ad ad

राजनीति


शंकर पोखरेल भन्छन् : अब काम नगर्नेले एमालेको नेता हुँ भन्न पाउँदैन

औसत मत ल्याउन नसक्नेले संविधानलाई दोष दिन नमिल्ने तर्क
शंकर पोखरेल भन्छन् : अब काम नगर्नेले एमालेको नेता हुँ भन्न पाउँदैन

नेपालखबर
चैत १३, २०८० मंगलबार १९:११, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन प्रणालीलाई देखाएर निराशा प्रकट गर्ने बेला अहिले नभएको बताएका छन्। 

एमाले बागमती प्रदेश कमिटीको पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव पोखरेलले संसदीय राजनीतिमा लोकप्रिय पार्टीले कम्तीमा पनि ४० प्रतिशत मत ल्याउनुपर्ने अन्ताराष्ट्रिय मान्यता रहेको बताए। 

त्यति मत ल्याउँदा पनि बहुमत पुगेन भने मात्रै संविधानलाई दोष दिन मिल्ने उनको भनाइ छ। 

‘संसदीय लोकतन्त्रमा लोकप्रिय राजनीतिक दलले जति मत प्राप्त गर्दछन्, त्यति मत प्राप्त गर्दा पनि बहुमत आउन सकेन भने संविधानलाई खोट लगाउन सकिन्छ, संसदीय लोकतन्त्रको औसत मत पनि ल्याउन नसक्ने अनि संविधानलाई दोष दिन मिल्दछ?’, उनले प्रश्न गरे। 

पार्टीको रक्षा गर्ने कुरामा नेकपा एमाले सफल भएको भए पनि राष्ट्र प्रतिको दायित्व पूरा गर्ने सन्दर्भमा अझ धेरै मिहिनेत गर्नुपर्ने उनले बताए। 

पोखरेलले अहिले एमाले जुन ठाउँमा छ, त्यो ठाउँबाट राष्ट्रिय दायित्व पूरा गर्न नसक्ने बताए। ‘राष्ट्रिय दायित्वका दृष्टिकोणले हामी जुन ठाउँमा छौँ, त्यो अवस्थाबाट राष्ट्रको दायित्व पूरा गर्न सकिँदैन’, उनले भने। 

बैठकमा बोल्दै पोखरेलले पार्टी राजनीतिमा सबैभन्दा धेरै मिहिनेत बागमती प्रदेशले गर्नुपर्ने बताए।

राष्ट्रिय दायित्व र चुनौतीको हिसाबले सबैभन्दा बढी दायित्व बागमती प्रदेश कमिटीको काँधमा रहेको उनले प्रष्ट पारे। बागमती प्रदेशमा २०७९ को चुनावमा पार्टीलाई ठूलो क्षति भएकोले त्यसलाई उकास्न पार्टीले काम गर्नुपर्नेमा उनले जोड दिए। 

आन्तरिक रूपमा भएको असमझदारी र मतभेदको कारण एमालेले सोचे जस्तो मत प्राप्त गर्न नसकेको उनले बताए। त्यसलाई ध्यानमा राखेर पार्टी एकतामा ध्यान दिनुपर्ने पोखरेलको धारणा छ। 

मिसन ग्रासरुटले पार्टी भित्रका आन्तरिक समस्या र जनताका अपेक्षालाई उजागर गरेको उनले बताए।

त्यसकै आधारमा पार्टी केन्द्रीय कमिटी बैठकले वार्षिक कार्ययोजना निर्माण गरेको पोखरेलले प्रष्ट पारे। तथापि कार्य योजनाअनुसार काम नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। 

एमालेमा अब काम नगरी नेता बन्न नसक्ने उनले बताए। पोखरेलले अब पार्टीमा नेताहरूलाई काम गरेर देखाउन आग्रह गरे।

एमाले काम गर्नेहरूको पार्टी हो भन्ने कुरा स्थापित गर्नुपर्नेमा उनले जोड दिए।

‘अब कामका आधारमा मूल्याङ्कन गर्ने र मूल्याङ्कनका आधारमा जिम्मेवारी प्रदान गर्ने गरी हाम्रा कमिटीहरू अगाडि बढ्नु पर्दछ’, उनले भने। 

पोखरेलले यतिबेला पार्टीभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै विवाद नभएको स्पष्ट पारे। नीति, नेतृत्व र राजनीतिक मुद्दाका हिसाबले पार्टी एकैठाउँमा रहेको उनले बताए।

तथापि स्थानीय र प्रदेश तहमा व्यक्तिगत मतभेदलाई पार्टीभित्रका मतभेदका रूपमा वा समूहबन्दीको रूपमा रूपान्तरण गरेर आफूलाई बलियो देखाउने खोज्ने प्रवृत्ति देखिएको बताउँदै उनले त्यो पार्टीका लागि हानिकारक हुने बताए। 

पार्टीका अधिवेशनमा सहमति भएन भने व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्न पाइन्छ भनेको भए पनि त्यस अनुसार स्वच्छ प्रतिस्पर्धा नभएको उनले बताए।

‘प्रतिस्पर्धा गर्ने नेताले हुल बाँधेरै प्रतिस्पर्धा गर्न खोजिराखेका छन्, त्यसले नीति, नेतृत्व र राजनीतिमा देखिएको एकतालाई खलबल्याइराखेको छ’, पोखरेलले भने। 

नेतृत्वको लागि बनाउने टिम स्वार्थको लागि बनाइएको टिम भएको उनले स्पष्ट पारे। यस्ता कुरालाई प्रोत्साहित गर्नु नहुनेमा पोखरेलले जोड दिए।

अधिवेशनको लागि पाँच दिन पहिले नै प्रतिनिधि चयनको काम सकेर अधिवेशन उद्घाटन गर्नु दुई दिन अघि प्रतिनिधि प्रमाणीकरण गर्नुपर्ने पोखरेलले बताए। 

अधिवेशन पछि जिम्मेवारी प्राप्त गरेको नेतृत्वले एकता र सहकार्यको वातावरण निर्माणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने पोखरेलले बताए।

त्यसो गर्न सक्दा मात्र मिसन २०८४ सफल पार्न सकिने उनको धारणा छ। लोकतान्त्रिक अभ्यासका लागि लोकतान्त्रिक संस्कृति निर्माण गर्नुपर्ने उनले बताए। 

एमालेको अहिलेको मुख्य लक्ष मिसन २०८४ नै भएको पोखरेलले बताए। सरकारमा पुगेको भए पनि एमाले मिसन २०८४ बाट विचलित नभएको उनले प्रष्ट पारे।

‘अहिले गरेको सहकार्य मिसन २०८४ लाई सहयोग पुर्‍याउने गरी नै गरेका छौँ, मिसन २०८४ को हाम्रो उद्देश्यमा हाम्रो कुनै फेरबदल भएको छैन’, पोखरेलले भने। 

अहिलेको सरकारमा वामपन्थी दलहरूको सहकार्य बढी भएको भए पनि वामपन्थी गठबन्धन नभएको उनले प्रष्ट पारे। अहिलेको सत्ता सहकार्य पाँच राजनीतिक दलहरूको सहकार्य भएको पोखरेलले बताए। 

एमालेको नीति समाजवादी मोर्चा बनाउने तर्फ नभई बलियो राजनीतिक शक्ति बनाउनेतर्फ केन्द्रित रहेको उनले बताए।

एमाले राजनीतिक ध्रुवीकरणको माध्यमबाट जाने स्पष्ट नीतिका साथ अघि बढेको उनले स्पष्ट पारे। ‘सहकार्य सँगसँगै हामी वैचारिक राजनीतिक प्रतिस्पर्धा पनि गरिरहेका छौँ’, उनले भने। 

एमालेले अहिले सरकारमा पार्टीको हैसियतअनुसारको जिम्मेवारी नखोजेको उनले बताए। देशलाई सकंटबाट निकाल्न जे जिम्मा पाइन्छ त्यसका माध्यबाट सकारात्मक सन्देश प्रवाह गर्ने सोच एमालेको भएको पोखरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .