मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपचुनाव नेकपा एमालेका लागि सुखद रहेन। उपचुनाव भएका ४१ तहमध्येबाट एमालेले पाएको मत तेस्रो स्थानमा देखिन्छ।
झन् उपत्यकामा उपचुनाव भएका कीर्तिपुर नगरपालिका प्रमुख, वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका १६ नम्बर वडामा त एमाले निकै कमजोर देखियो। जबकि, ०७९ मा वडा नम्बर १६ का ४ सदस्य एमालेले जितेको थियो।
जित्ने निश्चित भनेर ढुक्क रहेको एमालेले नगरपालिका प्रमुखमा तेस्रो स्थानमा खुम्चियो। कीर्तिपुर प्रमुखमा त उसलाई नेकपा माओवादीले समेत उछिन्यो।
कीर्तिपुर र काठमाडौँ १६ मा एमालेले ३१ महिनाअघि पाएको मत समेत पाएन।
उपचुनावको लागि एमालेले उम्मेदवार चयनमा निकै सावधानी अपनाएको दाबी गरेको थियो। सर्वसम्मत उम्मेदवार उठाएकोले सिंगो पार्टी खट्ने विश्वासमा नेताहरू थिए। त्यसमाथि सरकारको नेतृत्व गरेको फाइदा लिन सकिने उनीहरूको बुझाइ थियो।
काठमाडौँबासी मतदातालाई आफूतिर आकर्षित गर्न उपचुनावको पूर्वसन्ध्यामा काठमाडौँमा बृहत् जागरण सभा समेत एमालेले गरेको थियो।
तैपनि, किन उपचुनावमा एमालेको मत घट्यो त? आन्तरिक विश्लेषणमा लागेका नेताहरूले चुनावी रिपोर्ट र परिणाम केलाउने काम गरिरहेका छन्।
महासचिव शंकर पोखरेल सहरका मतदाताको मनोविज्ञान बुझ्न नसकेको बताउँछन्।
‘विशेषगरी राजधानी काठमाडौँमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पूरा हुन सकेन,’ पोखरेलले भने, ‘अझै पनि सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिँदैन।’
१६ नम्बर वडामा कांग्रेस र एमालेलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन्।
‘पछिल्लो समय सामाजिक सञ्जालमा एमाले र नेतृत्वविरुद्धको कु–प्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ,’ पोखरेलले थपे।
रामवीर भित्र्याएर पनि चलेन जोर
एमालेले आफ्नो सांगठनिक मतकै कारण चुनाव जित्दै आएको छ। त्यसबाहेक चुनावी रणनीतिमा पनि एमाले बलियो मानिन्छ।
एमालेले उपचुनावको पूर्वसन्ध्यामा १६ नम्बर वडाका प्रभावशाली नेता रामवीर मानन्धरलाई कात्तिक २८ गते पार्टीमा भित्र्यायो।
२०४९ र २०५४ मा सोही वडाअध्यक्ष जितेका उनी २०७० को संविधान सभा र २०७४ को आम निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ७ जितेर सांसद बनेका थिए। २०७९ को निर्वाचनमा काठमाडौँ महानगरको मेयर बन्न चाहेका मानन्धरलाई एमालेले टिकट दिएन र केशव स्थापितलाई उठायो।
पार्टीको निर्णयले असन्तुष्ट मानन्धरले एमाले छोडेको घोषणा गरे। लगत्तै मंसिरमा भएको संघीय निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र चुनाव लडे तर, पराजित भए।
तैपनि, उनको प्रभाव सो वडामा रहेको एमाले विश्लेषण थियो। पार्टीमा ल्याउन नेताहरूले मेहनत गरे। उनी आउन तयार भए। मानन्धरको प्रवेशपछि एमाले झन् ढुक्क देखिन्थ्यो।
तर, उनको पनि जोर चलेन। बरु, एमालेले साढे २ वर्षअघि पाएको मत समेत घटेको छ।
१६ नम्बर वडाका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले चुनावी रणनीतिमै त्रुटि भएको हुनसक्ने बताए। उपचुनावमा उनले २२२० मत मात्र पाएका छन्। वडाध्यक्ष निर्वाचित श्रेष्ठले २९०२ मत पाएकी छन्।
‘चुनावमा कहीँ न कहीँ कमजोरी भयो,’ तुलाधरले नेपालखबरसँग भने, ‘०६९ मा मैले पाएको मत समेत धेरै घटेको छ। हामीसँग रहेको मत जोगाउन सकिएन।’
मतदातामा एमालेप्रति आशा जगाउन नसकेर यसपटकको मत रास्वपालाई गएको उनी दाबी गर्छन्।
‘हामीबीचमै समन्वय नभएको हो कि, केही कमजोरी गर्यौँ कि, केही सम्बोधन गर्न नपुगेको हो कि,’ तुलाधरले थपे, ‘हामीले कांग्रेस देख्यौँ, कांग्रेसले हामीलाई मात्र देख्यो। तर, रणनीति अरुले बनाए।’
काठमाडौँको चुनावी कमान्डर बनेर विभिन्न स्थानीय तहमा खटिएका एमालेका पोलिट्ब्युरो सदस्य आनन्द पोखरेल १६ नम्बर वडाको नतिजालाई सहरिया भीडले प्रभावित पारेको बताउँछन्।
निर्वाचन जित्नैपर्ने भनेर उम्मेदवारी छनौटमा धेरै होसियारी अपनाए पनि परिणाम नआउनुमा केही कारणले काम गरेको उनले बताए।
‘१६ नम्बरमा एमाले हराउनैपर्छ भनेर कांग्रेसको केही भोट, माओवादी र समाजवादीको भोट पनि रास्वपालाई हाल्ने काम गरे,’ पोखरेलले भने, ‘क्राउड बिहेबिअर एमालेप्रति नकारात्मक देखियो।’
कट्टर विचार राख्ने केही अराजक तत्वले पार्टीलाई बदनाम देखाउन प्रयास गरेको र मतदाताले त्यही कुरा विश्वास गरेको पोखरेलको भनाइ छ।
‘१६ नम्बरमा पार्टी फुटको असर फेरि पनि देखियो,’ उनले भने, ‘छिट्टै उत्साहित हुने र तत्काल निराश भइहाल्ने मतदातालाई अन्तिमअन्तिममा रास्वपाले लय पक्रिएर समेट्न सफल भयो। अनि हामी हार्यौँ।’
कीर्तिपुर नगरपालिका प्रमुखमा एमालेबाट डा. सुरेन्द्र मानन्धर उठेका थिए। एमाले काठमाडौँ इन्चार्ज समेत रहेका पोखरेलले बागीकै कारण हार भएको ठोकुवा गरे।
‘कीर्तिपुरमा हामीले पहिला पनि जितेको ठाउँ होइन, यसपटक एमालेमै लामो समय काम गरेका राजमान महर्जन स्वतन्त्र उम्मेदवार बनिदिँदा हार भयो, राजमानले मात्र २ हजार बढी मत काटेका छन्,’ पोखरेलले समीक्षा गर्दै भने, ‘निर्वाचन प्रचारप्रसारमा हामीलाई नकारात्मक देखाउन अपुष्ट काण्ड उचाल्ने काम भयो।’
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको विवाद र प्रधानमन्त्रीको फेसबुकमा फलोअर्स घटाउने अभियान देखाएर मतदाता प्रभावित पारेको उनको बुझाइ छ।
‘जनताले मत माग्दा भनेनन् तर हाम्रा गतिविधि नियालेर हेरेका छन् भन्ने कुरा मतदानमा व्यक्त भयो,’ पोखरेल भन्छन्।
०७९ को चुनावमा कीर्तिपुर नगरपालिकामा एमालेबाट केशरत्न बज्राचार्य उम्मेदवार बनेका थिए। उनले ५५०७ मत ल्याएका थिए।
यसपटक मानन्धरले ४३३७ मत मात्र पाए।
‘चुनावमा सबै नेता/कार्यकर्ता एकढिक्का र एकताबद्ध भएर प्रचारमा खटिएका थियौँ,’ पोखरेलले दाबी गरे।
Shares

प्रतिक्रिया