद्धिको सुशासनको जो छ, त्यसलाई अधिकतम सम्बोधन कसरी गर्न सकिएला भन्ने उद्देश्यमा धेर सोचविचार गरेर नै लिइएको फैसला हो।’

एमाले–माओवादीबीच उच्च तहमा जुटेको दुवै पार्टीका नेताहरू स्वीकार गर्छन्।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछि नहट्ने गरी सहमति जुटेको ठोकुवा गरे।  

‘यसअघि तैरिएर सहयात्रा गरियो तर अहिले एकदम गहिराइमा पुगेर गरेका छौँ,’ बर्तौलाले नेपालखबरसँग भने, ‘अब यसबाट फिर्ता नहुने गरी गरिएको सहयात्रा हो।’

एमाले अध्यक्ष ओलीका विश्वासपात्र बर्ताैलाले शीर्ष तहमा जुटेको सहमतिबारे जानकार रहेको दाबी गरे। 

‘यो सहयात्रा एकतामा रुपान्तरण गर्ने, मजबुत बनाउने हो। अब कसैले सानातिना ढुंगा हानेर यो बिच्किने अवस्था छैन,’ उनले थपे, ‘वास्तविकता त्यही हो। शत प्रतिशत उच्चस्तरको समझदारी हो। अब हामी त्यही बुझाइका आधारबाट अघि बढ्छौं। फर्गेट एस्टर्डे, गो अहेड (विगत बिर्सेर अघि बढ)को प्रिन्सिपलमा हो यो।’

तर, एमाले अध्यक्ष ओलीले कुनै पनि बेला धोका दिन सक्ने भय माओवादीमा छ।

मिसन ०८४ हेरिरहेका एमाले अध्यक्ष ओलीले त्यसको तयारीका लागि अहिलेको गठबन्धन बनाएको नेताहरूको बुझाइ छ।
ओलीको तत्कालको लक्ष्य एकीकृत समाजवादीलाई एकता प्रक्रियामा ल्याउनु हो। संसदको सबैभन्दा ठूलो दल बनेपछि ओलीले नयाँ रणनीतिक चाल चल्ने नेताहरूको भनाइ छ।

त्यसका लागि ओलीले रास्वपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीलाई आफ्नो विश्वासमा लिने वातावरण बनाउन सक्छन्। 
तर, फागुन २१ मा नयाँ गठबन्धन बनाउँदा ओलीले निकै होसियारी अपनाएका छन्। 

आगामी दिनका जोखिम देखेर उनी तत्काल माओवादीलाई बिच्क्याउन पक्षमा छैनन्।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले पनि तीन पार्टीबीच सहकार्यको वातावरण बनेको दाबी गरे।

‘मिलेर जाने, सहकार्य गर्ने कुरामा समझदारी जुटिसकेको छ,’ हमालले भने, ‘एकताकै विषयमा कुरा भइसकेको छैन। निरन्तरको छलफलले त्यो दिशामा लैजान पनि सक्छ।’ 

एमालेसँग उच्च तहमा सहमति जुटे पनि टिकाउ हुने कुरामा माओवादीका नेताहरू विश्वस्त छैनन्।

यसअघि पनि मिलेकै हो, अघिल्लो वर्ष पुस १० मा प्रधानमन्त्री बन्दा २ महिनामै उहाँ एमालेको व्यवहारले वाक्क भइसक्नुभएको थियो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘यदि एमालेले ०७९ को पराजयबाट पाठ सिकेको हो भने वामपन्थी एकै ठाउँ उभिने वातावरण बन्दै जान सक्छ।’

त्यसो त ओलीनिकटकै केही एमालेका नेता पनि माओवादीसँग मिलेर गएको राम्रो मानिरहेका छैनन्।

तर, आगामी चुनावमा पहिलो पार्टी बनाउने र बहुमत नै ल्याउने महत्त्वाकांक्षाका कारण ओली माओवादी र एकीकृत समाजवादीको साथ लिनैपर्ने दबाबमा छन्।

त्यही भएर पनि उनी यसपटक प्रचण्डलाई निर्बाध काम गर्न दिने भन्दै शक्ति बाँडफाँटमा पर्याप्त उदारता देखाएको छन्। ६ वर्षअघि हतारमा एकता गरेर पछुताएका एमाले–माओवादी फेरि एक बन्न सत्तायात्राबाट कोसिस गरिरहेका छन्। विच्छेदको घाउले माओवादी र एमाले नेतृत्वमा पर्याप्त पीडाबोध गराएको छ।

कांग्रेससँगको तिक्ततापूर्ण सहकार्यको पछिल्लो अध्यायले प्रचण्डलाई अहिलेको भन्दा बढी ०८४ पछिको सम्भावित परिस्थितिले पिरोलेको छ।

माओवादीका अर्का पदाधिकारीले भने, ‘एमालेले यो उदारतापूर्ण सहकार्यलाई कहिलेसम्म थेग्छ, हेर्न बाँकी छ।’ 

हुन पनि सहकार्य टिकाउने वा भत्काउने भन्नेमा एमालेकै हात ज्यादा छ। माओवादीका विकल्प सीमित हुँदै गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .