राजनीति


प्रधानमन्त्री परिवर्तन मिडियाले गरेको प्रचार मात्रै होः प्रचण्ड

प्रधानमन्त्री परिवर्तन मिडियाले गरेको प्रचार मात्रै होः प्रचण्ड

शैलेन्द्र महतो
फागुन ११, २०७६ आइतबार ११:९,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री गोकुल बाँस्कोटा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदको सार्वजनिक लेखा समितिले हेर्ने बताएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पनि यो प्रकरणको छानविन राज्यका निकायहरूले गर्ने भएकाले पार्टीले छुट्टै छानविन गर्नु नपर्ने बताएका थिए।

साथै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री परिवर्तनको हल्ला मिडियाले गरेको प्रचार मात्रै रहेको बताए।

आइतबार बिहान जनकपुरमा अध्यक्ष प्रचण्डले स्थानीय सञ्चारकर्मीसँग छलफल गरेका हुन्ः

निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा के हुँदै छ? अस्ति तपाईं आफैले नेतृत्व गरिरहेको कम्युनिष्ट पार्टीमा रोग लागिसकेको छ भनेर भन्नु भएको थियो।  
सञ्चारमन्त्री घटनाबारे सम्बन्धित निकायले जाँचबुझ गर्ने भनिसकेकै छ। अख्तियारले र अरु सम्बन्धित सबै निकायले। लेखा समितिमा पनि यस विषयमा कुराकानी चलिरहेकै छ। मैले अस्ति भक्तपुरमा एउटा कार्यक्रममा बोल्दा संसारभरिको कुरा बोलेको हो। हाम्रो पार्टीको कुरा मात्रै भनेको होइन। कम्युनिष्टहरु संघर्ष गर्दासम्म राम्रो तर सत्तामा पुगेपछि नराम्रो हुने रोग लागेको छ। हामीले त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गर्न खोजेको हुँ। हामीमा पनि त्यो रोग अलि अलि देखापर्न खोजिरहेको छ। त्यसैबेला सञ्चारमन्त्रीको कुरा पनि आयो। त्यसकारण पार्टीलाई सतर्क गराउन भनेको कुरा हो।

अहिले सरकार, प्रधानमन्त्री परिवर्तनको कुराहरु पनि चलिरहेको छ?
अहिले त्यो एजेण्डा पनि छैन। कसैले सोँचेको पनि छैन त्यस्तो। यो मिडियामा मानिसहरुले आफैले गरेको प्रचार मात्र हो।

यहाँले केहि पहिले प्रदेश २ सरकारमा हाम्रो स्वामित्व हुन्छ भन्नुभएको थियो। अहिलेसम्म केहि भएको छैन?
अब यो विषयमा यहाँका पार्टीहरुसँग कुरा चाहिँ चलिरहेको छ। मैले अहिले यतिमात्र भन्छु। राजपासंग पनि र फोरमसंग पनि।

त्यसो भए कहिले परिवर्तन हुन्छ?
त्यो अहिले नै मिति तोक्न सक्ने स्थिति चाँहि छैन।

प्रधानमन्त्रीले आफै भन्नुभएको थियो। अब प्रधानमन्त्रीमा बस्ने इच्छा चाहि छैन?
अब उहाँले कुन सन्दर्भमा भन्नुभयो त्यो मलाई थाहा छैन। तर उहाँले पटक पटक नै सँधैको लागि बस्ने होइन भनेर भनिराख्नु भएकै छ।

एमसीसीको विषयमा के हुँदैछ तपाईको पार्टी भित्र?
एमसीसी बारेको कुरा तपाईहरुलाई थाहा छँदैछ। हाम्रो पार्टीको बैठकमा यस विषयमा गम्भीर ढंगले छलफल पनि भयो। त्यसैअनुसार हामीले तीन सदस्य अध्ययन कार्यदल पनि बनायौं झलनाथजीको नेतृत्वमा। त्यस कार्यदलले अस्ति हामी दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइपनि सक्यो। र हिजो मात्र हामीले सचिवालयमा छलफल पनि गार्यौ। र अब संसोधन र परिमार्जनविना संसदमा अनुमोदन हुने स्थिति पनि छैन।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad