ad ad

राजनीति


राजनीतिमा सुहाङको ‘डेब्यु’

राजनीतिमा सुहाङको ‘डेब्यु’

एमालेले उम्मेदवार बनाएसँगै सुहाङ नेम्वाङले राजनीतिमा ‘डेब्यु’ गरेका छन्


सागर न्यौपाने
चैत ११, २०८० आइतबार १४:५९, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार बनाएसँगै सुहाङ नेम्वाङले राजनीतिमा ‘डेब्यु’ गरेका छन्। 

एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्बाङका कान्छा छोरा सुहाङ बुवाकै निर्वाचन क्षेत्रमा उठ्दै छन्।

सुवास नेम्वाङको निधन भएपछि भदौ २५ गतेदेखि रिक्त इलाम–२ मा सुहाङलाई उठाउने निर्णय एमालेले गरेको छ।  

सुहाङ अधिवक्ता पनि हुन्। बुवाकै प्रेरणाले वकालती पेसा अपनाएका उनी वैशाख १५ गते तय भएको उपनिर्वाचनमा बुवाकै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने भएका हुन्।

आइतबार (चैत्र ११) गते बसेको एमालेको सचिवालय बैठकले उनलाई उठाउने निर्णय गरेको हो।

यसअघि फुटबल क्लब र आफ्नै ल फर्म चलाइसकेका सुहाङ बुवा सुवास नेम्बाङको पदचाप पछ्याउँदै राजनीतिमा पाइला राख्न पुगेका छन्।

सुहाङमा बुवा सुवासको जस्तै धेरै स्वभाव मिल्छन्। सुहाङ नम्र शैलीमा बोल्छन्। सकभर मानिसको मन नदुःखाउने उनको स्वभाव छ।

बुवाको निधनपछि सुहाङले पार्टी र समुदायसँग सम्पर्क र सम्बन्ध बढाएका थिए। 

त्यसो त उपचुनावका लागि इलाम–२ बाट ६ जनाको नाम सिफारिस भएको थियो। तर, सुहाङले नै टिकट पाउँछन् भन्नेमा एमाले पंक्तिले अनुमान गरिसकेको थियो। किनकि, प्रभावशाली बुवाको निर्वाचन क्षेत्रमा एमालेले ‘हेभिवेट’ नेताका रूपमा सुहाङलाई उठाएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

‘हाम्रो उम्मेदवार योग्य पनि हुनुहुन्छ। धेरै हिसाबले डिजर्भ गर्नुहुन्छ,’ ज्ञवालीले भने, ‘सहयोग गर्नुस् भन्ने हाम्रो अपिल हुन्छ। त्यसो नहुँदा कतिपय विषयमा मित्रवत प्रतिस्पर्धा पनि हुन सक्छ।’

बुवाले निरन्तर ५ पटक जितिसकेको निर्वाचन क्षेत्रबाट छोरा सुहाङ ३५ वर्षको उमेरमा लड्दै छन्। एमालेले नयाँ र युवा अनुहारको प्रतिनिधिका रूपमा पनि सुहाङलाई अघि सारेको देखिन्छ। 

सुहाङले टिकट पाएसँगै अन्य नयाँ दल तथा उम्मेदवारले पुरानाविरुद्ध उम्मेदवारी दिएको भन्न पाउने छैनन्। 

सफल रणनीतिले दिलाएको अवसर 
डेब्यु भए पनि सुहाङले राजनीतिमा आउन सक्ने संकेत भने यसअघि नै गरिसकेका थिए। चुनावलक्षित केही रणनीतिसमेत बनाइसकेका थिए।

राजनीतिकर्मी हुने हो भने व्यवसाय गर्नुपर्ने उनको सोच थियो। उनकै भनाइमा वकालती पेसा र फुटबल क्लब स्थापना नै राजनीतिमा प्रवेशको ढोका थियो।  

‘अहिलेको अवस्थामा ९–५ को जागिरले मात्रै पुग्दैन, राजनीति गर्नेहरूले पनि व्यवसाय गर्नुपर्छ, व्यावसायिक रूपमा अब्बल भइयो भने पैसाको खडेरी पर्दैन’, सुहाङले भने, ‘सामाजिक काममा पनि लाग्न सकिन्छ कि भन्ने कुरालाई सम्झिएर व्यावसायिक रूपमा अघि बढ्न ‘स्पोर्टिङ इलाम फुटबल क्लब’ र ‘कान्तिपुर ल असोसिएट्स एन्ड रिसर्च सेन्टर’ ल फर्म खोलेँ।’

त्यति मात्र होइन, सुहाङले बुबा सुवासको मृत्यु भएपछि उनैले चलाएको मोबाइल नम्बर प्रयोग गरिरहेका छन्।

इलाम २ का जनताको पीर मर्का सुन्न त्यही नम्बर चलाएको उनले बताए। निर्वाचन क्षेत्रका आम मतदातासँग जोडिन सुहाङले लिएको यो अर्काे रणनीति हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सुवासकै नम्बरमा फोन गरेर सुहाङसँग कुरा गर्छन्।

कठिन यात्रा, सुवासको प्रेरणा 
सुवासचन्द्र नेम्बाङले छोरा सुहाङलाई एमालेले राजनीतिमा ल्याउने सम्भावना भएको पहिले नै बताइसकेका थिए।

‘अब आउने युवा पुस्ताले नै देश बनाउनुपर्छ भनेर बुवा भन्नुहुन्थ्यो,’ सुहाङले नेपालखबरसँगको कुराकानीमा भने, ‘तिमी जेसुकै भन, तिमीलाई मेरा साथीभाइले बुझाएर राजनीतिमा ल्याउँछन्।’

त्यसकारण राजनीतिसँग केही न केही हिसाबले जोडिएको सुहाङ बताउँछन्। अब पूर्णकालीन राजनीतिमा होमिने बिन्दुमा उनी पुगेका छन्।

‘अब केही दिनमै निर्वाचन क्षेत्रमा जान्छु’, उनले भने, ‘पार्टीले बुवाको सम्मान गरेको महसुस गरेको छु। सकारात्मक एजेन्डा बोकेर निर्वाचन क्षेत्रका मतदातामाझ आउँछु।’

निर्वाचन क्षेत्रमा बुवाको प्रभाव कायम राख्ने उनी बताउँछन्।

हुन त जुनसुकै पहिलो काम गर्न सजिलो छैन। त्यसमा पनि नेपाली राजनीतिको यात्रा सहज छैन। पछिल्ला दिन नेपालीहरू पुराना राजनीतिक दलप्रति असन्तुष्ट छन्।

ठीक यही अप्ठेरो समयमा सुहाङलाई एमालेले चुनावी मैदानमा उतारेको छ। उनको पहिलो यात्रा सिंहदरबार प्रवेशका लागि हुँदै छ।

उनले नयाँ र स्वतन्त्र भनिएका उम्मेदवारसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ।

सुवासले जितिरहेको क्षेत्रमा सुहाङको परीक्षा
२०५६ सालदेखि बुवा सुवास नेम्बाङले जितिरहेको क्षेत्र हो, इलाम–२।

२०५६ सालको आमचुनाव, ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभाको चुनाव, २०७४ को आमचुनाव हुँदै २०७९ मंसिरको आमचुनाव पनि सुवासले निरन्तर जितेका थिए। 

२४ वर्षदेखिको प्रभाव र पकड कायम राख्नुपर्ने जिम्मेवारी सुहाङको काँधमा आएको छ। 

निर्वाचन क्षेत्रमा सुहाङ पटकपटक घुमिसकेका छन्। त्यहाँको वस्तुसिथ्ति पनि सरसर्ती अध्ययन गरिसकेका छन्।

तर, उनका लागि मुख्य चुनौती भनेको बुबा (सुवास)को र एमालेको विरासत जोगाउनु हो। राजनीतिक पारिवारिक पृष्ठभूमिका कारण उनका लागि अनौठो नभए पनि चुनावी प्रतिस्पर्धा पहिलोपटक गर्दै छन्।

डेब्यु खेलमा रवाफ छोड्न सक्यो भने पछिसम्म टिक्न सकिन्छ। हुन त सुहाङ आफैँ पनि पार्टीले दिएको अवसरलाई चुनौतीका रूपमा लिन्छन्। 

‘पार्टीले टिकट दिइरहँदा अध्यक्षलाई सम्झिएको छु, इलामका दाजुभाइ, दिदीबहिनी, आमाबुबाले विश्वास गर्नुभयो’, उनले भने, ‘नयाँ यात्रा चुनौतीपूर्ण पक्कै छ। तर यसले अवसरको ढोका पनि खोलेको छ।’

उनले बुवाको क्षेत्रमा न्याय गर्ने प्रतिबद्धता व्यक्त गरे। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .