राजनीति


कतारी राजासँग नेपालका ५ अपेक्षा, कति होला पूरा?

कतारी राजासँग नेपालका ५ अपेक्षा, कति होला पूरा?

नेपालखबर
बैशाख १०, २०८१ सोमबार २०:३०, काठमाडौँ

कात्तिक २०७५ राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको भ्रमण गरेकी थिइन्। त्यसबेला नेपाली प्रतिनिधिमण्डलले कतारलाई कृषि, पशुपालन, पूर्वाधार विकास, विमानस्थल निर्माण, स्वच्छ पानीको निर्यातलगायत क्षेत्रमा लगानी गर्न अनुरोध गरेको थियो।

त्यसैको जवाफी भ्रमणमा कतारी आमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउँदै छन्। भ्रमणमा हस्ताक्षर हुने सम्झौताका विवरण सार्वजनिक गरिएको छैन।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरू स्वीकृत गर्ने र समकक्षीलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारी राजा २ दिने राजकीय भ्रमणमा कार्यक्रम स्वीकृत गरेको बैठकले कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने निर्णय पनि गरेको छ।

नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय बैठकले गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

तर, नेपालको प्राथमकितामा कतारसँग खास अपेक्षा बेग्लै छन्।

१. विपिनको रिहाइमा सहजीकरण
गत असोज २० गते प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भयो। उनीहरू सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका विद्यार्थी थिए।

ज्यान जानेको त गइसक्यो। त्यसको पुड्ताल कुनै पनि हिसाबले हुन सक्दैन। तर, महेन्द्रनगरका विपिन जोशीको अझै अत्तोपत्तो छैन। उनलाई हमासले बन्धक बनाएर लगेको थियो।

उनको रिहाइका लागि नेपालको कूटनीतिक प्रयास सफल हुन सकेको छैन। इजरायल र हमाससँग कतारले वार्ता तथा युद्धबिरामका लागि मध्यस्थता गर्दै आएको छ। पर्सियन खाडीको एक सानो मुलुक कतार संसारका अरू पनि युद्ध र द्वन्द्वमा शान्ति प्रयासका लागि मध्यस्थता गर्ने कहलिएको मुलुक हो। उसकै प्रयासमा हमासले अरू देशका सयभन्दा बढी बन्धक रिहा गरिसकेको छ। तर, नेपालका विपिन जोशीका लागि प्रभावकारी प्रयास हुन नसकेको भनेर कूटनीतिक तहबाट आलोचनात्मक टिप्पणी भइरहेका छन्।

यसै कारण नेपाल सरकार पनि निकै दबाबमा छ। यो दबाब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तमा पुग्दा पनि महसुस गर्न सकिन्थ्यो। उनले दीक्षान्त समारोह सम्बोधनका क्रममै विपिनको रिहाइका लागि कतारी राजासमक्ष कुरा राख्ने बताएका थिए। सामान्यतः यस्ता सम्भावित कूटनीतिक प्रयासबारे बाहिर बोल्दै हिँड्नु परिपक्व व्यवहार ठानिँदैन। तर, कतारी राजा शेख तमिम बिन हमाद अल थानीको आसन्न नेपाल भ्रमणमा विपिनको रिहाइको कुरा राख्ने भनेर प्रधानमन्त्रीले नै दिएको यो अभिव्यक्ति उनले महसुस गरेको दबाबकै परिणाम मान्न सकिन्छ।

तसर्थ, नेपालका लागि कतारी राजासँगको पहिलो अपेक्षा विपिनको रिहाइ नै देखिन्छ।

२. श्रमिक मुद्दा
विदेशमा काम गर्ने नेपालीले पठाएको कमाइ विप्रेषण (रेमिट्यान्स)लाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग तुलना गर्दा झण्डै ३० प्रतिशत हुन्छ। वर्षमा १२ खर्ब रूपैयाँबराबर विप्रेषण विभिन्न मुलुकबाट भित्रिन्छ, जसको करिब ३० प्रतिशत कतारको छ। 

देशको अर्थतन्त्रकै प्रमुख खम्बा बनेको विप्रेषणको स्रोत हुँदाहुँदै पनि कतारमा नेपाली कामदारले न्यूनतम श्रम तथा मानव अधिकारका लागि संघर्ष गर्नुपरेको छ। उनीहरूको न सामाजिक सुरक्षा छ, न त न्यूनतम मानवीय स्वतन्त्रता नै। त्यहाँबाट पसिनाको कमाइ पठाउँदा पनि महँगो शुल्क तिर्नुपर्छ। त्यही कारण कतिपय श्रमिक ठगीको पासोमा पर्छन् भने हुन्डीबाट कारोबार हुँदा मुलुकले ठूलो राजस्व गुमाउँछ। अनौपचारिक (गैरकानुनी) अर्थतन्त्र मौलाउँछ।

वर्षमा २ लाखनजिक युवा श्रम स्वीकृति लिएर कतार पुग्ने गर्छन्। त्यहाँ अहिले करिब साढे ४ लाख नेपालीले काम गरिरहेका छन्। विगत ४० वर्षदेखि त्यहाँ नेपाली श्रमिक रहेको देखिन्छ। उनीहरूको मानव अधिकारका लागि कतारका राष्ट्रप्रमुखसमक्ष हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिकै तहबाट राख्न पाउनु एउटा अवसर हो। तर, अहिलेसम्म त्यस दिशामा कुनै प्रगति नभएको पाइन्छ।

श्रम तथा आप्रवासन मामिलाका जानकार डा. केशव बस्यालका अनुसार, नेपालले पठाएको नेपालले खासखास विषय तोकेर विशिष्टीकृत सम्झौता गर्न खोजेको छ। त्यसैअनुसार यहाँबाट मसौदा पनि पठाइएको हो। तर, कतारले त्योभन्दा निकै भिन्न प्रकृतिको मसौदा गरेर नेपाललाई दिएको छ, जुन हामीलाई स्वीकार्य हुन सक्दैन। 

त्यसैले कतारी राजाको यस भ्रमणका क्रममा नेपाली कामदारको हित र सुरक्षाका निम्ति धेरै आशा गर्ने ठाउँ देखिँदैन। 

३. पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी
सुखद संयोग नै मान्नुपर्छ कि कतारी राजा नेपालले गर्न लागेको लगानी सम्मेलनको सम्मुखमा नेपाल आउँदै छन्। वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदै छ। 

मंगलबार नेपाल आउन लागेका कतारी राजासमक्ष नेपालका सम्भावित लगानीका क्षेत्रबारे जानकारी दिने र निश्चित प्रतिबद्धताका लागि काम गर्ने अवसर पनि हो। कतार यस्तो मुलुक हो, जसको नेपालमा उति साह्रो सामरिक स्वार्थ छैन। उसको उपस्थितिले अन्य भूराजनीतिक स्वार्थ भएका शक्तिहरू चिढिने वा शंका गर्ने अवस्था न्यून छ।

त्यसकारण कतारबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सके नेपालका लागि बढी लाभदायक हुन सक्छ।

तर, हालसम्म कतारबाट उल्लेख्य लगानी भित्र्याउन सकिएको छैन। त्यसका लागि प्रयाप्त अग्रसरता पनि लिइएको छैन।

उद्योग विभागको तथ्यांकअनुसार कतारबाट निकै कम आयोजनामा मात्रै लगानीको प्रतिबद्धता आएको छ। कतारबाट हालसम्म १२ वटा आयोजनामा लगानी प्रतिबद्धता आएको छ, जसमध्ये चार आयोजनामा मात्र लगानी भित्रिएको देखिन्छ।

पर्यटनको एक, सूचना प्रविधितर्फ एक र सेवामूलक क्षेत्रतर्फ दुई आयोजनामा गरी जम्मा ४४ करोड ६० लाख रूपैयाँ बराबरको लगानी भित्रिएको देखिन्छ, जुन खासै गणनायोग्य होइन।

सरकारले लगानी सम्मेलनमा जलविद्युत्, पर्यटन, शिक्षा, खानील र पूर्वाधार आयोजनाहरू प्रदर्शनीमा राख्ने तयारी गरेको छ। ती क्षेत्रमा कतारलाई आकर्षित गर्न सकेमा देशको उत्पादनमूलक अर्थतन्त्रमा योगदान पुग्नेछ।

कतारबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सके अरू लगानीकर्ताका निम्ति पनि राम्रो सन्देश जान सक्छ। कतारसँगै मध्यपूर्वका अरू समृद्ध मुलुकबाट पनि लगानी भित्रिन सक्छ। 

४. अनुदान, क्षतिपूर्ति र सहुलियत कर्जा
कतार एक समृद्ध मुलुक त हुँदै हो, उसको समृद्धिमा नेपाली श्रमिकको पनि ठूलो योगदान छ। कतार विश्वकपसम्बन्धी पूर्वाधार निर्माणमा नेपाली श्रमिकले कुन मूल्यमा काम गरेका थिए भन्ने विश्व समुदाय जानकार छ। 

यस खालको योगदानवापत् पनि कतारसँग अनुदान, क्षतिपूर्ति वा अन्य प्रकारको सहयोग पाउने हक नेपालले राख्दछ। परिणाम भने नेपालको कूटनीतिक क्षमतामा भर पर्नेछ।  

यस्तै विभिन्न बहुपक्षीय मञ्चबाट पनि नेपालका पक्षमा सहयोग जुटाउन कतारको भूमिका महत्त्वपूर्ण हुने कूटनीतिज्ञहरू बताउँछन्। 

पूर्वाधारविद् सूर्यराज आचार्य कतारलगायत मध्यपूर्वका मुलुकहरूसँग ‘सोभरेन्ट वेल्थ फन्ड’मार्फत लगानी तथा अनुदान भित्र्याउन सकिने ठान्छन्। कतारको भौतिक पूर्वाधारमा नेपाली श्रमिकको महत्त्वपूर्ण योगदान रहेकोले यही पक्ष नै दुई देशबीच आर्थिक सहकार्यका आयाम विस्तार गर्न सहयोगी बन्न सक्ने उनको बुझाइ छ। 

५. प्रभावकारी सन्देशवाहक
नेपालका सरकार र राष्ट्रप्रमुखहरू विदेश भ्रमणमा गइरहन्छन्। नगए पनि हुने ठाउँमा पनि उनीहरू पुगिरहन्छन्। तर, समृद्ध र शक्तिशाली मुलुकका सरकार र राष्ट्रप्रमुखहरूले नेपाल रोज्न छाडेका छन्। यसले मुलुकको राष्ट्रिय व्यक्तित्व नै क्षयीकरणको संकेत दिन्छ।

कतारबाट पहिलोपल्ट राष्ट्रप्रमुखको तहबाट नेपाल भ्रमण हुँदै छ। उनको भ्रमणले अरू पनि देशका सरकार र राष्ट्रपमुखको नेपाल भ्रमणका लागि ढोका खुल्न सक्छ। कतारी राजाको नेपाल भ्रमणको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै यही हो कि उनले नेपालका बारेमा सकारात्मक सन्देश खाडी र विश्व समुदायमा लैजान सक्छन्। यहाँको सुरक्षा, सत्कार र सम्भावनाका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा उनले प्रवाह गरिदिने सन्देश नेपालको पर्यटन, लगानी र समग्र राष्ट्रिय छविकै मापक बन्न सक्छ। यस हिसाबले उनी एक प्रभावकारी सन्देशवाहक बन्न सक्छन्।

(यो सामग्री तयार गर्दा केही सूचना रासस र अन्य एजेन्सीबाट लिइएका छन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .