ad ad

समाज


डेढ अर्ब ठगेर ढोरपाटनका मेयर वर्ष दिनदेखि श्रीमतीसहित फरार, रेड नोटिसबाट पनि प्रहरीले पाएन सुइँको

डेढ अर्ब ठगेर ढोरपाटनका मेयर वर्ष दिनदेखि श्रीमतीसहित फरार, रेड नोटिसबाट पनि प्रहरीले पाएन सुइँको

उजिर कार्की
चैत २६, २०८० सोमबार १६:१८, काठमाडौँ

बचतकर्ताको झण्डै डेढ अर्ब रुपैयाँ ठगी गरेर बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख लामो समयदेखि फरार छन्। प्रहरीले मेयर देवकुमार नेपाली र उनकी पत्नी छेला नेपालीविरुद्ध इन्टरपोलमार्फत २४ जनवरी २०२४ (१० माघ २०८०) मा रेड नोटिससमेत जारी गराइसकेको छ।

फरार भएको एक वर्ष हुन लाग्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न भने सकेको छैन। रेड नोटिस जारी गरेकै महिनौँ बितिसक्दा समेत उनीहरू कहाँ छन् भन्ने सुइँको प्रहरीले पाउन सकेको छैन।

मेयर नेपालीका दम्पती विदेश भागेको आशंकामा प्रहरीले रेड नोटिस जारी गराएको थियो। 

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपालीसहितका प्रतिवादीले आफूहरूलाई ठगी गरेको भन्दै १ हजार ५७३ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। 

उनीहरूविरुद्ध २०८० जेठ २३ गते पहिलो पटक मुद्दा दर्ता भएको थियो। त्यसपछि पनि प्रहरीले पूरक जाहेरी पनि दर्ता गराइसकेको छ। अहिलेसम्म उनीहरूविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको बाग्लुङ प्रहरीले जनाएको छ। 

१३ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दायर भएको छ। यीमध्ये ६ जना पक्राउ परेका थिए। अध्यक्ष नेपालीका दम्पतीसहित ७ जना भने फरार छन्। 

पक्राउ पर्नेहरूमा इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढा मगर छन्।

उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ।

के हो मुद्दा? 
बागलुङ नगरपालिका २ स्थित हल्लन चोकमा मुख्य कार्यालय रहेको इमेज सहकारीको बुर्तिबाङ र गलकोटमा सेवा केन्द्र छ। यो सहकारीका अध्यक्ष हुन् ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली। 

उनीसहितका सञ्चालक र कर्मचारीले आकर्षक ब्याजदरको प्रलोभनमा पारेर सुरुमा बचत गर्न लगाएका थिए। तर उनीहरूले बचतकर्ताले जम्मा गरेको रकम मनोमानी नियमकानुन विपरीत खर्च गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो। 

सुरुमा १ हजार ५४३ जनाले सुरुमा जाहेरी दिएका थिए। प्रहरी कार्यालयमा जाहेरी दिनुपहिले उनीहरूले सञ्चालक समितिसँग आफ्नो रकम फिर्ता माग गरेका थिए। सञ्चालक नेपालीसहितले केही समय रकम फिर्ता गर्ने भन्दै आलटाल गरे। तर भनेको भाकामा पनि रकम फिर्ता नगरेपछि बचतकर्ताहरू प्रहरी कार्यालयमा पुगेका हुन्। 

उनीहरूले यसरी नियमविपरीत बचतकर्ताको रकम लगेर कहाँ लगानी गरियो भन्ने पनि जाहेरीमा खुलाएका थिए। बचतकर्ताले आफ्नो रकम फिर्ता माग्न थालेपछि देवकुमारले त्यो रकम घरजग्गामा लगानी गरेको र केही समयपछि फिर्ता गर्ने बताएका थिए। 

सहकारीबाट कर्जा प्रवाह गर्दा पनि कुनै धितोबिनै दिने गरेको खुलेको छ। अध्यक्ष नेपालीको मौखिक आदेशमा ऋण दिने गरेको सहकारीकी लेखा प्रमुख लालमती रोकाले बयान दिएकी छन्। 

सहकारीमा अनुसन्धान सुरु भएपछि अध्यक्ष नेपालीले राति २ बजेतिर सहकारीमा पुगेर कार्यालयको दराज फोडेर ३ वटा फाइल ब्यागमा हालेर लगेका थिए। उनले पछि कर्मचारीलाई त्यसरी राति फाइल लगेको भिडिओ पनि डिलिट गर्न लगाएको खुलेको छ। 

यस्तै, उनले आफूविरुद्ध अनुसन्धान हुने भएपछि २०८० वैशाख ६ गते डोरबहादुर परियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। डोरबहादुर, कोषाध्यक्ष लक्ष्मी सेन सुनार र प्रवक्ता चित्रबहादुर भण्डारीले सहकारीको कार्यालयमै पुगेर तरलता अभावले रकम फिर्ता गर्न नसकेको र पछि फिर्ता दिने बताएका थिए। 

यस्तै देवकुमारले सहकारीको नाममा खरिद गरेको जग्गा पनि सहकारीका कर्मचारीको नाममा पास गराएको पाइएको छ। लेखाप्रमुख रोकाले सहकारीबाट ऋण लिएर तिर्न नसकेकी धना रोकाको जग्गा आफ्नो नाममा पास गरिदिएको बयान दिएकी छन्। उक्त जग्गा आफ्नो नभएको र त्यसमा दाबी पनि नरहेको उनले भनेकी छन्। 

कृत्रिम कर्जा खडा गरेर देवकुमारले रकम लिएको पनि पाइएको छ। 

कहाँकहाँ भयो हिनामिना?
सहकारीका व्यवस्थापक र सञ्चालकहरूबाट विभिन्न शीर्षकमा रकम हिनामिना भएको प्रहरीको निष्कर्ष छ। कृत्रिम व्यक्तिलाई सदस्यता प्रदान गरेर ८७ लाख ५० हजार रुपैयाँ दायित्व देखाएर बचत हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ। 

यस्तै राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋणको रकम चुक्ता गरिएको भनिएकोमा एक करोड ११ लाख २९ हजार २६५ रुपैयाँ ५६ पैसा दायित्व कम देखाएर हिनामिना गरेको भेटिएको छ। 

सदस्य तथा गैरसेयर सदस्यहरूबाट दाखिला भएको रकम पनि कृत्रिम बचत खाताहरूमा राखी ६५ करोड २७ लाख ७० हजार ६४२ रुपैयाँ नियमविपरीतको कार्यमा प्रयोग गरेर हिनामिना गरेको निष्कर्ष प्रहरीको छ। 

त्यस्तै, उनीहरूले राजस्व छली पनि गरेको प्रहरीको निष्कर्ष छ। कृत्रिम खाताहरूमा ब्याजबापत बढाइएको रकमको कट्टा गर्नु पर्ने ५ प्रतिशत रकम ६२ लाख ८१ हजार २२८ रुपैया र अन्य भुक्तानी दिनु पर्ने कर दायित्वका खाताहरूमा भएको रकम समेत गरी एक करोड ९२ लाख ७६ हजार ८२६ रुपैयाँ राजस्व छली गरेको पाइएको छ।

नाफा नोक्सान खाता पनि कृत्रिम खडा गरी संस्थाको नाफा घटाई ३ करोड ३९ लाख ५६ हजार ९४ रुपैयाँ हिनामिना गरेको, खातामा हुनु पर्ने ४ करोड ८१ लाख ५४ हजार ६९४ रुपैयाँ उपलब्ध नरहेको र उक्त रकम पनि हिनामिना गरेको अनुसन्धानको निष्कर्ष छ।

बैंक मौज्दातको रकममा ४ करोड ९९ लाख ८ हजार ९१३ रुपैयाँ, २०७० असोज २४ गतेदेखि २०७९ चैत २९ गतेसम्म तयार गरिएको कृत्रिम कर्जा एक अर्ब ३ करोड ८३ लाख ९६ हजार ६६८ रुपैयाँमध्ये ४८ करोड ५१ लाख ८९ हजार ८७८ रुपैयाँभन्दा बढी हिनामिना भएको बताइएको छ। 

संस्थालाई सम्पत्ति बेचेको भनी कृत्रिम बचत खातामा ३० करोड जम्मा गरी नभएको सम्पत्ति देखाई बचत रकम तथा सहकारीको सम्पत्ति हिनामिना गरेको पाइएको छ। 

पक्राउ परेका सहप्रतिवादीहरूले त्यो सबै रकम आफूले नभई देवकुमार नेपालीले नै हिनामिना गरेको बयान दिएका छन्। संलग्नता देखिएका विषयमा पनि देवकुमारकै निर्देशनमा काम गरेको बयान उनीहरूले दिएका छन्।

यी हुन् १३ प्रतिवादी 
इमेज बचत तथा ऋण सहिकारी संस्थाको ठगी मुद्दामा १३ जनालाई प्रतिवादी बनाइएको छ। यीमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन्। बाँकी ७ जना फरार छन्। 

फरारमध्ये अध्यक्ष देवकुमार र उनकी पत्नी छेला नेपालीविरुद्ध रेड नोटिस जारी भएको छ। अरु ५ जना पनि फरार छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

यो मुद्दामा सहकारीका संचालक समिति सदस्य चित्रबहादुर भण्डारी, लेखा प्रमुख लालमती रोका, प्रबन्धक शक्ति किसान, उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली र कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई प्रतिवादी बनाइएको छ। 

यस्तै सञ्चालक समिति सदस्य रुपा बिक, सदस्य झगबहादुर शाही, गलकोट शाखा प्रबन्धक अनिल नेपाली, बुर्तिबाङका लेखा प्रमुख अनिता बुढा र ओमप्रसाद दर्जीलाई पनि प्रतिवादी बनाइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .