ad ad

बागमती


प्रअ र अध्यक्षको कुर्ची रुखमा बाँधेर विरोध प्रदर्शन

प्रअ र अध्यक्षको कुर्ची रुखमा बाँधेर विरोध प्रदर्शन

नेपालखबर
चैत १३, २०८० मंगलबार १९:१७, हेटाैँडा

चितवनको रत्ननगर नगरपालिका २ स्थित नेपाल नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिको अध्यक्षको कुर्ची रुखमुनि बाँधेर विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।

शैक्षिक बेथिति बढेको र उच्च अदालतको फैसला विरुद्ध नयाँ प्रधानाध्यापक नियुक्त गरिएको भन्दै सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले रुखमा कुर्ची बाँधेर विरोध गरेको हो।

नेपाल नमुना माध्यमिक विद्यालयमा भएको चरम राजनीतिक द्वन्द्वले विद्यालयको समग्र शैक्षिक वातावरण धमिलिएको अनेरास्ववियुको आरोप छ।

सो सम्बन्धमा सम्बन्धित पक्षहरूलाई पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि सो कदम चालिएको अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले बताए।

अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाएर दुई व्यक्ति तथा समूहबीच भएको अन्तरद्वन्द्वले विद्यार्थीको अध्ययनलाई निकै नकारात्मक प्रभाव पारेको छ। आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर सर्वसाधारण गरिब निमुखा जनताका छोराछोरी पढ्ने विद्यालयलाई राजनीतिक प्रयोगशाला बनाइनु खेदजनक छ।’

अनेरास्ववियुले भनेको छ, ‘गरिबका छोराछोरी पढ्ने विद्यालयलाई स्वार्थको राजनीति गरी लामो समयदेखि प्रयोगशाला बनाउँदा अनेरास्ववियु चितवन टुलुटुलु रमिता हेरेरमात्र बस्न सक्दैन। सामुदायिक विद्यालय ध्वस्त बनाएर निजी विद्यालयलाई प्रोत्साहन गर्ने गतिविधि भइरहदा आफूलाई शिक्षाप्रेमी भन्न रूचाउने स्वघोषित शैक्षिक ठेकेदारबाट वार्षिक परीक्षाको मुखैमा विद्यार्थीको भविष्य माथि खेलवाड भएको छ।’

स्वार्थ बाझिने गरी आर्थिक एवम् राजनीतिक लाभको आशामा विद्यालय जस्तो संवेदनशील शान्ति क्षेत्रमा प्रधानाध्यापक र नगरपालिका प्रतिनिधिबीचको असामाजिक क्रियाकलापले विद्यालयको गरिमालाई धमिलो बनाएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .