जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरूको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन्।
मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरूको हतास मानसकिता भएकाहरूलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका हुन्।
‘षड्यन्त्र गर्नेहरू मात्रै नभई त्यो व्यवस्था नै सखाप भए, अहिले आएर जसपा नेपाल बिरुद्ध गरिएको षड्यन्त्र स्वरुप २÷४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो। मधेसको मुद्दा, संघियता संस्थागत लगायतका मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिलेदेखि नै षडयन्त्र हुँदै आईरहेको थियो, सोही षड्यन्त्र स्वरुप अतृप्त आत्माहरूलाई प्रयोग गरेर जसपा नेपाल माथी मात्रै नभई मधेसमाथि प्रहार गरिएको हो,’ उनले भने।
निर्दलीय व्यवस्थाविरुद्ध लडेका काँग्रेस कम्युनिष्टविरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको उनको जिकिर थियो।
‘यहाँबाट भागेकाहरू उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थ पूर्ती हुन्छ उतै लाग्छन् होला। जसरी शरीर स्वस्थ रहनका लागि विकार निकाल्नुपर्छ राम्रै विकार निक्लिएर गएको छ अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडी बढ्नेछ।’
उनले मधेसको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने पनि बताए।
Shares

प्रतिक्रिया