सरकारमै रहेको दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको आलोचना गरेका छन्।
बुधबार कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ को सम्मेलनलाई सम्बोधन गर्दै सांसदसमेत रहेका थापाले खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
‘हामीले सरकारलाई सहयोग गरिरहेका छौँ, तर हामीले असन्तुष्टि व्यक्त गरिरहेका छौँ। किनभने बिँड तातेर मात्रै हुँदाेरैनछ, ताप्के ताप्नुपर्छ। ताप्के भनेको सरकार नेतृत्व गर्ने प्रधानमन्त्री हो। म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु, झकझक्याइरहेको छु। मद्दत पुर्याइरहेको छु, तर परिणाम दिने कुरामा जिम्मेवारबोध सरकार प्रमुखसँग हुनुपर्छ’, उनले भने, ‘अहिले शिक्षक साथीहरू सडकमा हुनुहुन्छ। सरकारले ठीक समयमा ठीक ढंगले काम गरेको भए शिक्षक साथीहरू अहिले सडकमा आउने अवस्थै बन्दैनथ्यो। अहिले पनि केही बिग्रिएको छैन। शिक्षकहरूको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा पठाउनुपर्नेछ।’
यस क्रममा महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरू डुलेको र घुमेको टिप्पणी पनि गरे।
‘अहिलेको सरकारको गति पुगेको छैन। हामी भन्छौँ- तिमी युद्धको मनोविज्ञानले १८ घण्टा काम गर, २० घण्टा काम गर। कहीँ उद्घाटन र भाषण गर्न नजाऊ, प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु’, महामन्त्री थापाले भने, ‘मैले उहाँहरूलाई अनुरोध गरिरहेको छु- तपाईंहरू डुल्ने र घुम्ने गर्न छाडिदिनुस्, काम गर्नुस्, तपाईंहरूले गरेको कामको प्रचार हामी देशभरि गर्छौं।’
Shares

प्रतिक्रिया