राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकसाथ पाँचवटा प्रदेश बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गरिरहेको छ।
कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा ‘क्लोज क्याम्प’ भइरहेको हो।
पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव लिन रास्वपाको प्रदेश समितिले आयोजना गरेका ‘क्लोज क्याम्प’को आज दोस्रो दिन हो।
यसअघि रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरूलाई सहभागी गराई काठमाडौँमा दुई दिन ‘क्लोज क्याम्प’ आयोजना गरेको थियो।
कार्यवाहक प्रवक्ता झाका अनुसार सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी ‘क्लोज क्याम्प’मा ६ समूहमा विषयगत छलफल भइरहेका छन्।
जारी प्रदेशस्तरीय ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन्। उनीहरूलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गरेका छन्।
रास्वपाले सहजीकरणका लागि सुदूरपश्चिममा दीपक बोहोरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र बिनिता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरीलाई पठाएको छ।
प्रवक्ता झाका अनुसार बागमतीको ‘क्लोज क्याम्प’ हिजो सकियो भने कोसी प्रदेशको आज हुँदै छ। कोसीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिएका छन्।
कार्यवहाक प्रवक्ता झाका अनुसार ‘क्लोज क्याम्प’मा विचार, संगठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लबरलिडरसिप एकेडेमी गरी ६ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने छ। रास्वपा केन्द्रले विधान संशोधनको सुझावसमेत मागेकाले ‘क्लोज क्याम्प’मा त्यसबारे पनि छलफल भइरहेको छ।
‘क्लोज क्यामबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना बनाउँछौँ’, सहप्रवक्ता प्रतिभा रावलले भनिन्, ‘राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रूपमा पार्टी कामलाई उठाउन ‘क्लोज क्याम्प’ गरेका हौँ।’
Shares
प्रतिक्रिया