राजनीति


कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिने

कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिने

नेपालखबर
चैत १८, २०८१ सोमबार ६:३२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे आज (सोमबार) संसद्‌मा जवाफ दिँदै छन्।

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले आइतबार सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कुलमानबारे प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभा बैठकमा जवाफ दिने जानकारी गराएका हुन्।

कार्यकाल ४ महिना बाँकी छँदै हटाइएका कुलमानका विषयमा प्रधानमन्त्रीले संसद्‌मै जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले लगातार सदन अवरुद्ध गरिरहेका छन्। 

आज पनि बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। 

सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी रुष्ट छ। राम्रो काम गरिरहेका उनलाई पूरा कार्यकाल रहन दिनुपर्ने माग विपक्षीको छ। 

कुलमानले पनि आफ्नो पुर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा हालेका छन्। 

अदालतले उनको रिट निवेदन सुनुवाइ गर्ने मंगलबारका लागि पेसी तोकेको छ।

यसअघि आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलास तोकिए पनि हेर्न नमिल्ने जानकारी गराइएको थियो।

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएको कारण कुलमानको रिट ‘हेर्न नमिल्ने’मा परेको हो।

शाक्यको रिट पनि सोही इजलासमा परेको थियो। त्यसैले उक्त रिटमा पनि मंगलबार नै सुनुवाइ हुनेछ। शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गरिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad