राजनीति


राजपा नेता भन्छन्ः प्रदेश २ मा सरकार परिवर्तनबारे प्रचण्डकाे दाबी गलत

राजपा नेता भन्छन्ः प्रदेश २ मा सरकार परिवर्तनबारे प्रचण्डकाे दाबी गलत

शैलेन्द्र महतो
फागुन १२, २०७६ सोमबार १०:१४,

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ काे सरकार परिवर्तनबारे छलफल भएको दाबी गरेको भोलिपल्टै राजपाका नेताहरुले त्यसको खण्डन गरेका छन्।

आइतबार १५ दिने मिथिला मध्यमा परिक्रमा उदघाटन गर्न धनुषा आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ सरकार परिवर्तन हुने संकेत गरे।

सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी दुवैसँग प्रदेश २ सरकारको नेतृत्व परिवर्तन विषयमा आन्तरिक कुरा चलिरहेको बताएका थिए।

‘यो विषयमा यहाँका पार्टीहरुसँग कुरा चाहिँ चलिरहेको छ, मैले अहिले यतिमात्र भन्छु। राजपासँग पनि फोरमसँग पनि,’ आइतबार प्रचण्डले सञ्चारकर्मीलाई भनेका थिए।

कहिलेसम्म सरकार परिवर्तन हुन्छ भन्ने विषयमा मिति नै तोक्न नसक्ने प्रतिक्रिया उनले दिएका थिए।

त्यसो त, प्रचण्डले भनेको प्रदेश २ सरकार परिवर्तनको कुरा नौलो भने होइन। यसअघि पनि उनले पटक पटक प्रदेश २ मा सरकार परिवर्तन हुने प्रतिक्रिया दिँदै आएका थिए।

तर राष्ट्रियसभाको चुनावमा दुईबुँदे सहमति गरेर नेकपासँग नजिकिएको राजपाले अहिले प्रदेश २ सरकार परिवर्तन गर्नेबारे कुनै छलफल नभएको जनाएको छ।

‘राजपामा विविध राष्ट्रिय विषयबारे छलफल भइरहेको छ। तर सरकारको विषयमा कुनै कुराकानी भएको छैन,’ राजपा नेपालका संयोजकमण्डलका सदस्य सरतसिंह भण्डारीले भने ‘नेकपासँगको दुईबुँदै सहमतिअनुसार गएको राष्ट्रियसभा चुनावमा एउटा बुँदा कार्यान्वयन भइसकेको छ। र अर्काे बुँदा दुवै दल समन्वय एवं सहकार्य गरेर अघि बढ्ने कुरा छ।’

राजपाको मुख्य सर्त संविधान संशोधन, रेशम चौधरीलगायत पार्टीका नेता कार्यकर्तामाथि लागेको राजनीतिक मुद्दा फिर्ता लगायत छ।

यी विषयमा सरकारले जस्तो धारणा बनाउँछ, त्यसअनुसार राजपा अगाडी बढ्ने नेताहरुले बताए।

प्रदेश २ का सत्ता–साझेदार समाजवादीका नेताहरुले पनि प्रदेश सरकार परिवर्तनको विमर्श नभएको दावी गरेका छन।

संघीय सरकारबाट अलग भएदेखि समाजवादीको नेकपासँग सम्बन्ध चिसिएको छ। प्रदेश सरकार परिवर्तन विषयमा पार्टीको नेतृत्वपंक्तिमा नेकपाका कुनै नेतासँग छलफल नभएको समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले बताए।

यता नेकपाको प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकार परिवर्तनको विषयमा आफुलाई केहि जानकारी नरहेको बताए।

‘प्रदेश सरकार परिवर्तनको कुरा राष्ट्रिय सभाको निर्वाचनको लागि नेकपा र राजपाबीच भएको गठबन्धनदेखि नै चलिरहेको छ। तर अहिलेसम्म औपचारिक रुपमा मलाई हाम्रो दल नेकपाको दुवै अध्यक्षबाट कुनै प्रकारको निर्देशन र जानकारी आएको छैन’ नेता मण्डलले भने ‘शीर्ष नेतृत्व तहमै आन्तरिक छलफल भएको हुनसक्छ। तर यस विषयमा अहिले मलाई चाहिँ केहि जानकारी छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad