राजनीति


दुई वर्षमा दुईपटक फुट्यो जसपा, प्रभावशाली नेता लिएर ८ वर्षपछि राईले पनि छोडे

उपेन्द्र आकाशमै हुँदा फुट्यो पार्टी, कार्यवाहक दिइएका श्रेष्ठ पनि रहेनन् साथमा
दुई वर्षमा दुईपटक फुट्यो जसपा, प्रभावशाली नेता लिएर ८ वर्षपछि राईले पनि छोडे

सागर न्यौपाने
बैशाख २३, २०८१ आइतबार २१:३५, काठमाडौँ

२०७९ असार ३१ गते डा बाबुराम भट्टराईले केही नेता लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गरेका थिए। उनी जसपा नेपालका संघीय परिषद् अध्यक्ष थिए।

भट्टराईले साथमा महीन्द्र राय यादव, रमेश यादवलगायत केही प्रभावशाली नेतालाई लिएर गएका थिए।

त्यसको दुई वर्ष नपुग्दै जसपा फेरि विभाजनको सिकार भएको छ।

संघीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी गठन गर्दै निर्वाचन आयोगमा आइतबार दल दर्ताको निवेदन दिएका छन्। दुवैपटक जसपा विभाजनको नेतृत्व संघीय परिषद् अध्यक्षले गरे, असार ३१ मा भट्टराई र वैशाख २३ मा राईले।

प्रतिनिधि सभाका ७ सांसद र केन्द्रीय समितिका ३० नेतालाई लिएर राईले दल खोलेका छन्।

यद्यपि, दलले मान्यता पाउँछ कि पाउँदैन, सांसदहरूको हैसियत के हुन्छ भन्ने निर्क्योलमा पुग्न भने केही समय कुर्नुपर्नेछ।

आइतबार राईलाई अध्यक्ष बनाउँदै आयोगमा पेस गरिएको निवेदन अनुसार नयाँ दलको पहिलो बैठक बसिसकेको छ।

बैठकले पदाधिकारी पनि चयन गरेको छ।

जसअनुसार रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र सुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ। सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन्।

सांसदहरूमा अध्यक्ष राईका साथै नवलकिशोर साह, प्रदीप यादव, सुशीला श्रेष्ठ, डा. वीरेन्द महतो, हसिना खातुन र रञ्जुकुमारी झा छन्।

प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपालमा ७ सांसद बेग्लै खेमामा उभिएपछि कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव संसदीय दलमा अल्पमतमा परेका छन्।

नयाँ दल किन?

जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार मुख्य कारण सरकारको स्थायित्व हो।

‘यो ऐतिहासिक रूपमा बनेको सरकारको निरन्तरताको पक्षमा छौँ, राजनीतिक अस्थिरताको चर्चा परिचर्चा भइरहेका बेला, नेपालमा संघीयताप्रति नै भ्रम उत्पन्न भएको छ,’ श्रेष्ठले भने, ‘हामी यही गठबन्धनको पक्षमा छौँ।’

तर, जसपाको सदस्यता वितरणमा धाँधली भएको उनले आरोप लगाए।

जसपा महाधिवेशनको मुखैमा छ। यही बेला राईले पार्टी फुटाएका छन्।

नयाँ दलका अध्यक्ष बनेका अशोक राईले महाधिवेशनको विषयले पार्टी फुटाउने अवस्था आएको बताए।

‘पार्टी महाधिवशेनको सँघारमा छ। महाधिवेशन जसरी स्वच्छ, निष्पक्ष ढंगले अघि जानुपर्ने हो, त्यसको विश्वास हामीमा उत्पन्न हुन सकेन। अरू धेरै नेताहरूमा पनि त्यो अवस्था छ,’ उनले भने, ‘पार्टी महाधिवेशनजस्तो संवेदनशील संस्था आयोजना गर्दा सबैलाई समेटेर, छलफल गरेर जानुपर्ने थियो। तर हतारो मात्रै गर्ने र असंवैधानिक ढंगले विधानमा भएका व्यवस्थालाई कुल्चेर अघि बढ्ने कुचेष्टा भएपछि यसलाई सहनु उपयुक्त हुँदैन भनेर यो कदम लिइएको हो।’

उनले सरकार फेरबदलमा आफूहरू कारक नबन्ने पनि बताए।

‘उपेन्द्रजीको कार्यशैलीसँगको असहमति र भिन्नताले यो कदम आएको हो, हामी अस्थिरताका कारक बन्दैनौँ,’ राईले थपे।

एमालेमा लामो राजनीति गरेका राई उच्च तहमा पुग्ने नेतामध्येका एक हुन्। तर, पहिचानको मुद्दा छोडेको भन्दै असन्तुष्ट भएका उनले २०६९ मा एमाले छोडेर नयाँ दल खोलेका थिए।

२०७२ जेठ ३२ गते उपेन्द्र यादव नेतृत्वको मधेस केन्द्रित दल मधेसी जनअधिकार फोरम, नेपाल र अशोक राई नेतृत्वको जनजाति केन्द्रित दल संघीय समाजवादी पार्टीबीच एकीकरण भई ‘संघीय समाजवादी फोरम’ बन्यो।

त्यसबेला पार्टीको अध्यक्ष यादव र संसदीय दलको नेता अशोक राई चुनिएका थिए।

यसबीचमा फोरममा एकता र विभाजन चलिरहे पनि उपेन्द्र–अशोक सँगै थिए।

तर, ८ वर्षपछि यी दुवै नेता अलग भएका छन्।

यही अवधिमा उपेन्द्रलाई झन् कमजोर बनाउँदै राईले अधिकांश नेता लगेका छन्।

उपेन्द्रलाई लामो समय साथ दिएका रेणुकुमारी यादव र प्रदीप यादवले पनि साथ छोडेका छन्।

आकाशमा उपेन्द्र
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव वैशाख १५ गते मात्र अमेरिका प्रस्थान गरेका थिए।

वैशाख १८ देखि २१ (अप्रिल ३० देखि मे ३) सम्म संयुक्त राष्ट्र संघको सचिवालय, न्युयोर्कमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी अमेरिका गएका थिए।

उनी वैशाख २५ (मे ७) मंगलबारका दिन स्वदेश फर्किने कार्यक्रम थियो। अध्यक्ष यादवले आफ्नो अनुपस्थितिमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका थिए।

अमेरिकाबाट फर्किँदासम्म उनले कार्यवाहक जिम्मेवारी दिएका श्रेष्ठ नै पार्टीमा रहेनन्। बरू पार्टी विभाजनको एक सूत्रधार बनेर श्रेष्ठले अर्कै चुलो बाल्न थालिसकेका छन्।

जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव अमेरिकाबाट स्वदेशका लागि उडिसकेका थिए।

अर्थात्, यादव आकाशमै हुँदा यता पार्टी फुटिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .