ad ad

राजनीति


ओलीलाई शेखरको जवाफ– कुनै दलको धम्कीले कांग्रेस डराउँदैन

ओलीलाई शेखरको जवाफ– कुनै दलको धम्कीले कांग्रेस डराउँदैन

नेपालखबर
जेठ ३, २०८१ बिहिबार ११:४०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन्। 

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनैपनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए। उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने पनि बताए। 

बुधबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए। सोही विषयलाई लिएर नेता कोईरालाले काँग्रेस कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन्। 

‘कुनैपनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली काँग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ उनले भने।

उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको बताउँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर काँग्रेसलाई चित्त नबुझे काँग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरु नमानेको आरोप पनि लगाए। 

‘अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ। भोलि के हुन्छ हामी भन्नसक्ने अवस्थामा छैनौँ। त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ। यहाँ केही कुरा क्लियरिफाइ गर्नुपर्नेछ, नेपाली काँग्रेसले,’ उनले भने, ‘साथीहरुले एउटा कुरा भन्नुभयो, तपाईंहरुले गृहमन्त्रीलाई बोल्न दिनुभएन। बोल्न दिन हुन्छ की हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा.रामशरण महतलाई दिइयो दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो की दिइएन त्यो आफ्नो ठाउँमा छ। तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ। हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस्।’

नेता कोइरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने पनि बताए। नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप उनले लगाए।

‘हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ। यो क्लियर हुुनुपर्छ। हामीले संसद अवरुद्ध गर्ने कारण यही हो। लोकतान्त्रिक अवस्थामा संसद अवरुद्ध गर्न हुन्छ की हुँदैन भन्ने प्रश्न पनि छ, ति आफ्ना ठाउँमा छन्,’ उनले भने, ‘हामीले केही भनेको छैन। रवि लामिछानेजीले राजीनामा गर्नुपर्छ भनेको पनि छैन। छानबिन समिति बनाउनुस् भनेका छौँ। गृहमन्त्रीको नाम विभिन्न सहकारीबाट पटकपटक आएको छ। उहाँले नै गृहमन्त्री भएको नाताले पुलिस प्रशासनको पनि चिफ हुनुहुन्छ, कसरी न्याय दिन सक्नुहन्छ? यो कुरामा सत्ता पक्षका साथीहरु, दलहरु स्वीकार्ने पक्षमा देखिनुभएको छैन। यो गम्भीर प्रकृतिको विषय भएर अघि बढेको छ। पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, काँग्रेसले सदनमा राखेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .