राजनीति


बीआरआई सम्झौता स्वागतयोग्य, तर कार्यान्वयन हुन नसक्ने : कमल थापा

बीआरआई सम्झौता स्वागतयोग्य, तर कार्यान्वयन हुन नसक्ने : कमल थापा

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १५:२८, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन हुन नसक्ने बताएका छन्।

बीआरआई सम्झौता स्वागतयोग्य भएपनि यो सम्झौता कार्यान्वयनमा आशंका गरेका हुन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको ४ दिने औपचारिक भ्रमण सकाएर विभिन्न सम्झौता गरेर फर्कँदै गर्दा पूर्वपरराष्ट्रमन्त्री थापाले प्रधानमन्त्रीले चीनसँगको सम्झौता कार्यान्वयन नहुने दावी गरेका हुन्।

बिहीबार गृहनगर हेटौँडामा आफ्नो पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ माथि वार्ता कार्यक्रममा सहभागी थापाले बीआरआईबाट मुलुकले लाभ लिनुपर्ने भए पनि कार्यान्वयन नै हुन नसक्ने जीकिर गरे। चीनसँगको बीआरआई सम्झौताबाट मुलुकले लाभ लिनुपर्ने उनको भनाइ थियो।

बीआरआई सम्झौताको विषय चिन्ता लिनुपर्ने विषय नभएको जीकिर गर्दै अध्यक्ष थापाले भने, ‘बीआरआई सम्झौता स्वागत योग्य छ। तर यो कार्यान्वयन हुन्न। लगानीको मोडलका विषयमा कांग्रेस एमालेबीच नै मतभेद छ। अनेक अर्थ लाग्ने अस्पष्ट छ। चीन र नेपालबीच नै मतभेद छ।’

थापाले प्रधानमन्त्रीको आग्रहमा प्रधानमन्त्रीको इज्जतका लागि चीन सम्झौता मात्रै भएको उनको भनाइ छ। सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्नेमा पनि थापाले जोड दिए।

‘छिमेकी मुलुक भारतसँग पनि युग सुहाउँदो नयाँ सन्धि जरुरी छ। १९५० को सन्दर्भ र आजको समय उही छैन’, थापाले भने,  ‘भारतसँगको सम्बन्ध र निर्भरताको विकल्प र मार्ग खोजी गर्नु जरूरी छ।’

राजनीतिका हिसाबले भारतले नेपाललाई बेलायती दृष्टिकोण प्रेरित जवाहरलाल नेहरूको दृष्टिकोणबाटै हेर्ने जीकिर गर्दै थापाले भने, ‘लामो समय नेपाल अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा र परराष्ट्र नीति भारतबाटै निर्देशित थियो। मोदी पनि नेहरूकै पालाको दृष्टिकोणबाट नेपाललाई हेरिरहेका छन।’

गृहनगरमा कमल थापाको कृतिमाथिको विमर्शलाई साहित्यकार निमेष निखिलले सहजीकरण गरेका थिए। ३ पटक परराष्ट्रमन्त्री बनेका थापाले आफ्नो कृति आत्मकथा नभई सत्यमा आधारित वास्तविक विवरण भएको बताए।

संविधानसभाबाट संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दी र त्यसकै सेरोफेरोमा नेपालको भूराजनीतिको तथ्यपरक विवरण प्रस्तुत भएको थापाको भनाइ छ। कुटनीति र परराष्ट्रका विद्यार्थीका लागि महत्वपूर्ण दस्तावेजको रुपमा आफ्नो पुस्तक उपयोगी र पठनीय हुने थापाको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad