ad ad

राजनीति


गृहमन्त्री लामिछानेले भारतीय राजदूतसँग भने : तरकारीको विषादी परीक्षण गर्ने संयन्त्र बढाऔंँ

गृहमन्त्री लामिछानेले भारतीय राजदूतसँग भने : तरकारीको विषादी परीक्षण गर्ने संयन्त्र बढाऔंँ

नेपालखबर
चैत १३, २०८० मंगलबार १८:१७, काठमाडौँ

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने संयन्त्र बढाउन भारतसँग आग्रह गरेका छन्।

मंगलबार गृहमन्त्रालयमा शिष्टाचार भेट गर्न पुगेका भारतीय राजदूत नविन श्रीवास्तवसँग गृहमन्त्री लामिछानेले यस्तो आग्रह गरेका हुन्।  

उनले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनु पर्ने र भएकालाई स्तारोन्नतिसहित नियमित र विश्वासिलो बनाउनु पर्नेमा जोड दिएको गृहमन्त्रालयले जनाएको छ।

सो भेटमा ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, वृहत र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको बताइएको छ।

यस्तै, खुला सीमाबीच पनि दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेकोमा दुवै पक्ष सहमत भएका छन्। राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान गर्ने राजदूत श्रीवास्तवले प्रतिबद्धता जनाए।

राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको राजदूतको भनाई थियो।

यसैगरी छलफलका क्रममा दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदान–प्रदानमा थप समन्वय, सहमतिका लागि प्रस्तावित क्षेत्र र विषयमा तत्काल छलफल गरिने तथा जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने गृहमन्त्रीले बताए।

राजदूत श्रीवास्तवले सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढीकरण तथा आतंकवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन भारत इच्छुक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .