सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराईले रसियन कम्युनिष्ट पार्टीका वरिष्ठ नेता गेन्नाडी एन्ड्रीयभिच ज्यूगानोभसँग भेट गरेका छन्।
भेटमा नेता भट्टराईले नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो अवस्था र नेपालको बारेमा जानकारी गराए।
रसियन संसद दुमाको आयोजनामा १ जुलाई देखि मस्कोमा जारी ‘संसदीय अभ्यासको विकास सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय मञ्च’ मा भाग लिन मस्को पुगेका नेता भट्टराईले बुधबार नेता ज्यूगानोभसँग भेट गरेका हुन्।
भेटमा नेता भट्टराईले नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको र तिनै तहको निर्वाचनमा विजय हासिल गरेको जानकारी दिए। अब नेपाल राजनीतिक स्थायीत्वसँगै तिव्र आर्थिक विकासमा अघि बढेको उनले नेता ज्यूगानोभलाई जानकारी दिए।
नेता ज्युगानोभलाई उनले नेपाल भ्रमणको निम्तो पनि दिए।
प्रतिउत्तरमा नेता ज्यूगानोभले निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिष्ट पार्टीको सरकार बन्दा आफू उत्साहित भएको बताए। ज्युगानोभले नेपाल भ्रमणको इच्छा पनि व्यक्त गरे।
को हुन् ज्युगानोभ?
सन् १९४४ को २६ जुनमा जन्मेका गेन्नाडी एन्ड्रीयभिच ज्यूगानोभ रसियन कम्युनिष्ट राजनीतिज्ञ हुन्। उनी सन् १९९३ देखि ‘कम्युनिष्ट पार्टी अफ द रसियन फेडरेसन’का प्रभावशाली नेता थिए। सन् २००१ मा उनी कम्युनिष्ट पार्टी अफ सोभियत युनियनका अध्यक्ष भए।
उनी सन् १९९६ देखि काउन्सिल अफ यूरोपको संसदीय सभाका सदस्य थिए। ज्यूगानोभले रुसको राष्ट्रपति पदमा चार पटक प्रतिस्पर्धा गरे। सन् १९९६ को चुनावमा उनी जित नजिक पुगेका थिए, तर दोस्रो राउन्डमा बोरिस एल्तसिनसँग झिनो मतले पराजित भए। सन् २०११ को सेप्टेम्बरमा ज्यूगानोभ चौंथोपटक राष्ट्रपतिका लागि भिडेका थिए। तर, उनी दोस्रो भए।
योगेश किन पुगे मस्को?
रसियन संसद दुमाको आधिकारिक वेवसाइडका अनुसार यही जुलाई १ देखि तीनसम्म हुने ‘संसदीय अभ्यासको विकास सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय मञ्च’ मा विश्वभरीका १ सय ३२ मुलुकका ८ सय सांसदहरु सहभागी छन्। यसैगरी बिभिन्न देशबाट विषय विशेषज्ञहरु पनि कार्यक्रममा भाग लिन पुगेका छन्। यसैगरी फोरममा रसियन र अन्तर्राष्ट्रि«य सञ्चार माध्यमका ४ सय भन्दा बढी सञ्चारकर्मीहरु पनि सहभागी छन्।
यस कार्यक्रममा अन्तर्राष्ट्रिय सुरक्षा र स्थिरता, डिजिटल अर्थव्यवस्थाको विकास, युवा र पर्यावरणीय नीतिहरु मा सामरिक विषयहरू समावेश छन्। फोरमको ढाँचाभित्र रूस र अफ्रिका संसदीय सम्मेलन हुनेछ।
फोरमलाई बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिने सम्बोधन गर्ने कार्यक्रम छ। यही फोरममा भाग लिन सांसद भट्टराई मस्को पुगेका हुन्।
कार्यक्रममा आईपीयू राष्ट्रपति गब्रिएला क्वेव बारनन, एशियाई संसदीय सभाका अध्यक्ष, टर्कीका ग्रान्ड नेशनल विधानसभाका अध्यक्ष मित्तामी शान्टोपका अध्यक्ष लगायत सहभागी छन्।

प्रतिक्रिया