राजनीति


हामी सरकारमा जानुपर्ने हुनसक्छ: वर्षमान

हामी सरकारमा जानुपर्ने हुनसक्छ: वर्षमान

फाइल तस्बिर: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ८:५६, सिन्धुपाल्चोक

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार परिवर्तनको संकेत गरेका छन्।

उनले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भइसकेको दाबी गर्दै माओवादी केन्द्र सरकारमा जानुपर्ने परिस्थित आउन सक्ने बताएका हुन्। 

सिन्धुपाल्चोकको चौतारामा बिहीबार बेलुका वाईसीएल नेपालको पाचौँ जिल्ला सम्मेलनमा उनले भने, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरुले बनाएको पुष्टि भइसकेको छ। बिचौलियाहरू अहिले राष्ट्र बैंक कब्जा गर्न अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो। हामीले ८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ। त्यतिबेला ८४ पर्खेर बस्नु हुँदैन, सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’

संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र घरेलु समस्याजस्ता सबै विषयमा सरकार असफल भएको आरोप उनले लगाए। 

ओली सरकारकै कारण व्यवस्थामा प्रश्न उठाउँदै प्रतिगमनकारीहरू सतहमा आएको जिकिर उनले गरे।

माओवादी केन्द्रका प्रभावशाली नेता पूर्वअर्थमन्त्री पुनले केपी ओली प्रवृत्ति कायम रहुन्जेल कम्युनिस्ट ध्रुवीकरण सम्भव नरहेको बताए। तर एमालेभित्र राम्रा कम्युनिस्ट नेताहरू रहेकाे र अन्य कम्युनिस्ट घटकसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ। 

अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादीले अघि सारेको सामन्तवादविरुद्धको विचारले जितेको र देश त्यही बाटोमा हिँडेको दाबी उनले गरे।

उनले भने, ‘२०८४ मा माओवादी देशभर एक्लै चुनाव लड्छौँ र जित्दै छौँ। कांग्रेस-एमालेसँग मिल्दा कमजोर भएका थियौँ, अब त्यो गल्ती हुँदैन। कार्यनीतिक रूपले सहकार्य होला तर रणनीतिक रूपले हामी छुट्टै धारसहितको दल हौँ। वर्गप्रति इमान्दार, धारमा प्रस्ट हुँदै जानेछौँ।’

उनले वाईसीएललाई आफ्नो जुझारुपन कायम राख्न निर्देशन पनि दिए।

‘प्रचण्डको नेतृत्वको वरिपरि गोलबन्द हुँदै समाजवादी क्रान्तीका लागि तयार हुने हो। अहिलेको जागरण प्रचण्डको नेतृत्वमा आएको हो, आज फेरि देशलाई समाजवादतिर लैजान पनि प्रचण्डको वरिपरि गोलबन्द हुनु पर्दछ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad