ad ad

राजनीति


प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री

नेपालखबर
बैशाख ५, २०८१ बुधबार १०:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो। प्रधामन्त्रीसँगको भेटमा प्रदेशका विकासबारे छलफल गरेको मुख्यमन्त्री अधिकारीले बताएका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरुमा छलफल भयो र उहाँले सकारात्मक रुपमा लिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ प्रधानमन्त्रीसँगको भेटको तस्बिर सार्वजनिक गर्दै अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्। 

तर, गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

गण्डकी मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। 

एमाले नेता अधिकारी गएको चैत २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सभामुखकोसमेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएको भन्दै अधिकारीविरुद्ध चैत २७ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका छन्।

आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी रहेको उनी निकट स्रोतले जनाएको छ। 

सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त रिटमा १० वैशाखमा पेशी तोकिएको छ।

अधिकारी एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसद पुर्‍याएर मुख्यमन्त्री नियुक्त भएका हुन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ। सत्ता गठबन्धनमा आवद्ध नेकपा एमालेसँग २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदको समर्थनमा उनलाई छ। अर्कातर्फ नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .