राजनीति


बालेन भन्छन्: प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशचैँ नडुबाउनु होला

बालेन भन्छन्: प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशचैँ नडुबाउनु होला

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार २१:३, काठमाडौँ

काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई हराउन लागिपरेको आरोप लगाएका छन्। 

उनले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफूलाई हराउने धुनमा देशलाई नडुबाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्। 

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेको मन्छे! मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला!’

प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनेर मेयर बालेनले गत पुस २४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर अनुरोध गरेका भए पनि सरकारले अहिलेसम्म पठाएको छैन। 

यसअघि उनले काठमाडौँ टावरमा गैरकानुनी काम गरेको भन्दै गत पुस ५ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेका थिए।

काठमाडौँ टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको आरोप महानगरले लगाएको थियो।

गुरागाईंले गडबडी गरेको सूचना पाएपछि महानगर प्रमुख शाहले आन्तरिक रूपमा छानबिन गर्न लगाएका थिए। त्यसबाट गल्ती गरेको प्रमाण भेटिएपछि महानगरले तथ्यसहितको प्रतिवेदन तथा कारबाहीको सिफारिस संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो। 

त्यसयता काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने त्यतिबेला प्रमुख प्रशासकीय अधिकृत हटाउने महानगरको शैली नै बेठिक रहेको भनेको थियो र प्रमुख प्रशासकीय अधिकृत पठाउन प्रधानमन्त्रीको निर्देशन चाहिने बताएको थियो। 

यो कुरा कतिपय सांसदले संसद्‌मा समेत उठाएका छन् तर प्रधानमन्त्रीले सुनुवाइ गरिरहेका छैनन्। 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौँ महानगरपालिकाका सरसफाइ कर्मचारीले समेत तलब पाउन सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad