राजनीति


हल्लाको शिखरबाट झरेर ‘गुमनाम’ रवि, महाशिवरात्रिको दिन पनि गएनन् पशुपति र रंगशाला

निकट नेता भन्छन्– दैनिक १० कप कालो चिया पिउँछन्, लेखपढ र शक्तिसञ्चय गरिरहेका छन्
हल्लाको शिखरबाट झरेर ‘गुमनाम’ रवि, महाशिवरात्रिको दिन पनि गएनन् पशुपति र रंगशाला

सागर न्यौपाने
फागुन १५, २०८१ बिहिबार १८:५, काठमाडौँ

महाशिवरात्रिको दिन रवि लामिछानेलाई पशुपतिनाथको दर्शन गर्न जान मन लागेको थियो। त्यसमाथि उनकी श्रीमती निकिता पौडेल मन्दिर गइरहने मान्छे।

केही दिनअघि श्रीमतीसहित कुम्भेश्वरमा रहेको बंगलामुखी मन्दिर दर्शन गर्न पुगेका उनी गत मंगलबार कमलादीको गणेशस्थान मन्दिर पनि पुगेका थिए। 

तर, शिवरात्रिका दिन पशुपतिमा ठूलो भीड हुनाले उनी रोकिए। पत्नी पौडेल मात्रै गइन्।

बुधबारै साँझ दशरथ रंगशालामा नेपाल र म्यानमारबीच भएको फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियन्ससिप फाइनल हेर्न जाने कुरा पनि चलेको थियो। तर, अन्ततः उनले खेल घरमै हेर्ने निधो गरे।

मिडियाबाट हल्लाखल्ला मच्चाउँदै राजनीतिमा छिरेर पार्टी खोलेको छोटो समयमै गृह र उपप्रधानमन्त्री बनेका लामिछानेको सक्रिय राजनीतिक जीवनमा चार महिनायता ब्रेक लागेको छ। सहकारी ठगीको आरोपमा ८३ दिन कास्की पोखराको हिरासत बसेर छुटेका उनको दैनिकी अहिले घरभित्रै बितिरहेको छ। बेलाबेला अदालतमा हाजिर हुन जाँदाबाहेक उनी राजनीतिक परिदृश्यबाट गुमनाम छन्

काठमाडौँको हात्तीगौँडास्थित सीजी हिल्सभित्र रहेको घरमै उनी अधिकांश समय लेखपढ गरेर गुजारिरहेका परिवारका सदस्यहरू बताउँछन्।

रविमाथि सहकारीमा सर्वसाधारणको रकम ठगी गरी टेलिभिजनमा खर्च गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दायर भएको छ। कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछाने कास्की, काठमाडौँ, चितवन र रूपन्देही जिल्ला अदालतमा गरी जम्मा २ करोड ७९ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका हुन्। पर्सामा उनीविरुद्ध मुद्दा दर्ता हुन बाँकी नै छ।  

पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिइसकेको र सांसद पद पनि निलम्बनमा रहेको हुनाले राजनीतिक रुपमा उनी अहिले फुर्सदमा छन्। उनीनिकट नेताहरू ‘लामिछानेले अहिले आफ्नोबारे समीक्षा, सुधार र शक्तिसञ्चय गरेर यो फुर्सदको सदुपयोग गरिरहेको’ बताउँछन्।

कमलादीस्थित गणेशमन्दिर दर्शनमा रवि लामिछाने र निकिता पौडेल

के पढ्दै छन्?
उनी घरमा अधिकांश समय पढेर बसिरहेको रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बताउँछन्। 

रविले पछिल्ला दिनमा सुधीर शर्माको ‘प्रयोगशाला’ र हरिबहादुर थापाको ‘रजगज’ पुस्तक पढिसकेका छन्। त्यसो त कास्की प्रहरीको हिरासतमा हुँदा समेत उनले एक दर्जन किताब पढिभ्याएका थिए। 

‘उहाँ सामान्य र सरल तरिकाले बसिरहनुभएको छ,’ उपनेता विराजभक्त श्रेष्ठले नेपालखबरसँग भने।

उनले अन्य केही राजनीतिक दलको विधान पनि पढेका छन्। त्यसबाहेक, उनले संसदमा प्रस्तुत भएका विधेयक अध्ययन गरेका छन्। सरकारले संसदमा ल्याएका प्रहरी र आमसञ्चार विधेयक अध्ययन गरेर आफ्ना सांसदलाई त्यसका बारेमा संसद्‌मा बलियो रूपमा प्रस्तुत हुन सुझाव दिएको उपनेता श्रेष्ठ बताउँछन्। 

‘समय खेर फाल्नुहुन्न भन्ने उहाँको मान्यता छ, त्यही भएर राति पनि अबेरसम्म पढेरै बस्नुहुन्छ। किताब चाङका चाङ छन्,’ उपनेता श्रेष्ठले भने, ‘सरकारले ल्याएको अध्यादेशदेखि विधेयकसम्ममा हामीलाई संसदमा दरिलो रूपमा प्रस्तुत हुन परामर्श दिनुहुन्छ।’

त्यसका अलावा उनी मोबाइलमै युट्युबमार्फत देशविदेशका समाचार हेर्छन्। टीभी प्रायः हेर्दैनन्।

पछिल्ला दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालिरहेको कदमप्रति लामिछानेको चासो निकै छ। उनी अन्तर्राष्ट्रिय समाचारलाई प्राथमिकता दिएर हेर्छन्।

‘अहिलेको घटनाक्रम, अमेरिकाको राजनीतिले नेपालमा पर्ने प्रभावबारे निकै चासो दिनुभएको छ,’ उनी निकट अर्का नेताले भने, ‘फिल्ममा खासै रुचि छैन तर सस्पेन्स थ्रिलर र आइडिया क्रिएट गर्ने खालका सिरिज हेर्नुहुन्छ।’

कार्यकर्ता भेट्दैनन्, नेता भेट्छन्
रिहा भएयता उनी पार्टी गतिविधिमा सहभागी भएका छैनन्, पार्टी कार्यालय समेत गएका छैनन्।

सार्वजनिक कार्यक्रममा जान नपाएकोले लामिछानेले कार्यकर्ता पनि भेटेका छैनन्। तर, पार्टीका नेताहरूसँग भने घरमै भेट गर्छन्। 

‘घरमा कार्यकर्तासँग कहिले पनि भेटघाट हुँदैन, उहाँको चलन नै छैन,’ निकट नेताले भने। 

निकटहरूका अनुसार लामिछाने मर्निङ वाकसमेत जाँदैनन्। 

‘सामान्य व्ययामभन्दा अरू गर्नुहुन्न, खानपानमै ध्यान दिनुहुन्छ,’ ती नेता भन्छन्। 

उनलाई चिनी नहालेको कालो चिया मनपर्छ। बिहान उठेदेखि खाना खानुअघिसम्म झण्डै आधा दर्जन कप चिया पिउँछन्। खानालगत्तै फेरि चिया पिउँछन्।

‘उहाँलाई कफीभन्दा ब्ल्याक टी मनपर्छ। दिनमा १०/१२ कप जति पिउनुहुन्छ होला,’ ती निकट नेताले भने, ‘बिहानको खाना भने सधैँजसो मध्याह्न १२ बजेपछि मात्र खानुहुन्छ।’ 

आफूमाथि परेको मुद्दाका विषयमा लामिछानेले कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन्। उनको कानुन व्यवसायी टोलीको नेतृत्व पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तले गरिरहेका छन्। 

लेख्दै छन् दस्ताबेज
लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते रास्वपा गठन भएको थियो। लगत्तैको प्रतिनिधि सभा चुनावमा २० सिट जित्दै सो पार्टी मुलुकको चौथो ठूलो दल बनेर उदायो। तर, उनीमाथिका एकपछिको अर्को मुद्दाका कारण रास्वपा सो दलका नेताकार्यकर्ताले सोचेअनुरूप विस्तार हुन सकेन। अहिले पार्टी स्थापनायताको घटनाक्रम, उपलब्धि, कमजोरीबारे राम्ररी घोत्लिने मौका लामिछानेले पाएका छन्।

‘पार्टीको नयाँ दस्ताबेज लेख्न थाल्नुभएको छ,’ लामिछानेका सञ्चार सल्लाहकार प्रमोद न्यौपानेले भने, ‘त्यसमा पार्टीको भावी नीति, योजना र कार्यक्रम समेटिन्छन्। त्यसकै लागि पनि उहाँले अन्य पार्टीका विधान अध्ययन गर्नुभएको हो।’

ललितपुरको बंगलामुखी मन्दिरमा रवि लामिछाने पत्नीका साथ

त्यसबाहेक, आफ्नै अवधारणा रहेको ‘लिडरसिप एकेडेमी’ को कार्ययोजना पनि बनाइरहेका छन्। रास्वपाबाट जनप्रतिनिधि बन्न आकांक्षा राख्नेलाई प्रशिक्षित गर्ने संरचना हो एकेडेमी। यहाँबाट उत्तीर्ण भएपछि मात्रै उम्मेदवार बन्न पाइने निर्णय रास्वपाको राष्ट्रिय भेलाले गरिसकेको छ।

यसैगरी रास्वपाले लामिछानेमााथि राज्यले प्रतिशोध लिएको भन्दै जनसभाको तयारी गरिरहेको छ।

सञ्चार सल्लाहकारका न्यौपाने भन्छन्, ‘कास्कीमा मुद्दा दर्ता भएसँगै उहाँले नै कार्यवाहक सभापति तोकेर जिम्मेवारी हस्तान्तरण गर्नु भएको र सांसद पद पनि निलम्बनमा परेका कारण देखिने खालको राजनीतिक सक्रियता नहुने नै भयो। तर, सभापतिज्यू पार्टीको समग्र सिंहावलोकनसहित भावी रणनीति बनाउँदै हुनुहुन्छ। यो उहाँको समीक्षा, सुधार र शक्ति सञ्चयको समय हो। जसको उहाँले अधिकतम सदुपयोग गर्नुभएको छ।’

सामाजिक सञ्जाल हेर्छन्, पोस्ट गर्दैनन्
लामिछाने सामाजिक सञ्जाल फेसबुक, एक्समा चर्चित छन्। पक्राउ पर्नुअघिसम्म उनका सबै गतिविधि सामाजिक सञ्जालमा पोस्ट हुन्थे। तर, प्रहरी हिरासतमा परेयता चार महिनादेखि उनको सामाजिक सञ्जालमा कुनै गतिविधि देखिँदैन।

यद्यपि, समाचार हेर्ने, सामाजिक गतिविधिबारे जानकारी लिने काम भने गरिरहेका छन्। 

‘सामाजिक सञ्जाल चलाउनुहुन्छ तर गतिविधि राख्नुहुन्न,’ उनी निकट नेताले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad