राजनीति


मुकुललाई फर्काउने कोसिसले रास्वपामा हंगामा, अधिकांश नेता विरोधमा

मुकुललाई फर्काउने कोसिसले रास्वपामा हंगामा, अधिकांश नेता विरोधमा

सागर न्यौपाने
पुस १९, २०८१ शुक्रबार १८:१८, काठमाडौँ

एक त संस्थापक महामन्त्री, त्यसमाथि सभापतिको खास विश्वासपात्र। तर, उनैसँग दूरी बढेपछि पार्टीबाट निकालिँदा कति छटपटी हुन्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा. मुकुल ढकाललाई थाहा छ।

उनी जसो गरेर हुन्छ, रास्वपामा फर्किने कोसिसमा छन्। तर, उनको यस्तो प्रयासले सो पार्टीमा भने हलचल पैदा गरेको छ।

पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै भदौ ११ गते उनलाई पार्टीबाट निकालियो।

केहीसमय त उनले सभापति रवि लामिछाने क्लबबाट निकालिएको भन्दै भण्डाफोर गरे। रविले गरेको बदमासीको प्रमाण आफूसँग रहेको दाबी पनि गर्दै हिँडे।

तर, पार्टीबाट निष्कासन भएको केही महिनापछि नै उनले सोही पार्टीमा फर्किन जोर लगाउन थाले। त्यसका लागि उनले केही केन्द्रीय सदस्यसँग भेटघाट गरे। 

उनलाई कारबाही गर्ने निर्णयमा सबै केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए।

तर, चार महिनापछि त्यसमा गरिएको हस्ताक्षर फिर्ता लिएको भन्दै केही नेताले केन्द्रीय कार्यालयमा पठाएको पत्र ढकालले नै सार्वजनिक गरे।

सो पत्र उनले पुस १७ गते ह्वाट्सएप ग्रूपमा पनि राखे। आफूलाई पार्टीमै फकाउनपर्ने आवाज उठेको भन्दै ढकालले  त्यसलाई प्रचार पनि गराए। 

सोही पत्रलाई कोसी सभापति राजेश तिम्सेनाले रास्वपा पदाधिकारीसहित केन्द्रीय सदस्य रहेको भाइबर ग्रूपमा राखे। सो ग्रूपमा ६३ जना सदस्य छन्। रास्वपा सभापति रवि लामिछाने कास्की हिरासतमा रहेकाले उनको नम्बर ग्रूपमा अहिले देखिँदैन।

ढकालले आफूसँग रुष्ट रहेका सभापति रविसँग निकट हुने कोसिस पनि गरे। कात्तिक २ गते रविलाई प्रहरीले पक्राउ गरेर पोखरा लग्यो। मुकुलले संवादहीनता तोड्ने मौका यसैलाई ठाने र भेट्नका लागि पहल सुरु गरे। पटकपटक रवि निकटसँग टेलिफोन संवाद गरे। तर, रविसँग भेट्न पाएनन्।   

रविकी श्रीमती निकिता पौडेलसँग समेत भेटेर सम्बन्ध सुधार्ने प्रयास पनि गरे। तर, असफल भएपछि रविकै वरिपरिका नेताले वातावरण बिगारेको ढकालले आरोप लगाएका छन्। 

रविसँग भेटेर सम्बन्ध सुधार्ने पहिलो योजना सफल नभएपछि ढकालले दोस्रो विकल्प खोजो– आफ्ना पक्षमा रहेका केही नेतालाई भनेर केन्द्रीय समितिमा पत्राचार गर्ने। उनलाई कोसी प्रदेश सभापतिले साथ दिए। झापा जिल्ला पनि ढकाललाई पार्टीमै फर्काउनुपर्छ भन्ने पक्षमा उभिइसकेको थियो। 

एक नेताले नेपालखबरलाई बताएअनुसार केही नेताहरू मुकुललाई पार्टीमा फर्काउन पर्छ भन्दै लबिइङ गरिरहेका छन्।

जब, मुकुललाई पार्टीमा फर्काउन संकेत गरिएको पत्र रास्वपाको भाइबर ग्रूपमा आयो, त्यसले हंगामा मच्चायो। केन्द्रीय सदस्यहरूले प्रतिक्रिया जनाउन थाले। 

तर, दुई तिहाइभन्दा बढीले ढकाललाई पार्टीमा फर्काउन नहुने धारणा राखेको उनले बताए। 

‘मुकुलजीप्रति यति ठूलो आक्रोश व्यक्त भएको छ कि उनकै कारण पार्टीले धक्का व्यहारेको भन्दै सबैजसो नेता विरुद्धमा उत्रनुभएको छ,’ ती नेताले भने। 

अहिले रवि र मुकुलबीच संवाद गराएर फेरि पार्टीमै ल्याउन खोजेको अनुमान गर्दै नेताहरूले चरम असन्तुष्टि जनाएको अर्का केन्द्रीय सदस्यले बताए।

‘उहाँलाई ल्याउने कुरा सम्भव छैन, आउन दिनु हुँदैन भनेर साथीहरू लाग्नुभएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समिति ल्याउन तयार छैन।’

रास्वपामा कुनै नेताको जिम्मेवारी खोसिए, निलम्बन भए वा निष्कासन परे केन्द्रीय समितिले मात्र पुनर्वहाली गर्नसक्छ।

रास्वपाको शनिबार (पुस २० र २१ गते) केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ। केन्द्रीय समिति बैठकका लागि तयार पारिएको एजेन्डामा यो विषय राखिएको छैन। तर, कार्यवाहक उपसभापति डोलप्रसाद अर्यालसँग केही चरण मुकुलको कुराकानी भएकोले केन्द्रीय सदस्यहरू सशंकित छन्।

सो पत्र कार्यवाहक सभापतिलाई पनि दिइएको छ।  

‘कुनै हालतमा ल्याउनु हुँदैन भन्ने मत शत प्रतिशत छ, केन्द्रीय समिति बैठकमा पनि अधिकांशले नो भन्नुहुन्छ,’ अर्का केन्द्रीय सदस्यले भने, ‘उहाँले लगाएका आरोपहरू के हुन्छ भन्ने मुख्य प्रश्न हो। ल्याउने हो भने त ती आरोपहरू स्वीकारेर वैधानिकता दिनुपर्‍यो। त्यसले गर्दा ल्याउने कुरै छैन।’

केन्द्रीय सदस्य गणेश कार्कीले पनि पार्टीमा फर्कन मुकुलले जोडबल गरेको साँचो रहेको बताए।

‘साथीहरूले फिर्ता गराउनुपर्छ भनेर पत्र लेख्नुभयो, तर फर्काउने भनेर पार्टीभित्रै छलफल भएको छैन,’ उनले भने। 

रास्वपाको शनिबार र आइतबार बस्ने केन्द्रीय समिति बैठकमा ७४ जना सहभागी हुनेछन्। 

केन्द्रीय समितिमै पत्र आएपछि नेताहरूले त्यसबारे क्रिया/प्रतिक्रिया जनाएको कार्की बताउँछन्। 

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा दर्ता गराएको पत्रको कुनै वैधता नहुने बताए।

‘पार्टी आफ्नो निर्णयबाट पछि हट्दैन,’ उनले भने, ‘मुकुलजीको पक्षमा लेखिएको पत्रले कुनै वैधता पाउँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad