पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटमा आज निर्णय नआउने भएको छ।
फैसलाका लागि प्रक्रियागत रूपमा अंग नपुगेको देखिएपछि आज इजलासले थप आदेश गर्ने भएको निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले नेपालखबरसँग बताए।
५ वर्षअघि दायर रिटमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा आज सुनुवाइ हुँदा अहिलेसम्म अंग नपुगेको देखिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास घोटाला प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा नचलाएपछि वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले २०७६ माघ २९ मा यो रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले यसअघि २०७८ असोज १८ मा पूर्ण सुनुवाइ गरी निर्णय सुनाउने दिन नै तोकिसकेको थियो।
तत्कालीन प्रधानन्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र नहकुल सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने दिन तोकेको थियो।
तर, त्यहीबीचमा राणाविरुद्ध महाभियोग लागेकाले त्यसपछि लामो समयसम्म सुनुवाइ नै हुन सकेको थिएन। अदालतले नै लामो समयको दूरीमा पेसी दिँदै मुद्दा पर धकेल्दै आएको थियो।
यहीबीचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसै प्रकरणमा किर्ते मुद्दा चलाउँदा पनि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई उन्मुक्ति दिइएपछि उक्त मुद्दामा पनि उनीहरूलाई विपक्षी बनाउनुपर्ने माग गरी थप रिट दायर भएका थिए। सर्वोच्चले अब काठमाडौँ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको मिसिल पनि झिकाएर हेर्न सक्नेछ।
बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा घोटाला गरिएको अख्तियारको अनुसन्धानको निष्कर्ष थियो।
यस प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते सरकारी कर्मचारी तथा पदाधिकारी ६०, जग्गाधनी तथा मोही भनिएका व्यक्तिहरू ३२, कमिसनका रूपमा सरकारी जग्गा लिनेहरू १८ जना र जफत गर्ने प्रयोजनका लागि ६५ गरी जम्मा १ सय ७५ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
यस घोटालामा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई दोषी देखिए पनि मन्त्रिपरिषद्का निर्णयलाई लिएर मुद्दा चलाउने अधिकार आफूसँग नरहेको भन्दै अख्तियार पन्छिएको थियो। अख्तियारले उनीहरूको बयान भने लिएको थियो। उक्त बयान अख्तियारमा सुरक्षित छ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र एमाले नेता विष्णु पौडेलका छोरा नवीनले आफ्ना नाममा भएको जग्गा फिर्ता गर्ने भनेपछि उनीहरूलाई पनि अख्तियारले मुद्दाबाट उन्मुक्ति दिएको थियो।
त्यसबेला नवीनकुमार घिमिरे प्रमुख आयुक्त थिए।
यस प्रकरणमा विशेष अदालतले पनि राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी फैसला गरिसकेको छ।

मन्त्रिपरिषद् निर्णयकै कारण उक्त घोटाला भएको भनिए पनि अख्तियारले बाबुराम र माधवका हकमा मुद्दा चलाउन सकिने भनी गरिएको निर्णयमा लेखिएको थियो, ‘ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा सम्बन्धमा नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय र अन्तर्गतका कार्यालयहरूबाट विभिन्न मितिमा भएका गैह्रकानुनी कार्यहरूलाई समेत वैधानिकता दिलाउने तथा सरकारी, सार्वजनिक जग्गामा अनधिकृत व्यक्तिको हक, स्वामित्व स्थापित गराउने गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव पेस भएअनुरूप नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०६६/१२/२९, मिति २०६७/०१/३१, मिति २०६७/०४/२८ र मिति २०६९/०६/१८ मा भएका निर्णयहरूका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको निर्णय नं.६२०५ मिति २०५३।०६।०८ गतेको विशेष इजलासको फैसला तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४ को खण्ड (ख) समेतको आधारमा मन्त्रिपरिषद्बाट सामूहिकरूपमा गरेका नीतिगत निर्णयहरू आयोगको अनुसन्धानको क्षेत्राधिकारभित्र पर्ने नदेखिएको हुँदा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान भए तापनि निजहरूको हकमा केही गरिरहनुपरेन। तर मन्त्रिपरिषद्बाट हुने निर्णयहरूका सम्बन्धमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र आकर्षित हुन सक्ने गरी कानुनी व्यवस्थाको पहल हुन तथा ललिता निवास क्याम्पभित्रको जग्गासम्बन्धी प्रस्तुत विषयमा समीक्षा, विश्लेषण, मूल्यांकन वा जो जे गर्नुपर्छ गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुझाव लेखी पठाउने।’
सम्बन्धित खबर:
- पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई अख्तियारले उन्मुक्ति दिएको प्रकरण फेरि ब्युँतियो
- माधव नेपालबारे प्रचण्ड : उहाँले सफाइ पाइसक्नु भयो, अब कसैले तर्साउन सक्दैन
- सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको?
- ललिता निवास प्रकरण : अनुसन्धान फाइल बुझाउँदै सीआईबी, माधव र बाबुरामलाई प्रतिवादी नबनाइने
- माधव नेपालसँग बयान लिन कोटेश्वरस्थित घरमै पुगेको थियो सीआईबी
- ललिता निवास प्रकरणमा मैले सीआईबीलाई बयान दिएँ : बाबुराम भट्टराई
- ललिता निवास प्रकरण : सीआईबीलाई घरमै बोलाएर दिए डा. भट्टराईले बयान
Shares

प्रतिक्रिया