ad ad

राजनीति


सभामुखले बोलाएको बैठकमा कुरा मिलेन, संसद्‍मा तनाव बढ्न सक्ने

सभामुखले बोलाएको बैठकमा कुरा मिलेन, संसद्‍मा तनाव बढ्न सक्ने

तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
चैत २६, २०८० सोमबार १६:६, काठमाडौँ

केही सातादेखि संसद्‍मा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बोलाएको दलहरूको बैठक बिनानिष्कर्ष सकिएको छ।

संसद्का मुख्य दलका शीर्ष नेता, प्रमुख सचेतक र सचेतकहरूलाई सोमबार सिंहदरबारमा बोलाएर राखिएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अडानबाट नहटेपछि कुरा नमिलेको हो।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन गर्न समिति बन्नुपर्ने मागमा दोहोर्‍याएपछि संसद्‍को गतिरोध बढ्ने देखिएको हो। 

लामिछानेलाई सहकारीको बचत अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको छ। त्यही मागसहित कांग्रेसले मन्त्री लामिछानेलाई संसद्‍मा बोल्न दिएको छैन। उसले अब संसद्‍ बैठक पनि अघि बढ्न नदिने चेतावनी दिइरहेको छ। 

यसअघिको संसद्मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने संसद् बैठकमा सरकारले संसदीय समिति बनाउने गरी नआए बैठक चल्न नदिने अल्टिमेटम दिएका थिए।

उक्त माग पूरा नभएपछि गृहमन्त्री लामिछानेलाई रोस्ट्रममा जान पनि रोक लगाउने गरी विरोधमा उत्रिने तयारी कांग्रेसले गरेको छ। 

गृहमन्त्री लामिछानेले मंगलबार राजनीतिक दलसम्बन्धी संशोधित विधेयक संसद्‍मा पेस गर्ने कार्यसूची छ। उक्त बैठकमा अवरोध हुन नदिने गरी सभामुख घिमिरेले संसदका प्रमुख चार दलसँग छलफल गरेका हुन्।

बैठकपछि कांग्रेसका प्रमुख सचेत रमेश लेखकले लाखौँ नेपालीको बचत अपचलन भएको बताउँदै त्यसमा बहालवाला मन्त्रीहरूको संलग्नता रहेकाले जिकिर गरे। 

उनले त्यहीकारण संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा आफूहरू यथावत रहेको बताए। लेखकले जबरजस्ती संसद् अघि बढाइए अवरुद्ध गर्ने बताए।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति नबन्ने अडान लिए। हल्का विषयमा संसदीय छानबिन समिति बनाउँदै जाँदा गलत नजिर स्थापित हुने उनको तर्क छ। उनले कांग्रेसलाई कसैप्रति राजनीतिक पूर्वाग्रह नराख्न भने।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्रीले मंगलबार विधेयक पेस गर्ने कार्यतालिका रहेकाले त्यहीबेला उनले जवाफ दिने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने कांग्रेसले लामिछानेलाई रिसइबी साँध्दै झुटो आरोप लगाएको जनाएको छ। आफूहरू लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने भएकाले कांग्रेसको आरोप नसहने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .